News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि विभागले मौसम प्रतिकूल भएकाले किसानलाई गहुँ खेतमा नछाडेर घरमा भण्डारण गर्न आह्वान गरेको छ।
- महानिर्देशक प्रकाशकुमार सञ्जेलले गहुँ भण्डारणमा कीराबाट जोगाउन सुकिलो नीम, बकाइनो र तितेपातीजस्ता पात प्रयोग गर्न सुझाव दिए।
- कृषि सूचना केन्द्रले गहुँ उत्पादन करिब २२ लाख मेट्रिक टन हुने अनुमान गरेको र गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप अनिवार्य लगाउन आग्रह गरेको छ।
१६ वैशाख, काठमाडौं । मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि विभागले आह्वान गरेको छ ।
विभागले मौसममा आएको फेरबदलले मुलुकको विभिन्न भागमा हुस्सु, कुहिरो तथा वर्षा हुन थालेपछि किसानले खेतमा काटेर राखेका गहुँमा क्षति हुने जोखिम उच्च रहेकाले त्यसको न्यूनीकरणका लागि गहुँको उत्पादनलाई घरमा लगेर भण्डारण गर्न आग्रह गरेको हो ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले खाद्यान्नका लागि प्रयोग गरिने गहुँ भण्डारणमा कीराबाट जोगाउन भकारीको माथिल्लो भागमा ४–५ इन्च जति छहारीमा सुकाएको सुकिलो नीम, बकाइनो र तितेपातीजस्ता बोटबिरुवाको पात प्रयोग गर्नसमेत सुझाव दिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि सूचना केन्द्रले समेत किसानलाई कृषि उत्पादनमा प्रविधिक सुझाव, उत्पादन वृद्धि, बाली संरक्षण, क्षति न्यूनीकरण, बजारीकरण आवश्यक सूचना उपलब्ध गराउँदै आएको छ ।
केन्द्रले गहुँलगायत अन्य बाली काटेको खेतमा बाँकी रहेको कृषि अवशेषहरू नजलाउन भनेको छ । यस वर्ष करिब २२ लाख मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको कृषि सूचना केन्द्रले जनाएको छ ।
गर्मी बढेसँगै लामखुट्टे, झिँगा, किर्ना आदिको सङ्ख्या पनि बढ्ने र गाई, भैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण हुने जोखिम रहेको केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए ।
केन्द्रले गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप अनिवार्य रुपमा लगाउन पशुपालक किसानलाई आग्रह पनि गरेको छ ।
-रासस
प्रतिक्रिया 4