News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले अमेरिकामा दुर्लभ श्वेताँखीभौं चराको खोजी गरी ५३३औं लाइफर भेटेको अनुभव सुनाए।
- भँगेरा चराहरूमा प्रजननमा फरक रंगका भाले र पोथीले गुँड रक्षा र हेरविचार गर्ने व्यवहार उल्लेख गरियो।
- क्याम्ब्रिज विश्वविद्यालयको अध्ययनले चराहरूले आफ्नो प्रतिबिम्ब चिन्न सक्ने सम्भावना र गीत सिकाइमा भिन्नता देखाएको छ।
आइतबार बिहान निद्रा खुल्न नपाई फोनमा आँखा गयो। मेरो फोनमा दुई–चार वटा महत्त्वपूर्ण याप बाहेक खासै कुनै यापको पनि नोटिफ़िकेसन अन छैन। अन भएका मध्येमा एउटा हो– ग्रुप मि। डिस्कर्ड जस्तै यो याप मेसेज गर्नको लागि प्रयोग हुन्छ र यहाँ चरा हेर्नेहरूले धेरै जसो त्यही याप प्रयोग गर्छन्।
ग्रुप मिमा पनि हत्तपत्त मेसेज आउँदैन, केही अनौठो वा दुर्लभ चरा आएको खण्डमा आउँछ। त्यहाँ नोटिफ़िकेसन देख्न नपाई मेरो निद्रा खुल्यो। हतारहतार के रहेछ भनेर हेरें। गारगने इन सदर्न मिनेसोटा लेखेको देखें।
गारगने वा नेपालीमा श्वेताँखीभौं एशिया र युरोपमा पाइने चरा हो। अमेरिकामा एकदम दुर्लभ फिरन्ते। लाइफर श्वेताँखीभौं त मैले कोशी टप्पु वन्यजन्तु आरक्षमै देखिसकेको थिएँ, तर अमेरिकाको लागि भने यो चरा लाइफ़र नै हुन्थ्यो। त्यतिबेला मेरो अमेरिकाको लाइफर ५३२ थियो! ५३३ नम्बरको त्यो चराको पछि नलागी भएन भनेर हामी ३ घण्टा परको त्यो ठाउँतिर लाग्यौं।
हामी त्यहाँ पुग्दा मध्यदिन भइसकेको थियो। एउटा खेतको छेउमा पानी जम्मा भएको ठाउँमा टन्नै हाँसहरू थिए। हामीले सरर्र हेर्यौं। श्वेताँखीभौं देखेनौं। पानी जम्मा भएको ठाउँमा भएका बाँकी हाँस पनि टाढाबाट त्यही श्वेताँखीभौं झैं देखिन्थे। केलाई–केलाई हेर्दै बस्यौं तर भेटेनौं।
केहीबेर पछि एउटा भिन्न झुण्डका हाँसहरू त्यहाँ अवतरण गरे। मैले दूरबिन सरर्र घुमाएर हेरें, सबै उस्तै देखिने हाँसमा एउटा छुट्टै थियो। श्वेताँखीभौं! खोजेको चरा भेटियो !
दुई दिनपछि हामी फेरि चराको खोजीमा हिंड्यौ। स-साना पोखरीहरूमा टन्नै हाँसहरू देखिन्थे। त्यस्तै एउटा पोखरीको अवलोकन गर्दै गर्दा मैले सबिनालाई भनें, “राम्रोसँग हेर्नुपर्छ, के थाहा अर्को पनि श्वेताँखीभौं भेटिन्छ कि?”
त्यो भन्दै गर्दा सबिना भने बेल्चा ठुँडे हाँस भएकोतिर हेर्दै थिइन्। मैले उनलाई त्यहाँ हैन यो टिल वा नेपालीमा विजुलागैरी भएतिर हेर भनें। उनले मलाई किन भनेर सोधिन्।
श्वेताँखीभौं ब्लु विङ्ग्ड टिलको फ़्लकमा हुन्छ!
उनले फेरि सोधिन् “किन त?” अरू चरासँग हुन सक्दैन र ?

