News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकन च्याम्बर अफ कमर्स इन नेपालका प्रतिनिधिमण्डलले वासिङ्टन डीसीमा अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लन्डौसँग नेपाल–अमेरिका आर्थिक सम्बन्ध सुदृढ गर्ने विषयमा भेटवार्ता गरेको छ।
- उपविदेशमन्त्री लन्डौले राजनीतिक नेतृत्व परिवर्तन भइरहने भए पनि निरन्तर नीतिगत ढाँचा र दिगो आर्थिक कूटनीतिले दीर्घकालीन समृद्धि ल्याउने कुरामा जोड दिएका थिए।
- अमच्याम नेपालले सेलेक्ट युएसए समिटमा नेपालको ऐतिहासिक सहभागितालाई सम्भव बनाउन अमेरिकी विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयको निरन्तर साझेदारीप्रति आभार व्यक्त गरेको छ।
२५ वैशाख, काठमाडौं । सेलेक्ट युएसए इन्भेस्टमेन्ट समिटमा सहभागी हुन वासिङ्टन डीसी पुगेको अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल) को प्रतिनिधिमण्डलले संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री क्रिस्टोफर लन्डौसँग विशेष भेटवार्ता गरेको छ ।
पूर्व कूटनीतिज्ञ तथा मेक्सिकोका लागि पूर्व अमेरिकी राजदूतसमेत रहेका उपविदेशमन्त्री लन्डौले नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई सुदृढ गर्ने विषयमा आफ्नो दृष्टिकोण राखेको अमच्याम नेपालले जनाएको छ ।
राजनीतिक नेतृत्व परिवर्तन भइरहने भए पनि निरन्तरको नीतिगत ढाँचा र दिगो आर्थिक कूटनीतिले नै दीर्घकालीन समृद्धि ल्याउने कुरामा उनले जोड दिएका थिए । अमच्यामको विज्ञप्तिमा लान्डौंको भनाइ उद्धृत गर्दै भनिएको छ, ’नेपाल मेरो हृदयमा छ र म कुनै दिन त्यहाँ भ्रमण गर्न चाहन्छु ।’
अमच्याम नेपालका कार्यकारी निर्देशक अमिर आर. थापाको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलले उपविदेशमन्त्री लन्डौलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिएको थियो । भेटमा प्रतिनिधिमण्डलले अमच्याम नेपालको बढ्दो प्रभावबारे जानकारी गराउँदै हाल १४ वटा क्षेत्रका ६६ वटा अमेरिकी-सम्बद्ध कम्पनीहरूको प्रतिनिधित्व गरिरहेको र यसले द्विपक्षीय व्यावसायिक संलग्नतालाई विस्तार गरिरहेको बताएको थियो ।
अमच्याम नेपालले सेलेक्ट युएसए समिटमा नेपालको ऐतिहासिक सहभागितालाई सम्भव बनाउन अमेरिकी विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयले गरेको निरन्तर साझेदारी र सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
समिटको एक विशेष सत्रमा विलियम किमिटले सम्बोधन गर्दै मजबुत नीतिगत वातावरण, नवप्रवर्तन र बजारको अवसरलाई औंल्याउँदै अमेरिकालाई प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए ।
यसैबीच, अमच्याम नेपालले नीतिगत स्थिरता, निजी क्षेत्रको नेतृत्व र उद्यमका लागि अनुकूल वातावरणमार्फत नेपालको लगानीको वातावरण सुधार गर्न आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । ‘सेलेक्ट युएसए’ जस्ता मञ्चहरूले नेपाल र अमेरिकाबीच लगानी र सहकार्यका नयाँ अवसरहरू खोल्न तथा विश्वसनीय साझेदारी निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ ।
समिट र भेटवार्तामा नेपालको तर्फबाट सितेश भट्टराई, अभय पौडेल, सबिन थापा, अनिश श्रेष्ठ रदिनेशसिलवालसहभागीथिए।
प्रतिक्रिया 4