+
+
Shares

ढोरपाटनमा दोस्रो सिकार याम : १४ नाउर र १० झारलको सिकार चल्दै

वर्षको पहिलो सिकार याम असोज-मंसिर र दोस्रो फागुन-वैशाख गरी दुई चरणमा सिकार हुँदै आएको छ । विदेशी सिकारीसहितको समूहले १५ दिन भित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ ।

खेमराज गौतम खेमराज गौतम
२०८२ चैत २३ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ढोरपाटन सिकार आरक्षमा फागुन–वैशाख दोस्रो सिकार याममा विदेशी सिकारीले नाउर, झारल र बँदेलको सिकार गरिरहेका छन्।
  • यस वर्ष १४ नाउर, १० झारल र १३ बँदेलको सिकार अनुमति दिइएको छ र विदेशी सिकारीले प्रतिस्पर्धाका आधारमा अनुमति पाएका छन्।
  • सिकार आरक्षको सुरक्षा नेपाली सेनाले २०७३ सालदेखि गर्दै आएको छ र सिकारीले करिब ३० देखि ३५ लाख खर्च गर्ने गरेका छन्।

२३ चैत, बागलुङ । बागलुङको ढोरपाटनमा अहिले दोस्रो सिकार याम चलिरहेको छ । यो याममा विदेशी पर्यटक सिकार खेल्न व्यस्त छन् ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा विदेशीहरू उच्च पहाडी क्षेत्रको सिकार ब्लकमा छन् । यस वर्ष १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए ।

दोस्रो यामका रूपमा रहेको फागुन–वैशाखमा सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी सिकारी नेपाल आउने तरखरमा छन् ।

रेन्जर सुवेदीका अनुसार यस वर्षको दोस्रो याममा १३ बँदेलको सिकार गर्नसमेत अनुमति दिइएको थियो । ढोरपाटन आरक्षले विभिन्न सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा सिकार गर्न दिएको थियो ।

अहिले ग्लोबल सफारी प्रालिमार्फत आएका अमेरिकी नागरिकले एक नाउर र एक झारल सिकार गरेर फर्किएको र हिमालयन सफारी नेपालमार्फत आएका अमेरकी र डेनिस नागरिक सिकारमा व्यस्त रहेको सुवेदीले जानकारी दिए ।

विदेशी सिकारीले नाउर र झारलको सिकारका लागि प्रतिस्पर्धाका आधारमा राजस्व बुझाएर अनुमति पाएका थिए । दोस्रो यामको सिकार चलिरहेकाले आरक्षका कर्मचारी र नेपाली सेना सिकार ब्लकमा सिकारीसँगै व्यस्त भएको रेन्जर सुवेदी बताए ।

दोस्रो याममा हिमालयन वाइल्ड लाइफ आउट फिटरमार्फत डेनिस नागरिकले एक नाउर, एक झारल र एक बनेल सिकार खेल्न फागुने ब्लकमा अनुमति पाएका छन् ।

यस्तै ओपन नेपाल वाइल्ड लाइफ सफारी एन्ड ट्रेक प्रालिमार्फत अमेरिका, बेल्जियम र फ्रेन्च नागरिकले सुनदह र सेङ ब्लकमा तीन नाउर, दुई झारल र एक बनेल सिकारको अनुमति पाएका छन् ।

यसैगरी, नेपाल ट्राभल एक्पिडिसन प्रालिमार्फत घुस्तुङ ब्लकमा तीन नाउर, तीन झारल र तीन बनेल सिकार खेल्न रसियन, अफ्रिकन र फ्रेन्च नागरिक सिकार खेल्ने तयारीमा नेपाल आइरहेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकार याम असोज–मंसिर र दोस्रो सिकार याम फागुन–वैशाख गरी दुई चरणमा सिकार हुँदै आएको छ । विदेशी सिकारीसहितको समूहले १५ दिन भित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ ।

जङ्गलमै बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै सिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बन्दै आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक याममा विद्युतीय बोलपत्र आह्वान गरी सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ ।

यस्तै, ग्लोबल सफारिज प्रालिमार्फत सुनदह र दोगाडी ब्लकमा अमेरिकी तथा डेनिस नागरिकले चार नाउर, २ झारल र ४ बनेलको सिकार गर्न अनुमति पाएका छन् ।

हिमालयन सफारिज नेपाल प्रालिमार्फत अमेरिकी नागरिकले दुई नाउर, एक झारल र दुई बँदेल सिकारको अनुमति पाएकोमा एक नाउर र एक झारलको सिकार भइसकेको छ । ट्रेक एन्ड देलर्स प्रालिमार्फत स्पेनिस नागरिकले एक झारल, एक नाउर र एक बनेलको अनुमति पाएको सुवेदीको भनाइ छ ।

चालु वर्षको पहिलो सिकार याममा तीन करोड तीन लाख राजस्व संकलन भएकोमा दोस्रो यामको सिकारी आउने क्रम जारी रहेकाले राजस्व संकलनको काम भइरहेको छ ।

सिकारीहरू बन्दोबस्तीका सामग्रीसहित गत फागुन दोस्रो साताबाट नेपाल आउन थालेका थिए । विदेशी सिकारी हेलिकप्टरमार्फत सोझै सिकार ब्लकमा पुग्ने गरेका छन् ।

२०४४ सालमा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ ।

सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिने गरेका छन् । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्छ ।

नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब ३० देखि ३५ लाखसम्म खर्च गर्ने गरेका छन् ।

विदेशी तथा धनाढ्यको रोजाइमा मात्रै पर्दै आएको सिकार खेल्ने अवसर नेपालीले पाएका छैनन् । सिकार आरक्षको सुरक्षा २०७३ सालदेखि नेपाली सेनाले गर्दै आएको छ ।

ढोरपाटनमा सिकारपछि नाउरसँग तस्वीर खिचाउँदै विदेशी । तस्वीर : ढोरपाटन सिकार आरक्ष

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?