१३ पुस, रुकुमपूर्व । जैविक विविधताको दृष्टिले लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व चराचुरुङ्गीका लागि उपयुक्त मानिन्छ ।
जिल्लामा १३७ प्रजातिका चराचुरुङ्गीको उपस्थिति रहेको तथ्याङ्क छ । तर, बढ्दो मानवीय गतिविधि र वातावरणीय परिवर्तनले उनीहरूको वासस्थान भने संकटमा छ ।
वन विज्ञान अध्ययन संस्थानका अनुसन्धानकर्ता विभूषण दाहाल र डिभिजन वन कार्यालय रुकुमपूर्वको टोलीले ६ महिना लगाएर गरेको अध्ययनले जिल्लाको चराचुरुङ्गीको अवस्था र चुनौतीबारे पत्ता लगाएको बताएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख गणेशबहादुर खड्काका अनुसार अध्ययनका क्रममा १६ अर्डर र ४७ परिवारका चराहरू फेला परेका छन् । जसमा सबैभन्दा बढी ‘पासेरिफॉर्मेस’ अर्डरका चराहरू रहेका छन् ।
स्थायी प्रजातिका ९४ प्रजाति जिल्लामै वर्षभरि बस्ने गरेका छन् भने हिउँदे आगन्तुक ३४ प्रजातिका रहेका छन् । यस्तै गर्मीमा ३ र बाटो प्रयोग गर्ने (पैसेज) ६ प्रजाति भेटिएको खड्काले बताए ।
अध्ययनले १३ सय देखि १८ सय मिटरको उचाइमा चराहरूको विविधता सबैभन्दा बढी (३.७६३) र औसत संख्या ५.२३४ रहेको देखाएको छ। यद्यपि, ९ सय ८५ देखि १३ सय मिटरको उचाइमा भने चराहरूको बासस्थान निकै कम पाइएको अनुसन्धानकर्ता दाहालले जानकारी दिए ।
अध्ययनले चराचुरुङ्गीको विविधता धनी भए पनि मानवीय हस्तक्षेपका कारण उनीहरूको जीवन चक्र खतरामा परेको औंल्याएको छ ।
मध्यपहाडी राजमार्गको निर्माण, अव्यवस्थित बस्ती विस्तार र कृषिको विस्तारले प्राकृतिक जंगलहरू टुक्रिँदै गएका छन् ।
सडक र सवारी चापसँगै भित्रिएका लान्टाना र वनमारा जस्ता मिचाहा वनस्पतिले स्थानीय घाँसपात र चराको आहार विस्थापित गर्दै लगेका छन् ।
अनुसन्धानले रुकुमपूर्वको यो प्राकृतिक सम्पदा जोगाउन तत्काल ‘लक्षित संरक्षण योजना’ र ‘दिगो विकास रणनीति’ अपनाउन सुझाव दिएको स्रोतले बताएको छ ।
यदि समयमै वासस्थान जोगाउनेतर्फ ध्यान नदिने हो भने धेरै दुर्लभ प्रजातिहरू जिल्लाबाट हराउन सक्ने चेतावनी अध्ययनले दिएको छ ।






प्रतिक्रिया 4