News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटामा करोडौँ खर्चेर बनाइएका पर्यटकीय पूर्वाधारहरूमा पर्यटक नआउँदा संरचना प्रयोगविहीन हुँदै गएका छन्।
- धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रचारप्रसारको कमी र पर्यटकमैत्री व्यवहारको अभावले समस्या आएको उल्लेख गर्नुभयो।
- विशेषज्ञहरूले दीर्घकालीन योजना, प्रभावकारी प्रचारप्रसार र स्थानीय सहभागिता बिना लगानीले प्रतिफल नदिने बताएका छन्।
४ वैशाख, धनकुटा । धनकुटामा पछिल्ला वर्षहरूमा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हुन सकेको छैन । प्राकृतिक सुन्दरता, धार्मिक स्थल र सम्भावित पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि पर्याप्त पर्यटक भित्रन नसक्दा निर्माण गरिएका संरचना प्रयोगविहीन बन्दै गएका छन् ।
धनकुटा नगरपालिका–१ स्थित ओक्मालुङ्ग क्षेत्रमा रहेको गुफा र नजिकैको छाँगो (झरना) लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारको सहयोगमा करिब एक करोड रुपैयाँ खर्च गरिएको थियो । गुफासम्म पुग्न झोलुङ्गे पुल, सिँढी निर्माण गरिएको छ । त्यस्तै गुफाभित्र पनि सहजताका लागी ठाँउठाउँमा सिँढी निर्माण गरी बत्ती जडान गरिएको छ । यस्तै नजिकै रहेको छाँगोमा पौडी खेल्न पोखरी, चौतारी, शौचालय लगायतको संरचना निर्माण गरिएको छ । तर, यो ठाउँमा पर्यटक पुग्न भने सकेका छैनन् । नयाँ वर्षको अवसरमा पर्यटक भित्र्याउन ३ दिने मेला लगाइएको भए पनि पर्यटकको चहलपहल हुनै सकेन ।
यस्तै, धनकुटा नगरपालिका-१ हिले सिरानमा भ्यु टावर, वडा नं. ७ र ८ मा रहेको चुलिवन पार्क, वडा नं. २ मधुगंगाधाम लगायत क्षेत्रमा पनि पूर्वाधार विस्तार गरिएको छ । तर यति ठूलो लगानीपछि पनि ती स्थानहरूमा पर्यटकको चहलपहल न्यून रहेको छ ।

स्थानीय तहले अपेक्षा गरेअनुसार मानिस घुम्न नआउँदा पर्यटकीय पूर्वाधार निर्माण गरिएका क्षेत्रहरू सुनसान छन् । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार प्रचारप्रसारको कमी र पर्यटकमैत्री व्यवहारको अभावले यस्तो अवस्था आएको हो ।
कोशी प्रदेशस्तरीय पर्यटन कार्यक्रमहरूसँग समन्वय गरी धनकुटालाई प्राथमिकतामा राख्न सके पर्यटक आगमन बढ्न सक्ने उनको विश्वास छ । विशेषगरी आन्तरिक तथा भारतको बिहार क्षेत्रबाट पर्यटक आकर्षित गर्न योजना आवश्यक रहेको उनले बताए ।

यो समस्या केवल धनकुटा नगरपालिकामा मात्र सीमित छैन । पाख्रिबास नगरपालिका-८ मा ३ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको जलदेवी सिमसार, एक करोड रुपैयाँभन्दा बढी खर्चेर सुन्तले डाँडा तथा राम्चे डाँडामा निर्माण गरिएका संरचनाहरू पनि प्रयोगविहीन छन् ।
यस्तै छथर जोरपाटी गाउँपालिकाका लाखौँ खर्चेर निर्माण गरिएको ध्वजे डाँडा तथा पटेक डाँडा पुग्ने संरचनाहरूको अवस्था पनि उस्तै छ भने महालक्ष्मी नगरपालिकामा २ करोड ८० लाखको लागतमा निर्माण गरिएको वनझाँक्री पार्कसमेत सुनसान छ ।

