News Summary
Generated by OK AI. Editorially reviewed.- चराहरूले हरेक वर्ष वसन्त र शरद ऋतुमा बसाइँसराइ गर्छन् र नेपालका तालहरू उनीहरूको विश्रामस्थल हुन्।
- काठमाडौं उपत्यकाका तालहरूमा विकास र कङ्क्रिट पर्खालले चराहरूको वासस्थान मासिँदै गएको छ।
- तालतलैयामा हल्लाखल्ला र बोटिङ्गले चराहरूको विश्राममा असर पुर्याउँछ र उनीहरूको जीवन जोखिममा पर्छ।
‘अतिथिदेवो भव:’ हाम्रो सभ्यता र संस्कृतिमा जोडिएको एउटा बहुप्रचलित वाक्यांश हो, जसको अर्थ हुन्छ– “पाहुना भगवान् हुन्!”
आफ्नो आफन्त होस् वा साथीभाइ वा साथीभाइका आफन्त वा साथी नै किन नहोस्, हामी सबैले आफ्नै झैं गरेर घरमा स्वागत पक्कै पनि गर्छौं। घर–आँगनमा स्वागत मात्र हैन परेको बेला मद्दत गर्न पनि पछि हट्दैनौं। सोचेरै होस् वा नसोचेर अतिथिदेवो भव: हाम्रो मनमस्तिष्कमै रहेको सोच हो, विचार हो र एउटा अभ्यास पनि हो।
तर, त्यही भन्दै गर्दा कहिलेकाहीं हामी कहाँ गएर चुक्छौ भने, अतिथिदेवो भव:लाई हामीले मान्छेको जातिमै मात्र सीमित राख्छौं। खासमा यो कुरा अन्य जीवहरूको लागि पनि लागू हुनुपर्ने कुरा हो।
कुरा गरौं चराहरूको। चराका प्रजाति हेरेर हरेक वर्ष दुई पटक चराहरू बसाइँसराइ गर्छन्। यो बसाइँसराइको चलन आजभन्दा २०-५० हजार वर्ष अगाडिदेखि हुँदै आएको कुरा हो। मानव जातिले हाम्रो क्षेत्रलाई घर भन्नु अगाडिदेखि चराहरू त्यहाँ रहेका विभिन्न ताल–तलैया, खोला–नालालाई घर बनाएर आवतजावत गर्दै आइरहेका छन्।

जब हामीले विभिन्न क्षेत्रमा विकास गर्दै घर–आँगन, विभिन्न संरचना, कृषिको लागि जग्गाहरू छुट्याउँदै गयौं, त्यही अनुसार उनीहरूको वासस्थान मासिंदै गए। विकास गर्न नै हुँदैन भन्ने पक्कै होइन। विकास चाहिन्छ तर, त्यही भन्दै गर्दा एउटा याद राख्नुपर्ने कुरा के हुन्छ भने, यो पृथ्वी हाम्रो मात्र नभएर सबै जनावर, बोटबिरुवादेखि लिएर सूक्ष्म जीवसम्मको हो।
हामी धेरै विकसित भएर आफ्नो हिसाबले काम गर्दै जाँदा उनीहरूको बारे र उनीहरूको हकको लागि पनि हामीले बोल्दिन जरूरी हुन्छ। किन ? किनकि उनीहरूले बोल्न र आफ्नो दु:ख पोख्न सक्दैनन्। तर, हामीले त्यो कुरा पक्कै पनि देख्न सक्छौं।
म आफैंले चराहरू हेर्न थालेको धेरै भएको छैन। २००७ को विश्व सिमसार दिवसमा टौदहमा गएर पहिलो पटक चरा हेरेपछि मलाइ बर्डिङ्गमा रुचि हुन थालेको हो। त्यसबेला पनि टौदह क्षेत्रमा अलि–अलि विकास त भइसकेको थियो। मभन्दा धेरै अगाडिदेखि चरा हेर्नेहरूले जस्तो चरा त मैले पनि पक्कै देखिनँ।
