+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

गोप्य भिडियो बाहिरिएसँगै अमेरिकी रक्षामन्त्रीलाई लाग्यो हत्या आरोप, संकटमा पद

पीट हेगसेथ विवादमा परेको यो पहिलो घटना होइन। गत मार्चमा उनले सिग्नल एपमा रहेको गोप्य ग्रुप च्याटमार्फत यमनमा हुथी विद्रोहीहरूमाथि अमेरिकी हमलाको योजना सार्वजनिक (लिक) गरेका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते ८:४५

२४ मंसिर, काठमाडौं । अमेरिकी रक्षामन्त्री पीट हेगसेथमाथि दुई व्यक्तिलाई जानाजानी मारेको गम्भीर अभियोग लागेपछि उनको पद धरापमा परेको छ।

क्यारेबियन सागरमा ड्रोन हमला गरी मानिसहरूलाई मारिएको भनिएको ४० मिनेट लामो गोप्य भिडियो बाहिरिएपछि उनीमाथि दबाब बढेको हो। यस घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हेगसेथविरुद्ध कारबाही गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ । विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरूले उनको राजीनामा मागिरहेका छन्।

अमेरिकी संसद (कंग्रेस) ले रक्षा मन्त्रालयलाई उक्त आक्रमणको सम्पादन नगरिएको फुटेज उपलब्ध गराउन सशक्त दबाब दिइरहेको छ। यसै क्रममा संसदले पेन्टागन प्रमुख हेगसेथको भ्रमण खर्च २५ प्रतिशतले कटौती गर्ने निर्णयसमेत गरेको छ।

भएको के हो ?

राष्ट्रपति ट्रम्पले घोषणा गरेको लागूऔषध विरुद्धको अभियान अन्तर्गत भेनेजुएला र दक्षिण अमेरिकी राष्ट्रहरूबाट लागूऔषध बोकेर आउने तस्करहरूलाई अमेरिकाले निशाना बनाइरहेको छ। ट्रम्पले उनीहरूलाई ‘नार्को टेररिस्ट’ को संज्ञा दिएका छन्।

यसै अभियान अन्तर्गत, सेप्टेम्बर २ मा अमेरिकी सेनाले क्यारेबियन सागरमा एउटा डुङ्गामाथि ड्रोन आक्रमण गर्‍यो। वासिंगटन पोस्टको एक प्रतिवेदनले जनाएअनुसार, रक्षामन्त्री हेगसेथले डुङ्गामा सवार सबै मानिसहरूलाई मार्ने आदेश दिएका थिए।

सो डुङ्गामा ११ जना सवार थिए। पहिलो ड्रोन प्रहारबाट ९ जनाको मृत्यु भयो र २ जना घाइते भए। लगत्तै गरिएको दोस्रो हमलाबाट बाँकी दुई जना पनि मारिए।

रक्षा मन्त्रालय (पेन्टागन) को तथ्याङ्क अनुसार, लागूऔषध तस्करहरूविरुद्ध अहिलेसम्म कुल २१ ड्रोन प्रहार गरिएको छ, जसमा ८२ जनाको ज्यान गइसकेको छ। यद्यपि, मारिएका ती व्यक्तिहरू लागूऔषध तस्कर नै थिए भनी प्रमाणित भने भइसकेको छैन।

निहत्था व्यक्तिहरूमाथि आक्रमणको भिडियो

अमेरिकी कांग्रेसको एउटा समितिले डिसेम्बर २ मा उक्त ड्रोन आक्रमणको सम्पूर्ण भिडियो हेरेपछि घटनालाई ‘अत्यन्त भयावह’ भनेको छ। समिति सदस्यहरूका अनुसार, निहत्था रहेका दुई व्यक्ति ज्यान जोगाउन मद्दत मागिरहेका बेला पनि अमेरिकाले उनीहरूलाई मारेको छ ।

भिडियो फुटेजमा दुई जना मानिस लुगा नलगाई (शर्टलेस) डुङ्गाको फुटेको भाग समातेर पानीमा तैरिरहेको र हात माथि उठाएर आत्मसमर्पणको सङ्केत दिएको देखिन्छ। यसैबीच, एडमिरल फ्र्याङ्क ब्रैडलीले फेरि आक्रमण गर्न आदेश दिएको देखिन्छ।

दोषीलाई बचाउ

हेगसेथले शुरुमा आफूले हमला प्रत्यक्ष (लाइभ) देखेको स्वीकार गरे पनि पछि आफ्नो बयान परिवर्तन गरेका थिए। उनले दोस्रो हमला गर्ने निर्णयलाई समर्थन गरे पनि त्यसको अन्तिम आदेश भने आफूले नदिएको भन्दै त्यसको जिम्मेवारी एडमिरल फ्र्याङ्क ब्रैडलीमाथि सारेका छन्।

यता, एडमिरल फ्र्याङ्क ब्रैडली डिसेम्बर ४ मा संसदमा उपस्थित भएर हेगसेथले डुङ्गामा सवार सबैलाई मार्न आदेश नदिएको दाबी गरे। दोस्रो हमला गर्नुअघि आफूले कानूनी सल्लाहकारहरूसँग परामर्श लिएको उनको भनाइ छ।

रक्षा मन्त्रालयका अधिकारीहरूले बन्द कोठामा देखाइएको भिडियोको हवाला दिँदै डुङ्गामा कोकिनका झोलाहरू भएकाले त्यो तैरिरहेको र बाँचेकाहरूले मद्दत बोलाएर फेरि तस्करीको प्रयास गर्न सक्ने तर्क प्रस्तुत गरेका थिए। तर, अमेरिकी कानून विज्ञहरूले युद्धका नियमअनुसार घाइते, बेहोस, वा लडाइँमा भाग लिन नसक्ने व्यक्तिमाथि आक्रमण गर्नु युद्ध अपराध मानिने स्पष्ट पारेका छन्।

विगतमा पनि विवादित

पीट हेगसेथ विवादमा परेको यो पहिलो घटना होइन। गत मार्चमा उनले सिग्नल एपमा रहेको गोप्य ग्रुप च्याटमार्फत यमनमा हुथी विद्रोहीहरूमाथि अमेरिकी हमलाको योजना सार्वजनिक (लिक) गरेका थिए। उक्त च्याटमा द अट्लान्टिक म्यागजिनका मुख्य सम्पादक जेफ्री गोल्डबर्ग पनि संलग्न थिए।

यसअघि सन् २०१७ मा एक महिलाले उनीमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन्, जसको क्षतिपूर्तिस्वरूप हेगसेथले महिलालाई ५० हजार डलर दिएका थिए।

द गार्डियन र सीबीएस न्यूजमा प्रकाशित सामग्रीहरू अनुसार, विवादका बावजुद, राष्ट्रपति ट्रम्पले भने सार्वजनिक रूपमा हेगसेथको समर्थन गरिरहेका छन् र ह्वाइट हाउसले आफ्नो राष्ट्रिय सुरक्षा टोलीमाथि ‘पूर्ण विश्वास’ रहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?