मसँग त्यसको ठ्याक्कै उत्तर थिएन। तर, एउटा हदसम्म त्यसको उत्तर सजिलो छ। अरू हाँससँग नहुने सम्भावना धेरै छ। यसरी आफ्नो घर वा रैथाने वासस्थानबाट छुट्टिएर आएका चराहरू धेरै जस्तो आफू जस्तै देखिने वा आफूसँग आकार मिल्ने चराहरूसँग बस्ने गर्छन्। श्वेताँखीभौंको केसमा त्यो ब्लु विङ्ग्ड टिल थियो।
त्यति भन्दै गर्दा मेरो दिमागमा एउटा प्रश्न आयो। चराहरूले आफू कस्तो छु भनेर कसरी थाहा पाउँछन्? हामी जस्तो ऐना हेर्ने भन्ने त पक्कै पनि हुँदैन। र मैले मनमा लागेको कुरा सबिनालाई सुनाएँ।
उनले एकछिन सोचिन् र भनिन् “अब चल्ला हुँदा आफ्नो अभिभावक देखेको हुन्छन् नि” त्यही अनुसार आफू कस्तो छु भनेर थाहा पाउँछन् होला नि!
एक हिसाबले कुरा त ठिकै हो। तर, त्यही ढाँचा अनुसार पनि ठ्याक्कै यो चरा यो हो वा त्यो अर्कै भन्ने चाहिं कसरी थाहा पाउँछन्? भँगेराले धेरै पटक आफ्नो चल्लाहरूलाई गुँड भन्दा बाहिर खुवाएको देखेको छु। धेरैजसो त अन्य भँगेराका चल्लाहरूसँग हुँदा। उनीहरूले आफ्नै चल्ला भनेर कसरी चिन्छन् ? यस्तै कुरा सोच्दै त्यो दिनको अन्त्य भयो। मसँग त्यसको उत्तर थिएन। र बाटोमा अन्य चराहरू देख्न थालेपछि मैले त्यो बारे सोच्न नि छोडें र केही समयपछि बिर्सें पनि।
भोलिपल्ट अफिसमा खाजा खाइसकेर म विश्वविद्यालय वरपर हिंड्न निस्कें। बसाइँसराइको समयमा म हरेक दिन बिहान र साँझ विश्वविद्यालयको एक राउन्ड हान्छु। बसाइँसराइ गरिरहेका चराहरू झ्यालमा ठोक्किएर धेरै मात्रामा मर्ने गर्छन्, त्यही चराहरूको खोजीमा म हिंड्ने गर्छु।
आफ्नो हिंड्ने रुट सकेर अफिस फर्किन लाग्दा मैले एउटा भँगेरा भेटें। अमेरिकामा पाइने नयाँ विश्व भँगेरा, ह्वाइट थ्रोटेड भँगेरा वा सेतो कण्ठे भँगेरा। त्यो बोकेर म अफिसतिर जाँदै थिएँ, नजिकैको कुर्सीमा केही साथीहरू बसेर चिया पिइरहेको देखें। म पनि त्यही बसें र चरा साइडमा राखें।
एउटा साथी त झस्कियो। अर्कोले भने के हो यस्तो भन्यो। मैले बुझाएँ, यस्तो यस्तो चरा हो, झ्यालमा ठोक्किएको। उसले के चरा हो यो भनेर सोध्यो, मैले त्यो पनि सुनाएँ।
चराहरूको कुरा गर्न पाएपछि मन के रोकिन्थ्यो। मैले मेरो कुरा थप्दै भनें:
यो चरामा एउटा साह्रै रोचक कुरा हुन्छ नि ! सबै साथीहरू उत्साहित भएर मतिर फर्के।
यो भँगेराहरूमा आँखाको माथि सेतो वा खैरो रङ भएको हुने गर्छन् र सेतो रङ हुने एकदम रिसाहा र आक्रामक स्वभावका हुन्छन् भने खैरोहरू एकदम शान्त। र प्रजननको बेला सेतो वालाले आफ्नो गुँड वरपर मज्जाले रक्षा गर्छ भने, खैरोवालाले चल्लाहरूको राम्रो हेरविचार गर्छ। र रमाइलो कुरा यिनीहरूले प्रजनन गर्दा अर्को रङको सँग प्रजनन गर्छन्। जसले गर्दा एउटाले गुँडको रक्षा गरोस् र अर्कोले चल्लाहरूको हेरविचार।
त्यति भनेपछि दुई जना साथीहरू, जो वनस्पतिमा काम गर्छन्, छक्क परे। र तीमध्ये एउटाले सोध्यो : तिनीहरूलाई कसरी थाहा हुन्छ आफू कस्तो छु भनेर?
