+
+
Shares

यस वर्षको मनसुनमा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण

नेपालका पूर्वी भागहरू ‘सामान्य वा सामान्यभन्दा बढी वर्षा हुने’ भनिएको उत्तर–पूर्वी क्षेत्र नजिक पर्दछन् । तर ठूलो हिस्सा भने ‘कम वर्षा’ हुने भनिएको मध्य क्षेत्रमा पर्दछ । त्यसैले नेपालका कुनै–कुनै ठाउँमा धेरै वर्षा भए पनि समग्रमा कम वर्षा हुने अनुमान गरिएको हो ।

विनोद घिमिरे विनोद घिमिरे
२०८३ वैशाख २३ गते १९:५५
वर्षाको आकलन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ।
  • प्रशान्त महासागरको एल निनो र हिन्द महासागरको इन्डियन ओसन डाइपोलले मनसुन कमजोर हुने मुख्य कारण हुन्।
  • मनसुन कमजोर हुँदा कृषि र जलविद्युत क्षेत्रमा असर पर्ने र खाद्य असुरक्षा बढ्ने जोखिम देखिएको छ।

२३ वैशाख, काठमाडौं । नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ ।

प्रशान्त महासागरमा विकसित ‘एल निनो’ र हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’मा देखिएको तटस्थताका कारण यस वर्ष मनसुन कमजोर हुने आकलन गरिएको हो । यद्यपि नेपालका कुनैकुनै भागमा भने बढी वर्षा हुने अनुमान छ ।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यो अवधिमा वर्षभरी हुने वर्षाको करिब ८० प्रतिशत पानी पर्दछ । बर्खायाम वा मनसुनले बालीनाली तथा देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने गर्दछ । साथै बाढीपहिरोका कारण धनजनको क्षति समेत हुने गरेकाले मनसुनप्रति धेरैको चासो हुने गर्दछ ।

त्यसैले दक्षिण एसियाका देशहरूको ऋतुगत मौसम पूर्वानुमान नेपालसमेत सहभागी दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) ले हरेक वर्ष सार्वजनिक गर्दछ । मञ्चको निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले पनि हरेक वर्ष सम्भावित मनसुनी अवस्थाबारे जानकारी दिने गर्दछ । विभागले आगामी शुक्रबार सबै सरोकारवालालाई भेला गरेर यस वर्षको मनसुनी अवस्थाबारे जानकारी दिने कार्यक्रम राखेको छ ।

सास्कोफको प्रतिवेदनमा के छ ?

हालै मालदिभ्सको मालेमा सास्कोफको बैठक बसेको थियो । बैठकमा दक्षिण एसियाका अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंका गरी नौ देशका मौसमविद्हरू सहभागी थिए ।

सो बैठकले यस वर्षको मनसुन अवधिको मे–सेप्टेम्बर महिनामा दक्षिण एसियाको उत्तर–पश्चिमी, उत्तर–पूर्वी र दक्षिणी क्षेत्रका केही भागहरूमा सामान्य वा सामान्यभन्दा बढी वर्षा हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा लेखिएअनुसार मध्य क्षेत्रमा भने कम वर्षा हुने छ ।

तापक्रमको आकलन

नेपालका पूर्वी भागहरू ‘सामान्य वा सामान्यभन्दा बढी वर्षा हुने’ भनिएको उत्तर–पूर्वी क्षेत्र नजिक पर्दछन् । तर ठूलो हिस्सा भने ‘कम वर्षा’ हुने भनिएको मध्य क्षेत्रमा पर्दछ । त्यसैले नेपालका कुनै–कुनै ठाउँमा धेरै वर्षा भए पनि समग्रमा कम वर्षा हुने अनुमान गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेल पनि यस वर्षको मनसुन सुरुवाती चरणमा कमजोर हुने र देशका धेरैजसो भू–भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउँछन् । उनका अनुसार आगामी जेठ १५ देखि साउन १५ (जुन र जुलाई) सम्मको समय सुक्खा हुने सम्भावना छ ।

मनसुनको यो अनिश्चितताले देशको कृषि र जलविद्युत क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । मनसुनको पहिलो आधा समय सुख्खा हुँदा यो वर्ष ३० देखि ४० प्रतिशत मात्र रोपाइँ हुन सक्ने मौसमविद पोखरेलको अनुमान छ ।

मनसुन कमजोर हुनुका कारण

मौसमविद्हरूका अनुसार यो वर्ष मनसुन कमजोर हुनुमा मुख्य दुईवटा मौसमी प्रणालीहरू जिम्मेवार देखिएका छन्– ‘एल निनो’को प्रभाव र हिन्द महासागरको अवस्था ‘आईओडी’ ।

प्रशान्त महासागरको तापक्रम औसतभन्दा बढी हुने अवस्थालाई ‘एल निनो’ भनिन्छ । यसले दक्षिण एसियाली मनसुनलाई कमजोर बनाउँछ । यद्यपि अहिले यो अवस्था तटस्थ बन्दै गएको देखिएको छ । तर यसको बाँकी प्रभाव र वायुमण्डलमा आएको फेरबदलका कारण जुन र जुलाईमा बादल निर्माण हुने प्रक्रिया सुस्त हुन सक्ने अनुमान छ ।