त्यही भन्दै गर्दा म सन् २०२२ मा र फेरि २०२४ मा टौदह जाँदा त त्यहाँ चरा खोज्न नै गाह्रो पर्ने अवस्था थियो। फाट्टफुट्ट केही हाँसहरू र अलि–अलि जलेवा बाहेक धेरै केही देखिंदैनथ्यो।

हामी चिया खान भनेर टौदह भित्रै रहेको एक जना आमाको पसलमा बस्दा उहाँले भन्नुभयो, “पहिले कति धेरै चराहरू आउँथे, आजकल त छैन।”
आउन् पनि किन! त्यहाँ जानुभन्दा पहिले चराहरू किन बसाइँसराइ गर्छन् भन्ने कुरामा एकछिन जाऊँ।
चराहरूको प्रजाति हेरेर हरेक वर्ष उनीहरू दुई पटकसम्म बसाइँसराइ गर्छन्। एकपटक वसन्त ऋतुमा र अर्को शरद ऋतुमा। धेरै जस्तो चराहरू वसन्त ऋतुमा प्रजनन् गर्नको लागि उत्तर लाग्छन्। दक्षिणमा सधैं राम्रो वातावरण हुने गर्छ र स्रोतहरू पनि राम्रो मात्रामा हुने गर्छ।
जसको अर्थ त्यहाँ विविधता र सङ्ख्या पनि धेरै हुने गर्छ। तर वसन्त ऋतुदेखि लिएर गर्मी महिनामा उत्तरमा पनि विभिन्न प्रकारका स्रोतहरू हुन्छन् र ती स्रोतहरूको उपयोग गर्ने जीव धेरै हुँदैनन्। त्यही स्रोतहरू र थोरै प्रतिस्पर्धाको आसमा ती चराहरू उत्तरतिर लाग्छन्। वसन्त ऋतुमा उत्तरमा धेरै उज्यालो पनि हुने गर्छ, अर्थात् दिन लामो हुने गर्छ।
प्रजाति हेरेर कुनै चराहरू धेरै परसम्म बसाइँसराइ गर्छन् भने कुनै चराका प्रजातिहरूले थोरै दूरीको बसाइँसराइ पनि गर्न सक्छन्। जस्तै हिमाली भेगबाट तराईसम्म मात्र झर्ने चाँचर र केही फिस्टे चराहरू।
नेपालका ताल-तलैयामा आउने धेरै हाँसहरू भने साइबेरिया, युरोपका उत्तरी भेग, मङ्गोलिया र चीनका उत्तरी भेगमा प्रजनन् गर्ने चराहरूमा पर्छन्। यिनीहरू प्रजनन् सकेपछि जाडो महिना छल्नको लागि भनेर नेपाल लगायत भारत, बङ्गलादेश र श्रीलङ्कासम्म पनि जान सक्छन्।
अब कुरा आयो पहिले जस्तो चराहरू किन देखिंदैनन् भन्ने! मलाई धेरै जनाले हाम्रो देशमा जङ्गल र पानीको कमी छैन, तैपनि चराहरू भने किन हराउँदै गए भन्ने प्रकारको प्रश्न सोध्ने गर्छन्। त्यो कुराको उत्तर दिनको लागि चराहरूको बानी–व्यवहारको बारे कुरा गर्न जरूरी हुन्छ। पानी र तालसँग जोडिएको कुरा भएकोले गर्दा म चराहरूको उदाहरण पनि त्यसमै सीमित राख्छु।
पहिले जाऊँ हाँसतिर! हामी मानिसहरूको झैं सबै चराहरूको पनि आफ्नो–आफ्नो बानी र रोजाइ हुन्छ। र सबै हाँसहरूलाई उही खानेकुरा वा उस्तै पानीका स्रोतहरू मन पर्दैनन्। र; त्यही अनुसार हाँसहरूलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ :
ड्याबलिंग र डाइभिङ्ग
ड्याबलिङ्ग भन्नाले पानीको सतहमा बसेर आहार खोज्ने हाँस भनेर बुझ्न सकिन्छ। पोखरी वा तालमा टाउको पानी मुनि र पछाडिको भाग उठेको हाँस देख्नुभएको छ भने ती ड्याबलिङ्ग हाँसहरू हुन् र उनीहरू पानीभित्र छिरेर आहारा खोज्दैनन्। यस्तो हाँसहरूलाई धेरै गहिरो नभएको पानीको स्रोत चाहिने हुन्छ ।
