+
+
Shares

गर्मीको समयमा मोटरसाइकलको टायरमा कति हावा राख्नु उपयुक्त ?

जब टायरमा धेरै हावा हुन्छ, त्यसको सम्पर्क सतह सानो हुन्छ र ग्रिप घट्न थाल्छ । यही कारणले गर्मीमा गलत पीसीआई भएको मोटरसाइकल मोडमा बढी चिप्लिन सक्छ ।

मुक्ति खड्का मुक्ति खड्का
२०८३ वैशाख २ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्मीमा मोटरसाइकलको टायरभित्रको हावाको चाप तापक्रमसँगै बढ्ने हुँदा टायर प्रेसर नियमित जाँच गर्नु सुरक्षा र राम्रो परफर्मेन्सका लागि अनिवार्य हुन्छ।
  • अत्यधिक हावा भरिँदा टायर कडा भएर सडकसँगको सम्पर्क सतह कम हुन्छ र मोटरसाइकलको सन्तुलन बिग्रिएर दुर्घटना जोखिम बढ्न सक्छ।

गर्मीको मौसमले तपाईंलाई मात्र होइन, तपाईंको मोटरसाइकललाई पनि प्रत्यक्ष असर गरिरहेको हुन्छ । विशेषगरी टायरभित्रको हावाको चाप तापक्रमसँगै बदलिने भएकाले यसलाई बेवास्ता गर्दा सामान्य यात्रा पनि जोखिमपूर्ण बन्न सक्छ ।

धेरैजसो दुर्घटनाको एउटा सानो तर महत्वपूर्ण कारण टायर प्रेसर गतल हुने पनि हो । धेरै हावा भरियो भने रोड ग्रिप कमजोर हुन्छ, कम हावा भयो भने टायर छिट्टै घिसिन्छ र माइलेज घट्छ ।

त्यसैले, गर्मीमा मोटरसाइकल चलाउनुअघि टायरको पीसीआई जाँच गर्नु सुरक्षा र राम्रो परफर्मेन्सका लागि अनिवार्य जस्तै हो ।

गर्मीमा किन बदलिन्छ टायरको प्रेसर ?

गर्मी बढ्दै जाँदा टायरभित्र बन्द अवस्थामा रहेको हावा बढ्न थाल्छ । विज्ञानको सामान्य नियमअनुसार तापक्रम बढेपछि ग्यास फैलिन्छ, जसका कारण टायरभित्रको प्रेसर स्वतः बढ्न सक्छ ।

बिहान चिसो अवस्थामा सामान्य देखिएको टायर दिउँसोको घाममा धेरै कडा महसुस हुनुको मुख्य कारण यही हो ।यदि यो परिवर्तनलाई समयमै ध्यान दिइएन भने टायरमा आवश्यकभन्दा बढी चाप पर्न सक्छ ।

लामो दूरीको यात्रा, तातो कालोपत्रे सडक र उच्च गतिमा मोटरसाइकल चलाउँदा यो दबाब झन बढ्छ ।

यस्तो अवस्थामा टायरको सतह बीच भागबाट मात्र सडकमा छुने भएकाले ग्रिप घट्छ । परिणामस्वरूप ब्रेकिङ दूरी बढ्न सक्छ, मोटरसाइकल असन्तुलित हुन सक्छ र मोडमा चिप्लिने जोखिम पनि बढ्छ ।

त्यसैले, गर्मीमा मोटरसाइकल लामो समय नचलेको बेला र बिहानैको समयमा टायर प्रेसरको जाँच गर्नु उचित मानिन्छ । यदि लामो यात्राको योजना छ भने त त्यो झन अत्यावश्यक हुन्छ । यसले वास्तविक पीसीआई थाहा दिन्छ र सुरक्षित यात्रामा मद्दत गर्छ ।

कति पीसीआई हावा उपयुक्त हुन्छ ?

सामान्यतया मोटरसाइकलको अगाडिको टायरमा २५ देखि ३० पीसीआई र पछाडिको टायरमा ३० देखि ३५ पीसीआई हावा उपयुक्त मानिन्छ । तर यो सबै मोटरसाइकलमा एउटै लागू हुँदैन । मोटरसाइकलको मोडेल, इन्जिन क्षमता, टायरको साइज, यात्रु संख्या र कम्पनीको सिफारिसअनुसार सही मात्रा फरक हुन सक्छ ।

धेरैजसो कम्पनीले सही टायर प्रेसर मोटरसाइकलको चेन कभर, स्विङआर्म, फ्युल ट्याङ्कको स्टिकर वा युजर म्यानुअलमा उल्लेख गरेको हुन्छ । त्यसैले, अनुमानका भरमा हावा भर्नुभन्दा कम्पनीले दिएको मापदण्ड हेर्नु बुद्धिमानी हुन्छ ।

एक्लै यात्रा गर्दा भने पीसीआई सामान्य स्तरमा राख्न सकिन्छ । तर पछाडि अर्को यात्रु वा सामान धेरै छ भने रियर टायरमा केही पीसीआई बढाउनुपर्ने हुन सक्छ ।

गर्मीमा भने ‘अलिकति बढी हावा सुरक्षित हुन्छ’ भन्ने सोच गलत हुन सक्छ, किनकि सडकको तापले प्रेसर आफैं बढाउँछ । सही पीसीआई राख्दा टायरको आयु बढ्छ, माइलेज राम्रो आउँछ, ब्रेकिङ स्थिर हुन्छ र मोटरसाइकलको समग्र नियन्त्रण सहज हुन्छ ।

धेरै हावा भरिँदा किन बढ्छ दुर्घटनाको जोखिम ?