यसैगरी नेपालको मनसुनमा हिन्द महासागरको तापक्रम (इन्डियन ओसन डाइपोल–आईओडी) को ठूलो भूमिका हुन्छ । विभिन्न अन्तर्राष्ट्रिय मोडेलहरूका अनुसार यो वर्ष जुन–जुलाईको समयमा हिन्द महासागरको अवस्था तटस्थ हुने देखिन्छ । यसले गर्दा जलवाष्पयुक्त हावा नेपालसम्म आइपुग्न अवरोध सिर्जना गर्नसक्ने अनुमान छ ।

जलवायु अध्येतासमेत रहेका विपदविज्ञ डा. धर्मराज उप्रेती
जुन महिनाको मध्यसम्म ठिकै पानी परे पनि जुनको अन्त्यतिरबाट सुक्खा हुँदै जाने र सेप्टेम्बरको अन्त्यतिर पुनः सक्रिय हुनसक्ने बताउँछन् ।

‘आईओडी तटस्थ अवस्थामा छ र प्रशान्त महासागरमा एल निनो मात्र नभएर सुपर एलनिनोको अवस्था छ । सुपर एलनिनो हुने बित्तिकै सुक्खा हुन्छ’, डा. उप्रेती भन्छन्, ‘तर अप्रिलदेखि जुनसम्म एउटा कन्डिसन र जुलाईदेखि सेप्टेम्बरसम्म अर्को कन्डिसन हुन्छ ।’

त्यसैले जुन महिनाको मध्यसम्म ठिकै पानी परे पनि जुनको अन्त्यतिरबाट सुक्खा हुँदै गएर नेपालमा एकदम धेरै वर्षा हुने जुलाईको समयमा कम पानी पर्ने सम्भावना रहेको उनी बताउँछन् ।

‘त्यसपछि सेप्टेम्बरको अन्त्यतिर आईओडी पोजेटिभ कन्डिसनतिर जाने सम्भावना छ । त्यसो भयो भने दशैं-तिहारको बेलातिर फेरि मनसुन सक्रिय हुने अनुमान गर्न सकिन्छ’ उनले भने ।

नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिने कृषि ७५ देखि ९० प्रतिशत मनसुनी वर्षामा निर्भर रहन्छ । वर्षा कम हुँदा धान खेती र अन्य वर्षे बाली प्रभावित भई खाद्य असुरक्षा बढ्न सक्ने जोखिम छ । त्यसैगरी, नेपालका अधिकांश जलविद्युत आयोजनाहरू नदीको बहावमा आधारित (रन अफ रिभर) भएकाले वर्षाको कमीले हिउँदमा लोडसेडिङ वा ऊर्जा अभावको समस्या पुन: दोहोरिन सक्ने चिन्ता छ ।

मौसम विज्ञान विभागको सेवा अब ३६५ दिन नै सञ्चालन हुने – Online Khabar

जल तथा मौसम विज्ञान विभाग के भन्छ ?

यस वर्षको मनसुन अवधिमा वर्षा कम हुनुका साथै दिउँसो र रातिको तापक्रम (अधिकतम र न्यूनतम तापक्रम) समेत औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । यसले गर्दा जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने विज्ञहरूको चेतावनी छ । खासगरी तराई क्षेत्रमा कृषि उत्पादकत्व र दैनिक जनजीवनमा प्रभाव पार्ने देखिएको छ ।

तर जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भने नेपालको मनसुनलाई प्रभाव पार्ने अन्य धेरै कुराहरू रहेकाले अहिले नै ठोकुवाका साथ भन्न नसकिने बताउँछिन् ।

‘हुन त एल निनोको अवस्था छ तर नेपालको मनसुनलाई प्रभाव पार्ने अरु धेरै कुराहरू पनि हुन्छन् । अहिले नै यस वर्षको मनसुन यस्तै हुन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन,’ पोखरेलले भनिन्, ‘मनसुनको सम्भावित अवस्था बीचमा अद्यावधिक पनि गरिने भएकाले त्यसलाई नजिकबाट नियालिराख्नु जरुरी हुन्छ ।’

केही वर्षयता जलवायु परिवर्तनको प्रभावका कारण मौसममा व्यापक फेरबदल देखिएको छ । वर्षायाममा पनि कुनै ठाउँमा अत्यधिक पानी पर्ने र कुनै ठाउँमा पानी नै नपर्ने अवस्था देखिने गरेको छ ।

त्यसैले विज्ञहरू कम पानीमा हुने वैकल्पिक बालीहरूको छनोट गर्ने, खानेपानी र सिँचाइका लागि पानीको भण्डारण गर्ने, तापक्रम नियन्त्रण तथा अन्य अनुकूलनका कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिन्छन् ।

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?