+
+
Shares

अमेरिकाका नेपाली मम मास्टर

नेपालीहरूको हब बन्दै गएको नर्थ क्यारोलाइनामा ममका लागि टाढा-टाढाबाट धाएर आउने पनि छन् ।

ऋषिराम कट्टेल ऋषिराम कट्टेल
२०८३ वैशाख १३ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङका रमेश दाहालले अमेरिकाको नर्थ क्यारोलाइना राज्यको चापलहिलमा ममज मास्टर नामक नेपाली रेस्टुरेन्ट स्थापना गरी मम मास्टरको पहिचान बनाएका छन्।

नेपालको ममलाई अमेरिकी शहरमा प्रख्यात बनाएका खोटाङका रमेश दाहालले अमेरिकामा मम मास्टरको पहिचान बनाएका छन् । अमेरिकाको दक्षिणपूर्वी राज्य नर्थ क्यारोलाइना राजधानी राले नजिकै चापलहिलमा ३४ हजार विधार्थी पढ्ने कहलिएको विश्वविद्यालय युएनसी चापल हिल (युर्निभर्सिटी अफ चापल हिल) छ । १७८९ मा स्थापना भएको यो अमेरिकाको सबैभन्दा पुरानो पब्लिक विश्वविद्यालय हो । यही विश्वविद्यालयसँगै एक चर्चित नेपाली रेस्टुरेन्ट छ– ममज् मास्टर ।

साह्रै कम नेपाली भएको चापल हिलमा ममज मास्टरमा भीडभाड भने निकै हुन्छ । ‘कहिले त लाइन बसेर खानुपर्छ’ युएनसी चापल हिलमा कार्यरत डा.मुकेश अधिकारी भन्छन् ‘अमेरिकनको बीचमा बसेर यस्तो ठाँउमा मम खान पाउँदा पनि साँच्चिकै गर्वको महसुस हुँदोरहेछ ।’

अमेरिकामा धेरैजसो नेपालीहरू इन्डियन नाम दिएर इन्डियन खाना बेच्ने गरी रेस्टुरेन्ट सञ्चालन गर्छन् । हुन पनि भारतीय खाना नै ज्यादा लोकप्रिय छ । इन्डियन नाम राख्दा स्वतस्फूर्त धेरै ग्राहक तानिन्छन् । नेपाली खाना त कतिपयले चिन्दैनन् पनि ।

तर अमेरिकामा ५ वर्षअघि नै नेपालमा जस्तै ममको नामबाट नेपाली रेस्टुरेन्ट खोल्ने आँट गरेका थिए खोटाङ माक्पाका रमेश दाहालले ।

‘नेपाली खानालाई यहाँ चिनाउछु भनेर नेपाली रेस्टुरेन्ट गरेको थिएँ ’ रमेश सुनाउँछन्, ‘सुरुवाती दिनहरू निकै संघर्षपूर्ण थिए, तर आज यही रेस्टुरेन्टले मलाई अलग पहिचान दिएको छ ।’

उनले सञ्चालन गरेको ममज मास्टर हिमालयन बिस्ट्रो आज नेपाली स्वादको प्रतिनिधि स्थल बनेको छ । यही रेस्टुरेन्ट अहिले स्थानीय समुदायका लागि आकर्षणको केन्द्र बनेको छ । यही कारणले धेरैले उनलाई प्रेमपूर्वक मम मास्टर भनेर सम्बोधन पनि गर्छन ।

चापल हिलको नेपाली सान

बर्गर, टाको, पिज्जा, हट डग जस्ता खानामा अभ्यस्त अमेरिकनहरू मममा झुम्मिन्छन् । रमेश भन्छन् ‘पैसा आफ्नो ठाउँमा छ, तर सबैभन्दा ठूलो उपलब्धि भनेको अमेरिकीहरूलाई नेपाली स्वादसँग परिचित गराउन सक्नु हो ।’ चापलहिल शहरको चल्तीको रेस्टुरेन्ट मम मास्टर पनि पर्छ । पछिल्ला वर्षहरूमा नेपाली मम चिनाउने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित बनेको छ ।

