+
+
Shares

आगामी साता वर्षाको प्रक्षेपण, त्यसअघि तातो लहर

लुम्बिनी र सुदूरपश्चिमका तराईमा ४० डिग्रीसम्म पुग्ने सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साताबाट मात्र वर्षाको गतिविधि सुरू हुनेछ । त्यसअघिसम्म गर्मीका कारण तातो हावाको लहर चल्ने भएकाले सतर्कता अपनाउन विभागका मौसमविदले सुझाव दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साताबाट मात्र वर्षाको गतिविधि सुरू हुनेछ र त्यसअघिसम्म तातो हावाको लहर चल्नेछ।
  • लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो तराई क्षेत्रमा आगामी तीन दिनसम्म अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा माथि पुग्ने चेतावनी विभागले दिएको छ।
  • विभागले दिउँसो अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र संवेदनशील समूहलाई विशेष ध्यान दिन आग्रह गरेको छ।

११ वैशाख, काठमाडौं । अहिलेको चर्को गर्मीबाट राहत पाउन अझै केही दिन कुर्नुपर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साताबाट मात्र वर्षाको गतिविधि सुरू हुनेछ । त्यसअघिसम्म गर्मीका कारण तातो हावाको लहर चल्ने भएकाले सतर्कता अपनाउन विभागका मौसमविदले सुझाव दिएका छन् ।

विभागले देशका विभिन्न क्षेत्रमा बढ्दो गर्मीलाई मध्यनजर गर्दै आज साँझ विशेष बुलेटिन जारी गरेको छ । बुलेटिनमा लेखिए अनुसार पछिल्ला केही दिनदेखि मधेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा तापक्रम उच्च रहँदै आएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिट वेभ) को अवस्था देखिएको छ ।

विभागले आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ । यसका कारण मध्यम स्तरको तातो लहरको जोखिम रहने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कुन जिल्लामा बढी प्रभाव ?

बुलेटिनअनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र सुर्खेत जिल्लालाई ‘सतर्क रहनुपर्ने’ श्रेणीमा राखिएको छ ।

त्यस्तै, डडेलधुरा, अछाम, दैलेख, सल्यान, रोल्पा, प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा र परासी जिल्लालाई अध्यावधिक रहनु्पर्ने श्रेणीमा समावेश गरिएको छ ।

विभागले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हलुका कपडा लगाउन र संवेदनशील समूह (बालबालिका, वृद्ध तथा बिरामी) लाई विशेष ध्यान दिन आग्रह गरेको छ ।

सरकारको मौसम निकायले जारी गरेको यो चेतावनीसँगै प्रभावित क्षेत्रका स्थानीय तह र सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन समेत सुझाव दिइएको छ ।

यद्यपि, आउँदो साताको सुरुवातदेखि मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा वर्षाको गतिविधि देखिने भएकाले तापक्रममा केही गिरावट आउने हुँदा शीतल महसुस हुनेछ । साथै तुवाँलो तथा वायु प्रदूषणमा केही सुधार हुने अपेक्षा छ ।

विभागकी मौसमविद बिनु महर्जनले भनिन्, आगामी साता मध्यम वर्षाको पानी पर्ने सम्भावना भएकाले गर्मी केही कम हुने देखिन्छ ।’

तराई भेगमा मध्यम वर्षाको सम्भावना

तराई भेगका लागि आज शुक्रबारदेखि शनिबारसम्म कोशी प्रदेशको थोरै ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आइतबारदेखि मंगलबारभित्र कोशी, मधेश, बागमती प्रदेशका थोरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका तराईका एक/दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।

यसैगरी बुधबारदेखि विहीबारभित्र भने कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यम खालको पानी पर्ने प्रक्षेपण विभागले गरेको छ ।

पहाडी भेगमा पनि वर्षाको प्रक्षेपण

पहाडी भेगका लागि शुक्रबारदेखि शनिबारभित्र कोशी प्रदेशका केही ठाउँहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यम खालको पानी पर्ने पूर्वानुमान छ ।

यसैगरी आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि विहीबारभित्र भने कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।

हिमाली भेगमा कस्तो होला मौसम ?

विभागकी मौसमविद महर्जनका अनुसार हिमाली भेगमा शुक्रबारदेखि शनिबारसम्म हिमालीभेगमा थोरै ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।

आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा पनि मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि बिहीबारभित्र कोशी, बागमती र गण्डकीका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

अहिले प्रिमनसुनको समय भएकाले पानी र हिउँसँगै मेघगर्जन चट्याङ् सहित असिना र हावाहुरीको पनि सम्भावना हुने भएकाले सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?