त्यसैगरी डाइभिङ्ग हाँस भन्नाले पानीभित्र पसेर आफ्नो आहारा खोज्ने हाँसहरू भनेर बुझ्न सकिन्छ। उनीहरू पानीभित्रै पसेर त्यहाँ रहेका कीराफट्याङ्ग्रा, माछा, घोंगी अथवा पानभित्र पाइने वनस्पतिहरू खाने गर्छन्। र यस्ता हाँसहरूलाई भने अलि गहिरो पानीको स्रोत चाहिन्छ।
जाडो छल्न नेपाल आउने हाँसहरूमध्ये सुईरोपुच्छ्रे, खडखडे, सिन्दुरे, हरियो टाउके, बेल्चाठूँडे ड्याबलिङ्ग हाँसमा पर्छन्। यी सबै हाँसहरूले सामान्यतया ५० सेन्टिमिटर भन्दा थोरै गहिराइ भएको ताल वा तलैयाहरू रुचाउँछन्। ड्याबलिङ्ग हाँसहरूको चुच्चोको छेउ–छेउमा काइँयोमा हुने जस्तो धार भएको हुन्छ जसलाई ल्यामेला भनिन्छ।
यस्ता हाँसहरूमा धेरै फिल्टर फिडर हुन्छन् अर्थात् धेरै गहिरो नभएको पानी माथि बसेर उनीहरूले त्यहाँ वा त्योभन्दा तल रहेको माटोबाट आहारा खोज्ने गर्छन्। र यस्ता प्रजातिलाई थोरै गहिराइ भएको र माटो पनि भएको पानीको आवश्यकता हुन्छ।
कालीजुरे, कैलोटाउके, मालक हाँसहरू भने डाइभिङ्ग हाँसमा पर्छन्। यी हाँसहरूको प्रजाति हेरेर यिनीहरूले ५० सेन्टिमिटरदेखि १८० सेन्टिमिटर वा त्योभन्दा धेरै गहिराइ रुचाउँछन्। तीमध्ये कालीजुरे हाँसले त झन् १० देखि ४० फिटको गहिराइ रुचाउँछन् र एक पटकमा २० सेकेन्डसम्म पानीमुनि बस्न सक्छन्।

त्यसैगरी नेपालका हिमालभन्दा माथि उडेर हाम्रो देशको पानी खोज्दै आउने खोया हाँस त झन् ससारभरि प्रचलित छ। यो हाँसलाई पनि थोरै गहिराइ भएको पानी नै मन पर्छ।
यो रह्यो हाँसहरूको कुरा ! तर पानीमा बस्ने सबै हाँस हुँदैनन्। खासमा हाँस जस्तै देखिए पनि कति पानीमा बस्ने चरा वास्तवमा हाँस नहुन पनि सक्छन्।
यसको उदाहरण हो डुबुल्की चरा, जलेवा र मरुल। मरूलहरूले पनि डाइभ गर्न सक्छन् र उनीहरूले लगभग २३ फिटसम्मको गहिराइमा गएर आहारा खोज्न सक्छन्। डुबुल्की चरा पनि हेर्दा हाँस जस्तो लाग्न सक्छ तर त्यो हाँस भने होइन। सिउरे डुबुल्की चरा त झन् १०-१२ फिटको गहिराइसम्म गएर खाना खोज्न सक्छ। र धेरै जनाले चिन्ने चरा जलेवालाई पनि कम्तीमा पनि १ फिटभन्दा धेरै गहिराइ भएको तालहरू चाहिने गर्छ।
रोचक कुरा त त्यो जलेवाहरूमा अरू चराहरूमा जस्तो वाटर प्रुफ प्वाँखहरू हुँदैन। यसको कारण के भने, उनीहरू पानीमुनि पसेर आहारा खोज्ने चराहरू परे, र यदि प्वाँख वाटर प्रुफ हुने हो भने उनीहरू पानीमा अलि तैरिने भए, त्यस्तो हुन नदिन उनीहरूको प्वाँख अलि हलुका किसिमले जोडिएर बसेको हुन्छ जसले गर्दा त्यो सजिलै भिज्छ।