मैले हाँस्दै भने; ठ्याक्कै यही कुरा हिजो सबिना र मैले गर्दै थियौं।
तर, त्यसको जवाफ मसँग छैन। त्यही भन्दै गर्दा मेरो दिमागमा यो चराको केसमा भने उत्तर आयो। यो चराको अग्रेसिभ्नेस वा रिसाहापन भने आनुवंशिक हुने भएकोले गर्दा उसलाई आफ्नो प्रकारको बारे हेक्का हुँदो हो। तर, त्यस्तो नहुने प्रजातिमा भने के हुन्छ भनेर सबिना र मैले ठ्याक्कै कुरा गर्दै थियौं। मैले सबिनाले भनेको वाला कुरा उनीहरूलाई सुनाएँ र उनीहरूले नि त्यो त हो भने। शायद आफ्नो अभिभावक देखेकै भरमा उनीहरूले थाहा पाउँछन् कि?
त्यस्तै कुरा गर्दै गर्दा दिमागमा अर्को कुरा आयो।
आफ्नै अभिभावकसँग हुर्किने चराहरूलाई त पक्कै त्यसरी थाहा होला! तर, ब्रुड प्यारसाइट अर्थात् अर्काको गुँडमा अण्डा पारेर छोडेर जाने चराहरू जस्तै कोइली, उनीहरूको चल्लाहरूलाई कसरी थाहा हुन्छ? उनीहरूले त काग, फिस्टेको गुँडमा अण्डा पार्छन्। तर, गर्मी महिना सकिएर जाडो लाग्न थालेपछि त सबै कोइली आफू जानुपर्ने ठाउँ नै जान्छन्।

कुक्कु कोइलीको केसमा ती चराहरू नेपाल, चीन र भारतबाट अफ्रिकासम्म पुग्छन् र जुनै चराको गुँडमा हुर्केको किन नहोस्, उनीहरू उडेर अफ्रिका नै पुग्छन्। अमेरिकामा पाइने ब्राउन हेडेड काउ बर्डहरू पनि त्यस्तै ब्रुड प्यारासाइटमै पर्छन् र बसाइँसराइ गर्दा सबै हुल बनाएर दक्षिण झर्छन्। उनीहरू आफ्नो होस्ट चराको झुण्डमा नगई आफ्नै चराको झुण्डमा जान्छन्। ती चराहरूलाई चाहिं कसरी थाहा हुन्छ त? र अझै रोचक कुरा त सेक्सुअल डाइमर्फ़िजम उच्च भएका चराहरूमा यो कुरा झन् रोचक हुन जान्छ।
सेक्सुअल डाइमर्फ़िजम भन्नाले भाले र पोथीको रङमा हुने भिन्नता भनेर बुझ्न सकिन्छ, जस्तै डाँफेहरूमा भाले एकदम रंगीन हुन्छ भने पोथी एकदम फिक्का रङको। दक्षिण अमेरिकामा पाइने म्यानाकिन नामका साना चराहरूमा पनि डाइमर्फ़िजम धेरै हुन्छ र यी चराहरूमा प्रजनन पछि भालेहरूको खासै भूमिका हुँदैन। र त्यो हुँदा रंगीन भाले चल्लाले फिक्का रङको पोथी अभिभावक हेरेर म यस्तो छु भनेर कसरी थाहा पाउँछ?