गर्मीमा आवश्यकभन्दा बढी हावा भरिएको टायर पहिलो नजरमा ठीक देखिए पनि यसले ठूलो जोखिम बोकेको हुन्छ । अत्यधिक पीसीआई हुँदा टायर निकै कडा हुन्छ र सडकसँगको सम्पर्क सतह कम हुन्छ । यसले मोटरसाइकलको प्राकृतिक सन्तुलन बिगार्न सक्छ ।

विशेषगरी उच्च गतिमा गुड्दा वा अचानक ब्रेक लगाउँदा टायरले पर्याप्त पकड दिन सक्दैन । मोड काट्दा मोटरसाइकल हल्का चिप्लिने, उफ्रिने वा रोडमा अस्थिर महसुस हुने समस्या पनि यही कारणले हुन्छ ।

यसबाहेक तातो सडक र लामो दूरीको घर्षणले भित्रको हावा थप फैलिँदा टायर फाट्ने जोखिम पनि बढ्छ । नेपाल वा भारतजस्ता देशमा गर्मीका बेला कालोपत्रे सडकको सतह अत्यन्त तातो हुन्छ । यस्ता सडकमा ओभर–इन्फ्लेटेड टायरले झन् बढी तनाव झेल्छ । टायरको बीच भाग चाँडै घिसिने भएकाले यसको आयु पनि घट्छ ।

त्यसैले गर्मीमा ‘फुल हावा’भन्दा ‘सही हावा’ धेरै महत्त्वपूर्ण हुन्छ । थोरै सावधानीले ठूलो दुर्घटनाबाट जोगिन सकिन्छ ।

ट्र्याक्शन र रोड ग्रिपमा प्रत्यक्ष असर

टायरको सही काम भनेको मोटरसाइकललाई सडकसँग मजबुत रूपमा जोडिराख्नु हो । तर जब टायरमा धेरै हावा हुन्छ, त्यसको सम्पर्क सतह सानो हुन्छ र ग्रिप घट्न थाल्छ । यही कारणले गर्मीमा गलत पीसीआई भएको मोटरसाइकल मोडमा बढी चिप्लिन सक्छ ।

विशेषगरी वर्षा सुरु हुनुअघि धुलाम्मे सडक, तातो कालोपत्रे वा साना गिट्टी भएको बाटोमा टायरको कमजोर ग्रिप खतरनाक हुन सक्छ । धेरै प्रेसर भएको टायरले सानो धक्का पनि राम्रोसँग सोस्न सक्दैन, जसले सस्पेन्सनमा अतिरिक्त दबाब दिन्छ र राइड कम्फर्ट घटाउँछ ।

यसको असर ब्रेकिङमा पनि देखिन्छ । अचानक रोक्नुपर्दा मोटरसाइकल अपेक्षाकृत लामो दूरीमा गएर मात्र रोकिन सक्छ । त्यसैले, गर्मीमा लामो यात्रामा निस्कनेहरूका लागि यो झन् संवेदनशील विषय हो ।

सही टायर प्रेसरले मात्र मोटरसाइकललाई स्थिर, सुरक्षित र आरामदायी बनाउँछ । त्यसैले, रोड ग्रिप राम्रो राख्न गर्मीमा पीसीआई नियमित जाँच गर्नु सबैभन्दा सरल तर प्रभावकारी उपाय हो ।

हप्तामा एकपटक टायर प्रेसर जाँच अनिवार्य

गर्मीको मौसममा हप्तामा कम्तीमा एकपटक टायर प्रेसर जाँच गर्नु राम्रो बानी मानिन्छ । यदि दैनिक लामो दूरीमा मोटरसाइकल चलाउनुहुन्छ भने दुई–तीन दिनमै एकपटक जाँच्दा अझ सुरक्षित हुन्छ ।

धेरैजसो चालकले टायर हेरेर मात्रै ‘हावा ठीक छ’ भन्ने अनुमान गर्छन्, तर आँखाले हेरेर सही पीसीआई थाहा हुँदैन । त्यसका लागि प्रेसर गेज वा पेट्रोल पम्पमा उपलब्ध डिजिटल मेसिन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

बिहान मोटरसाइकल स्टार्ट गर्नुअघि, टायर चिसो अवस्थामा हुँदा पीसीआईं जाँच गर्नु सबैभन्दा विश्वसनीय तरिका हो । लामो दूरी यात्रा गरेपछि तुरुन्त जाँच गर्दा प्रेसर बढी देखिन सक्छ, जुन वास्तविक आधार मान्न मिल्दैन ।

नियमित जाँचले टायर घिसिने, साना चुहावट, भल्भ समस्या वा पन्चरको प्रारम्भिक संकेत पनि थाहा दिन्छ । यसले बीच बाटोमा समस्या आउन नदिई यात्रा सुरक्षित बनाउँछ ।

गर्मीमा मोटरसाइकलको इन्जिन जति महत्त्वपूर्ण छ, टायरमा सही हावा हुनु पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । घरबाट निस्कनुअघि एक मिनेट पीसीआईं जाँच्ने बानीले ठूलो दुर्घटना टार्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?