त्यसैले गर्दा जलेवाहरू तालको नजिकै भएको रूखहरूमा पखेटा फिंजाएर बसेको देखिन्छ। यी चराहरूलाई त अलि गहिरो ताल र वरपर ओत लाग्ने रूख वा कुनै प्रकारको टोड्काको पो पनि जरुरत हुन्छ।
अब एकछिन जाऊँ हाँस छोडेर हाम्रो पानीको स्रोतहरूलाई केही महिनाको घर बनाउने अरू चराहरूतिर। पानी वा पानीको स्रोत वरपर बस्न रुचाउने ती साना चराहरूलाई अङ्ग्रेजीमा ‘शोर्बर्ड्स’ भन्ने गरिन्छ ।

नेपालीमा भन्नु पर्दा हुट्टिट्याउँको सन्तान! पानीको किनारा वा थोरै गहिराइ भएको पानीमा आहारा खोज्दै हिंड्ने यी चराहरू जलवायु परिवर्तनका साथसाथै मानवजन्य परिवर्तनहरूको कारण मासिंदै गएको आफ्नो वासस्थानको कारण संसारभरि नै एकदमै प्रभावित चराहरूमा पर्छन्। पानीको किनारमा तर पानीमै खुट्टा डुबाएर आहारा खोज्ने यी चराहरूलाई ‘वेडर्स’ पनि भन्ने गरिन्छ।
त्यति मात्र नभएर नेपालमा फ्यालफ्याले चरा, गंगाचील लगायत अन्य चराहरू पनि जाडो छल्ने क्रममा नेपाल पस्ने गर्छन्। बसाइँसराइ गर्ने सबै चरा बस्छन् नै भन्ने पनि हुँदैन। र त्यो कारणले पनि यी तालहरू उनीहरूको लागि महत्त्वपूर्ण हुने गर्छन्।
बीचमा यसरी रोकिएर जाने ठाउँ लाई ‘स्टप ओभर’ साइट भन्ने गरिन्छ, जहाँ रोकिएर उनीहरूले ऊर्जा जम्मा गरेर अलि अलि वजन बनाएर फेरि उड्ने गर्छन्। यी चराहरूले धेरै वर्षदेखि गर्दै आएको यो यात्रामा उनीहरूले नेपालको यो-यो ठाउँमा बस्ने व्यवस्था छ भन्ने योजना अनुसार उडेका हुन्छन् र यहाँ आउँदा सोचेको जस्तो ठाउँ नभेटेको खण्डमा उनीहरूलाई गाह्रो पर्न जान्छ।
ताल वा तलैयाको वरपरको किनार वा ‘बिच’ हरूमा आफ्नो आहारा खोज्ने वासस्थान भएका यी चराहरूको लागि काठमाडौंमा धेरै ठाउँ बाँकी छैनन्। टौदह, नागदह जस्ता स-साना तालहरू कङ्क्रिटको पर्खालले बारीदिनाले यी चराहरू लगायत धेरै हाँसहरूलाई पनि गाह्रो हुन्छ।
काठमाडौं उपत्यकामा मनहरा किनारमा राम्रो मात्रामा देखिने यी शोबर्ड्स अन्य ठाउँमा खोज्न गाह्रो पर्छ। त्यही भन्दै गर्दा त्यो क्षेत्रमा बन्न गइरहेको कोरिडोर रोडको कारण त्यहाँ रहेको वासस्थान पनि मासिने हो कि भन्ने कुरा आउँछ।
यदि त्यहाँ पनि कङ्क्रिटको बार लागेर खोलालाई सानो बनाइने हो भने ती शोर्बर्ड्सले पनि ठाउँ पाउने छैनन्। तस्बिरमा देखाइएको लघु राज पुत्रिका, अलकचन्द्र राज पुत्रिका, चन्चले सुड्सुडीयाहरू हजारौं किलोमिटरको आफ्नो यात्रा सकेर नेपाल पस्दा खान र केही समय बिताउनलाई राम्रो वासस्थान नपाउने अवस्थामा पुग्छन्।