‘यस शहरमा मम चल्तीको खानेकुरा हुनु हामी नेपालीका लागि गर्व गर्नु पर्ने विषय हो’ ड्युक युर्निभर्सिटीका प्रोफेसर तथा वातावरणविद् डा. चन्द्र गिरी भन्छन्, ‘यहाँको भिडभाड देख्दा साच्चिकै गर्व लाग्छ र यसको श्रेय रमेश दाहाललाई जान्छ ।’

सेभ द चिल्ड्रेनमा करिब तीन वर्ष नेपालमा कार्यरत रहेकी चापलहिलकी स्थानीय डेब्रा स्किनर रमेशको पाककला प्रतिभाको प्रशंसा गर्छिन् । उनका अनुसार रमेशले मममार्फत नेपाली खानाको पहिचान अमेरिकी समाजमा फैलाइरहेका छन् । डेब्रा भन्छिन्, ‘वास्तावमा भन्नुपर्दा चापल हिलको मम रेस्टुरेन्ट उनी नेपाली सान हो ।’

आर्मीको सेफदेखि पानी जहाजसम्म

काठमाडौंमा रहँदा होटल सांग्रिला, र्‍याडिसन जस्ता फाइभ स्टार होटलमा सेफको रुपमा काम गरेका थिए दाहालले । उनी काठमाडौंका होटल, रेस्टुरेन्टमा पाककलाको तालिम दिन्थे । ‘त्यो समयको चल्तीको ट्रेनर थिएँ कुकहरूका लागि’ उनी विगत सम्झिन्छन् । त्यसपछि उनले कुकिङकै कामको सिलसिलामा नेपाल छोडे र अन्तर्राष्ट्रिय अनुभव बटुल्ने अवसर पाए ।

ओमन, इराक, जिबुटीमा लगायतका देशमा अमेरिकन आर्मीको डाइनिङ फ्यासीलिटीमा कतै सेफ त कतै हेड सेफको काम गरे रमेशले । ‘त्यो बिल्कुलै फरक अनुभव थियो’ रमेश सम्झिन्छन्, ‘त्यहाँको अनुशासन र कार्यसंस्कृति सम्झनलायक छ ।’

एक दशक अमेरिकन सेनासगँको बसाइपछि २०१० मा नेपालमा फर्केर पाककला सम्बन्धी क्राउन इन्टरनेसनल क्युलिनरी स्कुल खोले तर त्यो सफल भएन । ‘त्यसको महत्व त्यो समयमा नेपालमा बुझेनन्’ रमेशको ठम्याइ छ ।

त्यसपछि उनी फेरि नयाँ अनुभवका लागि समुद्री यात्रामा निस्किए । सेलिब्रिटी मिलेनियम नामक क्रुजमा सेफका रूपमा काम गर्दै उनले संसारका विभिन्न समुद्रहरू यात्रा गरे । ‘त्यो अनुभव पनि अविस्मरणीय बन्यो’ उनी स्मरण गर्छन्।

२०१० मा अमेरिका आएका उनी ओहायो राज्यको डब्लिन शहरमा अमुल इन्डिया नामक रेस्टुरेन्टमा सेफको रुपमा काम गरे । अर्को अबसर पाएर फेरि अलावामाको वर्हिहामको सितार इन्डियन रेस्टुरेन्टको किचन हाँक्न पुगे ।

२ वर्ष काम गरेपछि नर्थ क्यारोलाइना राज्यको राले शहर आएका उनी यतै रमाए । झण्डै १४ वर्ष यतै बिताएसँगै नयाँ पहिचान बनाए । मन्त्र, जिन्दा राले, छोटे अफ राले, छोटे अफ गार्नरको सेफको रूपमा पनि उनले काम गरे । साथै एङगस बार्न, लाफार्म बेकरी, जस्ता अमेरिकन चेन रेस्टुरेन्टमा पनि काम गरे ।

कहलिएका अमेरिकन सेफसँग काम गर्ने मौका पाए । यी सबै अनुभवले उनलाई पाककलामा अझ निखार दिए । अन्ततः आफ्नै रेस्टुरेन्ट खोल्ने सपना साकार पार्दै उनले चापल हिलमा ममज मास्टर स्थापना गरे । छोटो समयमै यो रेस्टुरेन्ट स्थानीय समुदायमा लोकप्रिय बन्यो र नेपाली मम चिनाउने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भयो ।

