+
+
Shares

विपक्षी दलको दबाब– लिपुलेक लगायतका भूमि फिर्ता लिन कूटनीतिक पहल होस्

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १५:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि फिर्ता लिन सरकारलाई पर्याप्त कूटनीतिक पहल गर्न दबाब दिएका छन्।
  • प्रतिपक्ष सांसदहरूले भारत–चीनले लिपुलेकलाई व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने कार्य आपत्तिजनक भएको उल्लेख गर्दै तत्काल प्रत्यक्ष वार्ता आवश्यक बताए।
  • प्रतिपक्ष सांसदहरूले सरकारसँग एकीकृत राष्ट्रिय धारणा बनाउन र सीमा क्षेत्रमा अतिक्रमण रोक्न कूटनीतिक प्रयास तीव्र पार्न सुझाव दिएका छन्।

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरूले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कूटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद सन्दीप राना, नेकपा (एमाले)की सांसद भुमिका लिम्बू सुब्बा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले भारत–चीन दुई छिमेकी मुलुकले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने कार्य आपत्तिजनक भएको उल्लेख गरे ।

साथै, उक्त क्षेत्रको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएकाले सरकारले त्यसलाई फिर्ता ल्याउनका लागि कुटनीतिक पहलकदमीमा पर्याप्त ध्यान दिनुपर्ने उनीहरूले बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रानाले उक्त क्षेत्रको नेपाली भूमि फिर्ता ल्याउनका लागि सरकारले दुवै मुलुकसँग बसेर प्रत्यक्ष वार्ता गर्ने कुरामा पनि ढिलाई गर्न नहुने बताए ।

‘लिपुलेकको कुरा छ । हामीले कुटनीतिक नोट पठाएको  कारण छिमेकी मुलुकले चासो देखाउनुपरेको छ । तर एक कदम अघि बढेर हामीले दुवै राष्ट्रसँग बसेर टेबलमा छलफल गर्न आवश्यक छ । त्यो हाम्रो भूमि हो,’ उनले भने, ‘त्यसमा कैलाश मान सरोवर यात्राका लागि त्यसलाई प्रयोग गरिएको भनिएको छ । यसमा हामीले के पनि अघि बढाउनुपर्नेछ भने हाम्रा पौराणिक मान्यताहरूलाई पनि यसमा अघि बढाउनुपर्नेछ । कैलाश दर्शन गर्ने कुरा छ ।’

एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले नेपाली भूमि लिपुलेकबारे भारतीय पक्षले दिएको जवाफ आपत्तिजनक रहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नका लागि सरकारले सबै राजनीतिक दलहरूसँग छलफल गरेर एकीकृत राष्ट्रिय धारणा बनाउन आवश्यक रहेको बताइन् ।

‘अहिलेको यो इस्यूलाई हाम्रो सरकारका प्रधानमन्त्रीज्युले नोट पठाउँदा पनि भारतको विदेश मन्त्रालयबाट आएको गैरजिम्मेवारीपन लाग्छ मलाई । नेपालले यो प्रश्न उठाउनु उपयुक्त छैन भनेर भनेको जवाफमा यसमा हाम्रो सरकारले पनि ठोस एउटा नीति लिएर जानुपर्छ जस्तो लाग्छ,’ उनले भनिन्, ‘यसको बारेमा पहल हाम्रो यो समितिले गर्नुपर्दछ । यसमा हामीले एकीकृत एउटा राष्ट्रिय धारणा बनाएर जानुपर्छ जस्तो लाग्छ मलाई । यसको संयोजन यो समितिले गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

अर्को प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमेशकुमार हमालले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि सरकारले पर्याप्त कुटनीतिक पहल गर्न आवश्यक रहेको बताए ।

‘लिपुलेक नाका प्रयोग गर्ने भारत–चीनको गतिविधिबारे सरकारले असहमती जनाएको कुरालाई मैले सकारात्मक रुपमा लिएको छु । तर त्यतिले मात्रै पर्याप्त हुँदैन । हामीले हाम्रो जुन भूभागहरू उल्लेख गरिएका छन् । त्यो फिर्ता लिनका निमित्त कुटनीतिक प्रयास गर्नुपर्दछ,’ उनले भने ।

सांसद हमालले सरकारले सीमा क्षेत्रमा भएका अतिक्रमण रोक्नका लागि विगतका सरकारले गरेका पहलहरूलाई ध्यानमा राखेर अघि बढन उपयुक्त हुने राय समेत राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?