केही दिन अगाडि नागदहमा बन्न गइरहेका संरचनाले पनि कस्तो असर पर्ने हो भन्ने कुराहरू अगाडि आइरहेको देखेको थिएँ। कता कता त नागदहको माटो पनि झिकेर ‘सफा’ गर्ने रे भनेको देखें। धेरै जस्तो माथि भनिएका वेडर र मरूल जस्ता चराहरूलाई अलि अलि माटो वा थोरै पानीले पुरिएको माटो चाहिन्छ, जहाँ उनीहरू हिंड्दै वा अलि अलि तैरिएर आहारा खोज्ने गर्छन्।
जलअप्सरा जस्ता चराहरूलाई त झन् तैरिरहेको वनस्पति चाहिन्छ। सोसल मिडियामा आएको केही पोस्टको अनुसार नागदहमा भएको कमलको फूल लगायत अन्य पानीमा फुल्ने वनस्पतिहरू पनि हटाइने भन्ने बुझेको छु।
फेरि पनि के दोहोर्याउन चाहन्छु भने, विकास गर्नुपर्छ, तर विकास यसरी हुनु पर्यो कि त्यसले सबै जीव र प्राणीहरूलाई पनि ठाउँ देओस्! ती चराहरूलाई उनीहरूले जमानादेखि प्रयोग गर्दै आएको वासस्थानको एकदम धेरै जरुरत छ।
अझ धेरै जरुरत त ती किशोर चराहरूलाई छ जसले पहिलो पटक त्यो लामो यात्रा गरेर नयाँ ठाउँ पुगेका हुन्छन्। उनीहरूलाई लाग्दो हो आफू पुग्ने गन्तव्यमा वासस्थान र खाना टन्नै छ। थाकेर हाम्रो तालमा पुगेका ती चराहरूले वासस्थान र खाना पर्याप्त रूपमा नपाउँदा शायद आफ्नो यात्रा फेरि सुचारु गर्न पनि नसक्लान्, खानेकुरा आफ्नो ठाउँमा छ।
बस्नलाई राम्रो वासस्थान पनि नहुँदा त ती पाहुना कति निराश होलान्? आफूलाई चाहिने थोरै गहिरो भएको अलि अलि किनारा भएको तालहरू नपाउँदा उनीहरूलाई कहाँ जानु हुँदो हो। प्रजाति हेरेर त्यसरी पहिलो पटक बसाइँसराइ गर्ने किशोर चराहरूमा खानाको अभावले मृत्युदर ३५-४० प्रतिशतसम्म पुग्ने गरेको देखिन्छ। यसमा ठूलो हात चाहिं वासस्थान मासिनु नै पर्छ।
चराहरूले त सधैं झैं आफ्नो चक्रीय रूपमा बसाइँसराइ गर्छन्, उनीहरूको टाइमिङ अनुसार चिसो कम भएर कीराफट्याङ्ग्रा निस्किन सुरु गरिरहेको समयमा उत्तर पुग्छन् भने माथि चिसो हुन थालेको अवस्थामा दक्षिण। उनीहरूसँग त विकल्प छैन।
विकल्प छ त हामीसँग! तालतलैयामा हल्लाखल्ला, बोटिङ्गले गर्दा आफू विश्राम गर्न नपाउनुले कति असर गर्ला? रातभरि उडेर हिमाल पार गरेर नेपाल आउँदा विश्राम गर्ने ठाउँमा आफू बस्न नपाउँदा कस्तो लाग्ला? त्यसमाथि त्यति लामो यात्रा गरिसकेर फेरि उड्न पनि गाह्रो होला !
त्यसैले हामीले आफ्ना तालहरू विकास गर्दा यस्तो सबै सोचेर गर्दा कस्तो होला? बसाइँसराइको बेला उनीहरूलाई शान्तसँग हाम्रा तालहरू प्रयोग गर्न दिएको खण्डमा उनीहरूलाई अतिथिदेवो भव:को भावनाले पनि छुन्छ होला। त्यसैले अतिथिदेवो भव:को भावना हाम्रा चराहरूमा पनि लागू होस्।

प्रतिक्रिया 4