अमेरिकामा ममको स्वाद फैलाउँदै

लामो समयको अनुभवपछि युर्निभर्सिटी अफ नर्थ क्यारोलिना एट चापलहिल २०२१ मा रमेशले ममज् मास्टर खोले ‍। पछिल्ला २-३ वर्ष यता यो निकै लोकप्रिय रेस्टुरेन्टमा गनिन्छ ।

आसपासमा फाट्टफुट्ट बाहेक नेपाली थिएनन् । भएका नेपालीहरू पनि २०-२५ मिनेट टाढै थिए । यो शहरमा नौलो खाना थियो मम । ‘मेहनत, लगन राम्रो खाना दिन सक्दा असफलता भन्ने कुरा हुन्न रैछ’ रमेश खुसी हुँदै भन्छन्, ‘अहिले यो क्षेत्रमा कहलिएको ठाँउ बनेको छ ।’

नेपालीहरूको हब बन्दै गएको नर्थ क्यारोलाइनामा ममका लागि टाढा-टाढाबाट धाएर आउने पनि छन् । ग्रिन्सबोरोका कहलिएका व्यवसायी माधव ढकाल भन्छन्, ‘ममले फैलाएको प्रसिद्धि लोभलाग्दो छ । यसरी नेपाली स्वाद फैलिनु गौरवको कुरा हो ।’

ममज मास्टरमा स्टिम, झोल, चिल्ली, सिज्लर, कोथे फ्राइड, बफ लगायत ९ प्रकारका मम पाइन्छन् । अमेरिकामा बफ मम पाउने थोरै ठाँउ मध्ये ममज् मास्टर एउटा हो । ‘मम केवल परिकार मात्र होइन, यो हाम्रो सांस्कृतिक पहिचान हो’ रमेश भन्छन् ‘आज मम केवल खाना मात्र होइन, सामाजिक र सांस्कृतिक जीवनको पनि हिस्सा बनेको छ ।’

आज मम नेपालकै सबैभन्दा लोकप्रिय परिकारमध्ये एक बनेको छ । साना सडक पसलदेखि ठूला रेस्टुरेन्टसम्म यसको उपस्थिति छ । नेपाली समाजमा यसको लोकप्रियता यति धेरै छ कि धेरै मानिसहरूले ममलाई नेपाली खानाको प्रतीककै रूपमा लिन्छन् ।

हालैमात्र उनले हिमालयन फ्राइड चिकेन नामक अर्को रेस्टुरेन्ट नजिकैको कारबोरो शहरमा खोलेका छन् ।

रिसर्च पार्कको छेवैमा नेपाली स्वाद

चापलहिल नर्थ क्यारोलाइना रिसर्च ट्रायंगलका तीन कुनामध्ये एक हो । बाँकी दुई कुनाहरू हुन्, रालेमा रहेको नर्थ क्यारोलाइना स्टेट विश्वविद्यालय र डुरममा रहेको डुक विश्वविद्यालय । ममज् मास्टर यो राले डुरम, चापलहिल क्षेत्रले घेरिएको रहेको रिसर्च ट्रयाङगल पार्क (आरटीपी)को कारण पनि चर्चित छ । अमेरिकाको मात्र नभएर विश्वकै ठूलो रिसर्च पार्क आरटीपी पूर्वको सिलिकन भ्याली पनि भनेर भन्ने गरिन्छ ।

यहाँ एकै ठाउमा ३७० भन्दा बढी अनुसन्धान तथा धेरै उच्च प्रविधि कम्पनीहरू छन् । जहाँ ६५ हजार हाराहारीले काम गर्छन् । यो क्षेत्र पनि अमेरिकाको एउटा आईटीको हव हो । यस्तो उच्च प्रविधि र अनुसन्धानको केन्द्र मानिने क्षेत्र नजिकै नेपाली ममको स्वाद फैलाउँदै ममज् मास्टरले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?