जर्मनीको फ्रान्कफर्ट सहर (प्राचीन नाम : निडा) मुनि एउटा अत्यन्तै महत्त्वपूर्ण र रहस्यमय रोमन धार्मिक स्थान फेला परेको छ । यो खोजले प्राचीन रोमनकालीन जर्मनीमा प्रचलित धार्मिक विधि र मानिसको बलिसम्बन्धी डरलाग्दा परम्पराहरूका बारेमा नयाँ तथ्य बाहिर ल्याउन सक्ने वैज्ञानिकको विश्वास छ ।
जर्मन रिसर्च फाउन्डेसन र स्विस नेशनल साइन्स फाउन्डेसनले यसको विस्तृत अध्ययनका लागि हालै १० लाख युरोभन्दा बढीको कोष स्वीकृत गरेका छन् ।
यो पुरातात्विक स्थल सन् २०१६ देखि २०२२ को बीचमा फ्रान्कफर्टको ‘रोमर स्टाडस्कुल’ नामक विद्यालय भवन निर्माणका क्रममा फेला परेको थियो । ४ हजार ५ सय वर्ग मिटरभन्दा बढी क्षेत्रमा फैलिएको यो ठाउँ रोमन कालदेखि नै सुरक्षित अवस्थामा रहेको पाइएको छ ।
उत्खननका क्रममा एउटा इनारभित्र मानव कङ्काल फेला परेको छ । यसका साथै त्यहाँ देवी डायनाको कास्य मूर्ति र सेप्टेम्बर ९, २४६ ईस्वी संवत् लेखिएको एउटा शिलालेख पनि भेटिएको छ । इनारभित्र कङ्काल र धार्मिक वस्तुहरू सँगै भेटिनुले त्यहाँ ‘मानव बलि’ दिइएको हुनसक्ने सम्भावना देखाएको छ, जुन यस क्षेत्रका लागि निकै दुर्लभ घटना हो ।
यस परिसरमा ११ वटा ढुङ्गे भवन र ७० वटा भन्दा बढी गहिरा खाडल भेटिएका छन् । यहाँ जुपिटर, मरकरी, डायना र एपोलो जस्ता धेरै देवी–देवताको पूजा गरिने सङ्केत मिलेको छ ।
खाडलहरूमा माछा, चरा र अन्य जनावरका हड्डी तथा बोटबिरुवाका अवशेष ठूलो मात्रामा फेला परेका छन् । यसले त्यहाँ देवतालाई बलि चढाएपछि सामूहिक रूपमा ‘धार्मिक भोज’ खाने गरिएको पुष्टि गर्दछ ।
भित्तामा गरिएका रङ्गीन चित्रका टुक्रा र झ्याल–ढोकामा प्रयोग गरिएका धातुका सामग्रीले यो निकै भव्य र सजिएको मन्दिर रहेको देखाउँछन् ।
फ्रान्कफर्टको ‘निडा’ सहर सन् ७० को दशकमा सैन्य आधार इलाकाको रूपमा स्थापना भएको थियो र ईस्वी संवत् २८० तिर यो सहर खाली गरिएको थियो । युनिभर्सिटी अफ बासेल र गोएथे युनिभर्सिटीका विज्ञहरूले अब आगामी तीन वर्षसम्म यसको सूक्ष्म अध्ययन गर्ने छन् ।
फ्रान्कफर्टकी सांस्कृतिक आयुक्त डा. इना हार्टविगका अनुसार, यो खोज युरोपभरिकै लागि एउटा अतुलनीय पुरातात्विक उपलब्धि हो । यसले रोमन साम्राज्यको उत्तर–पश्चिमी प्रान्तहरूमा धर्म र शक्तिको सन्तुलन कसरी कायम हुन्थ्यो भन्ने कुरा प्रष्ट पार्ने छ ।
प्रतिक्रिया 4