+
+
Shares

चामलमा विषादी भेटिएको भन्दै परेको मुद्दा उपभोक्ता अदालतमा दर्ता नै भएन

नेपालमा आयात हुने चामलमा अत्यधिक विषादी प्रयोग गरेको भेटिएको तर चामल आयात गर्ने कारोबारीहरूले त्यसको परीक्षण नगरेको दाबी सहित उनले विषादी परीक्षणपछि मात्रै चामल भित्र्याउन र वितरण गर्न दिनुपर्ने माग थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपभोक्ता अदालतले चामलमा अत्यधिक विषादी प्रयोग भएको दाबीसहितको मुद्दा दर्ता नगर्ने आदेश गरेको छ।
  • वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले विषादी परीक्षणपछि मात्र चामल भित्र्याउन र वितरण गर्न माग गरेका थिए।
  • प्रोग्रेसिभ सस्टेनेवल डेप्लोपर्सको अध्ययनले चामलमा ८३ प्रतिशत विषादी अवशेष भेटिएको देखाएको छ।

२२ वैशाख, काठमाडौं । उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्न र उपभोग्य बस्तीमा अत्यधिक विषादी प्रयोग भएको भनी पेश भएको मुद्दा दर्ता गर्न इन्कार गरेको छ । उपभोक्ता अदालतका स्रेस्तेदार शिशिर लामिछानेले दुई दिनअघि पेश भएको मुद्दा दरपीठ(दर्ता नगर्ने) आदेश गरेका हुन् ।

उपभोक्ताहरूका भान्सामा दैनिक उपभोग गर्ने चामल लगायतका खाद्यान्न तथा अन्य उपभोग्य वस्तुमा अत्यधिक विषादी प्रयोग भएको दाबीसहित त्यसलाई रोक्न माग गर्दै उपभोक्ता अदालतमा उक्त मुद्दा पेश भएको थियो ।

वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ता हित संरक्षण मञ्चको तर्फबाट उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए ।

नेपालमा आयात हुने चामलमा अत्यधिक विषादी प्रयोग गरेको भेटिएको तर चामल आयात गर्ने कारोबारीहरूले त्यसको परीक्षण नगरेको दाबी सहित उनले विषादी परीक्षणपछि मात्रै चामल भित्र्याउन र वितरण गर्न दिनुपर्ने माग थियो ।

गतवर्ष प्रोग्रेसिभ सस्टेनेवल डेप्लोपर्स तथा त्यसका अनुसन्धानले केही नमुना परीक्षण गर्दा खाद्यान्नमा विषादी प्रयोग गरेको भेटिएको थियो । प्रतिवेदन अनुसार, चामलमा ढुसी नियन्त्रण गर्ने रसायन तथा किरा रोग नियन्त्रण गर्ने विषादीको ८३ प्रतिशत अवशेष भेटिएको थियो ।

परीक्षण भएकोमध्ये ८० प्रतिशत भन्दा बढी नमुनामा दुई वा त्यो भन्दा बढी प्रकारका विषादी प्रयोग भएको भन्दै बरिष्ठ अधिवक्ता तिमल्सिना र मञ्चले बजार अनुगमनको दायरा बढाउन र खाद्यान्नमा विषादी परीक्षण गर्न माग गरेका हुन् ।

‘धान किसान र थोक व्यापारीहरूले प्रतिबन्धित तथा हानीकारक विषादीहरूको प्रयोग गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ,’ उपभोक्ता अदालतमा पेश गरेको निवेदनमा भनिएको छ, ‘दीर्घकालीन विषादी सेवनले क्यान्सर जस्ता गम्भीर रोगको जोखिम बढाउने प्रतिवेदनमा उल्लेख छ । यसबाट म लगायत चामलको दैनिक उपभोग गर्ने लाखौं उपभोक्तालाई चिन्तित मात्र होइन त्रसित तुल्याएको छ ।’

उपभोक्ता अदालत गठन भएपछिका एक वर्षमा उपभोक्ताले आफूलाई हानीनोक्सानी परेको विषयमा व्यक्तिगत रुपमा मुद्दा मामिला गरेका थिए । तर उपभोक्ताहरूलाई सामूहिक रुपमा नै हानी भएको दाबीसहित उपभोक्ता अदालतमा मुद्दा परेको यो पहिलो मुद्दा हो ।

सेवा प्रदायकको गल्ती र त्यसमा नियामक निकायको कमजोर नियमनले चामल उपभोक्ता गर्ने समग्र उपभोक्ताको स्वास्थ्यमा असर परेको भन्दै निवेदनमा सामूहिक दुस्कृति(मास टर्ट)को सिद्धान्त अनुसार कारबाहीको माग छ ।

मुद्दामा नेपालमा चामल आयात गर्दा विषादी परीक्षण गरेको भए कागजात पेश गर्न लगाउन आदेशको माग छ । स्थानीय तहहरूले खाद्यान्न निरीक्षण अधिकृतको व्यवस्था गर्नुपर्नेमा त्यसो नगरेको भन्दै काठमाडौं उपत्यकाका स्थानीय तहलाई चामलमा विषादी प्रयोगका वारेमा नमुना संकलन र जाँच गरी निरिक्षण प्रतिवेदन पेश गर्न लगाउन आदेश मागेका छन् ।

केही संस्था र व्यक्तिहरूले चामलको नमुना संकलन गरेर परीक्षण गर्दा त्यहाँ विषादीको मात्रा रहेको थाहा पाएका थिए । प्रोग्रेसिभ सस्टेनेवल डेप्लोपर्स, त्यसका अध्यक्ष एवं प्रमुख अनुसन्धानकर्ता डा. गोविन्द भण्डारी र अनुसन्धानकर्ता उत्कल सापकोटालाई झिकाएर उनीहरूको अध्ययन सहितको प्रतिवेदन पेश गर्न पनि माग गरिएको छ ।

सरकारले विषादीको नियमन गर्न प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्र स्थापना गरेको छ । त्यहाँबाट अनुमती नलिई विषादी बिक्री वितरण गर्न पाइँदैन । मुद्दामा त्यो निकायबाट विषादीहरूको विवरण र त्यसको खपतसम्बन्धी विवरण मगाई अध्ययन गर्न माग छ ।

ती निकायसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभाग अनि भन्सार विभागलाई समेत उपत्यकाका प्रत्यक्षेक जिल्लाका फरकफरक ठाँउबाट चामल, तरकारी र फलफूलको नमुना संकलन गरी विषादी परिक्षण प्रतिवेदन पेश गर्न लगाउनु भन्ने आदेशको माग छ ।

तर उपभोक्ता अदालतका स्रेस्तेदार शिशिर लामिछानेले पछि इजलासले नै यसबारेमा निर्णय गर्नसक्ने भन्दै आफ्नो तर्फबाट मुद्दा दर्ता नगर्ने(दरपीठ) आदेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?