तपाईंहरूलाई लाग्दै होला, त्यही गुँडमा अन्य भाले चल्लाहरू पनि त जन्मिएका होलान् नि भनेर! पक्कै जन्मिन्छन्, तर धेरै चराको चल्लाहरू पहिलो वर्ष ठ्याक्कै पोथी जस्तो हुन्छन् र एक वर्षपछि प्वाँख फेरेर मात्र आफ्नो भाले वा वयस्क रूपको प्वाँख पाउँछन्।

यस्तै कुराहरू दिमागमा राखेर साँझ घर पुगेपछि मैले अध्ययन शुरु गरें। उत्तर सोचे जस्तो सजिलो थिएन, एक हिसाबले जटिल नै थियो। धेरै वैज्ञानिकले यो कुरा बुझ्न प्रयास गरेका रहेछन् र क्याम्ब्रिज विश्वविद्यालयमा गरिएको एउटा अध्ययनमा चराहरूको शरीरमा केही प्रकारको रङ वा स्टिकर टाँसेर उनीहरूलाई ऐना अगाडि राखिएको रहेछ। के उनीहरूले त्यो आफ्नो शरीरमा भएको कुरा हो र त्यसलाई ऐनामा हेरेर निकाल्न सक्छन् त? भनेर जान्नको लागि। तर त्यो अध्ययनबाट पनि खासै निचोड भने निस्किएनछ ! काग र लामपुच्छ्रे चराहरूमा गरिएको त्यो अध्ययनले उनीहरूले ती दुई प्रजातिले चाहिं थाहा पाउँछन् कि भन्ने अनुमान मात्र लगाउन सकेको रहेछन्। पक्कै पनि यो जाँच गर्न सजिलो कुरा भने होइन।

माथि भनिएको ब्रुड प्यारसाइट वाला चरा ब्राउन हेडेड काउ बर्डमा गरिएको एउटा अध्ययनले रोचक तथ्य निकालेको रहेछ।
यी काउ बर्डका पोथीले अन्य चराको गुँडमा अण्डा पार्छन् र जान्छन्। ती चल्लाहरू अरू नै होस्ट प्रजातिसँग हुर्किन्छन् र आफ्नो प्रजाति देखेको पनि हुँदैनन्। त्यसरी नै अण्डाबाट निस्किएका चल्लाहरूलाई, उनीहरूले पहिलो पटक केही प्रकारको गीत सुन्नु अगाडि नै वैज्ञानिकहरूले ल्याबमा लगेर हुर्काएछन् र ती चल्लाहरूलाई दुई भिन्न प्रकारका गीतहरू सुनाएछन्।
एउटा समूहलाई कनेरी चराको र काउ बर्डकै “च्यटर” कल र अर्कोलाई कनेरी चरा र ढुकुरको कु कु !
उनीहरूको अपेक्षा अनुसार त्यो काउ बर्डको च्याटर कलले एक प्रकारको पासवर्ड जस्तो काम गर्थ्यो। र त्यो सुनेपछि उनीहरूलाई एउटा सन्देश जान्छ भन्ने, हुन्थ्यो: ए तिमी काउ बर्ड हो है! र यो तिम्रो गीत हो!
उनीहरूको अध्ययन अनुसार जुन चराहरूले कनेरीको गीत र काउ बर्डको च्याटर सुने, ती चराहरूले कनेरीको गीत पनि मज्जाले गाउन सिकेको पाइयो भने कनेरीको गीत र ढुकुरको कु कु सुन्ने चराहरूले गीत गाउन राम्रोसँग सिकेनन्। र त्यति मात्र नभएर उनीहरूको मस्तिष्कमा भएको जिन गतिविधि हेर्दा काउ बर्डको च्याटर सुनेका भाले चराहरूमा स्मृति र सिक्न सक्ने क्षमतासँग जोडिएको भागमा सक्रियता देखियो। र पोथी चराहरूले पनि काउ बर्डको च्याटर सुनेको खण्डमा त्यो गीत सुन्दा उनीहरूको मस्तिष्कको भाग सक्रिय भएको देखियो भने कनेरी र ढुकुरको गीतमा उनीहरूको त्यो भाग निष्क्रिय देखियो।

शायद अन्य चराहरूमा पनि यस्तै केही उपाय हुँदो हो कि?
मेरो सोसल मिडियामा लेखेको एउटा पोस्टमा एक जनाले कतै पानीतिर वा टल्किने सतहमा उनीहरूले आफ्नो प्रतिबिम्ब देखेर थाहा पाउँछन् कि ? भनेर सोध्नुभएको रहेछ। त्यो पनि कुरा त तार्किक छ। तर, धेरै प्रजातिका चराहरूमा उनीहरूले ऐना वा आफ्नो प्रतिबिम्ब देखिने त्यस्तो वस्तुहरूमा उडेर हानिरहेको देखिन्छ। एक हिसाबले उनीहरूलाई त्यो मै हो भनेर थाहा पनि हुँदैन। यो कुरा फेरि आफैंमा रोचक छ।
यस कुराको निश्चित उत्तर भने पाइएन र धेरै वैज्ञानिक पनि यस कुरामा अलमलिएको पाएँ। शायद कुनै दिन यसबारे थाहा होला कि?
प्रतिक्रिया 4