अर्थशास्त्रका उपप्राध्यापक भेषराज खत्रीका अनुसार स्थानीय आवश्यकता भन्दा पहुँच र राजनीतिक प्रभावका आधारमा पूर्वाधार निर्माण गरिँदा स्थानीयको अपनत्वको अभाव भएर समस्या भएको हो । ‘स्थानीयले आफ्नो ठानेनन् भने संरक्षण हुँदैन, परिणामत: संरचना प्रयोगविहीन बन्छन्,’ उनले भने ।
उनले अघिल्लो कार्यकालका जनप्रतिनिधिले निर्माण गरेका संरचना अहिलेका जनप्रतिनिधिले स्वीकार गर्न नसक्नु र प्रचारप्रसार नहुदाँ पनि समस्या भएको छ । स्थानीयको आवश्यकता भन्दा अनुपयुक्त ठाउँमा पूर्वाधार निर्माण हुँदा स्थानीयले संरक्षण नगर्दा पूर्वाधार भत्कन थालेका छन् ।

त्यस्तै, कृषि तथा पर्यटन अभियन्ता जीवनकुमार राईले पूर्वाधार निर्माणपछि आवश्यक प्रचारप्रसार नगर्दा पर्यटकको ध्यान पुग्न नसकेको बताए । उनले विदेशमा रहेका धनकुटेली समुदायलाई परिचालन गरेर बाह्य पर्यटक भित्र्याउन पहल हुनुपर्ने बताए । साथै, चर्चित व्यक्तित्वहरूलाई आमन्त्रण गरी प्रचार अभियान चलाउनुपर्ने आवश्यकता उनले औँल्याए । कुनै ठाउँमा पर्यटक आफैँ आए पनि धेरै ठाउँमा प्रचारको आवश्यक रहेको राईको भनाइ छ ।
विशेषज्ञहरूका अनुसार पर्यटन विकास केवल संरचना निर्माणमा सीमित हुन सक्दैन । दीर्घकालीन योजना, प्रभावकारी प्रचारप्रसार, स्थानीय सहभागिता र सेवा गुणस्तर सुधारबिना लगानीले प्रतिफल दिन सक्दैन । स्थानीय तहले प्रदेश तथा संघीय सरकारको सहयोग तथा सहकार्यमा पर्यटकीय स्थलको प्राथमिकीकरण नगरी पहुँचको भरमा पूर्वाधार निर्माण गर्दा यो अवस्था आएको धेरैको बुझाइ छ । अहिलेको अवस्था हेर्दा धनकुटामा निर्माण गरिएका अधिकांश पर्यटकीय पूर्वाधारहरू पर्यटकको पाइलासमेत नपुगी जीर्ण बन्दै गएका छन् । यस्तो अवस्थामा अब प्राथमिकता निर्धारण गर्दै पर्यटक भित्र्याउने योजना बनाउँदै र प्रचारप्रसार गर्ने रणनीति बनाउन ध्यान दिनुपर्ने अपरिहार्य देखिन्छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुबराज रायाले पर्यटकीय संरचना बनेपनि सडक स्तरोन्नति नहुँदा पर्यटक आउन समस्या भएको बताए । उनले सडक स्तरोन्नतिको कामलाई प्राथमिकतामा राखेर योजनाका साथ अगाडि बढिरहेको बताए । नगरपालिकाले सिधुवा जितपुर सडक र लेगुवा जितपुर सडक कालोपत्रेको पक्रियामा रहेको बताए । यस्तै उनले पर्यटकका लागि आवासीय व्यवस्थापनका लागि निजी लगानीकर्तालाई आकर्षित गर्न नगरपालिकाले योजना बनाइरहेको बताए ।
यस्तै पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक तथा सांस्कृतिक सम्पदाको पहिचान र प्रचार आवश्यक रहेको बताए । गुरुङले पाख्रीबास क्षेत्रमा प्रशस्त पर्यटन सम्भावना रहेको उल्लेख गर्दै ती सम्भावनालाई व्यवस्थित रूपमा अघि बढाउन नगरपालिका लागि परेको बताए । उनले पर्यटक भित्र्याउन होमस्टे तथा ग्रामीण पर्यटनको विकासले स्थानीय आयआर्जनमा टेवा पुग्नुका साथै आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्न लागि परेको बताए । उनले सडक, होटल र सञ्चारजस्ता आधारभूत पूर्वाधार बलियो नबनाई पर्यटन क्षेत्र अघि बढ्न नसक्ने भएकाले नगरपालिकाले प्राथमिकता दिएर काम सुरु गरेको बताए ।

छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा पर्यटक आकर्षित गर्न सांस्कृतिक तथा प्रचारात्मक कार्यक्रमहरू आयोजनाको तयारीमा रहेको बताउँदै निजी क्षेत्रसँग सहकार्यको तयारीमा रहेको बताए । निजी क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रूपमा अघि बढ्न सके छथर जोरपाटीलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने उनको भनाइ छ ।


प्रतिक्रिया 4