News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स इलिमिनेटर खेल्दै छन्।
- इलिमिनेटर खेल त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुनेछ र विजेताले दोस्रो क्वालिफायर खेल्नेछ।
- काठमान्डु विदेशी ब्याटरमा निर्भर छ भने लुम्बिनी नेपाली खेलाडीको प्रदर्शनमा आधारित छ र दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन्।
२३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् ।
त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । किनभने यो नकआउट खेल हो जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ ।
अर्कोतर्फ विजयी हुने टोलीले पनि फाइनलमा स्थान भने बनाउने छैन । फाइनल पुग्नका लागि अर्को एक खुड्किलो पार गर्नुपर्ने हुन्छ, अर्थात् दोस्रो क्वालिफायरमा खेल्नुपर्ने हुन्छ ।
पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । अब त्यही विराटनगरसँग यस इलिमिनेटर खेलको विजेताले भोलि खेल्नेछ ।
काठमान्डुले लुम्बिनीमाथि हालसम्म खेलेका दुवै खेल जितेको छ । काठमान्डुले त्यो दबदबा कायमै राख्न चाहनेछ भने लुम्बिनीले आजको खेल जितेर काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाउने सोचमा हुनेछ ।
यस्तो छ प्रदर्शन
एनपीएलको दोस्रो संस्करणमा दुवै टोलीको प्रदर्शनमा उतारचढाव देखिएको छ । दुवै टोलीले प्रतियोगितामा एकै किसिमको लय देखाउन सकिरहेका छैनन् ।
काठमान्डुले सुरुवाती खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर त्यसपछि दुई खेलमा पराजित हुँदा बाँकी चार खेल जितेर प्लेअफको यात्रा तय गरेको थियो । विराटनगर किङ्ससँग समान १० अंक भएपनि नेट रनरेटमा पछि परेपछि तेस्रो स्थानमा रहेर इलिमिनेटर खेल्न लागेको हो ।
काठमान्डु विदेशी खेलाडीको प्रदर्शनमा बढी निर्भर देखिएको छ । विशेषगरी ब्याटिङमा दुई इंग्लिस खेलाडी बेन चार्ल्सवर्थ र जोन सिम्पसनको प्रदर्शन महत्वपूर्ण देखिएको छ । जेरार्ड एरासमसले पनि मध्यम प्रदर्शन गरेका थिए तर प्लेअफका लागि भने उनी उपलब्ध छैनन् । मिलिन्द कुमारको अलराउन्ड प्रदर्शन पनि काठमान्डुका लागि महत्वपूर्ण छ ।
विदेशी बलरहरू अनुबन्ध नगरेको काठमान्डुलाई बलिङमा नेपाली खेलाडीकै भर छ । पार्ट टाइम स्पीनर मिलिन्द कुमार मात्र विदेशी बलर हुन् । यसबाहेक नेपाली बलरले नै बलिङ गर्नुपर्नेछ र फाइनलसम्म पुग्न उनीहरूले राम्रो बढी मेहेनत गर्नुपर्ने हुन्छ ।
चार्ल्सवर्थले बलरहरूबाट राम्रो प्रदर्शन हुन सकेमा उपाधि जित्न आफूहरू योग्य रहेको बताएका थिए । ‘बलरहरूले राम्रो गरिरहेका छन्, शाहबले पनि गज्जब गरेका छन् यो प्रतियोगितामा । लेन्थ पनि राम्रो छ, कन्सिस्टेन्ट छन्’ उनले भने, ‘योजना अनुसार प्रदर्शन भइरहको छ र हामी उपाधि जित्न आशावादी छौं।’

यता लुम्बिनी लायन्सले सुरुवाती खेलमा चितवन राइनोजलाई हराएपछि लगातार ३ खेलमा पराजित हुँदा अन्तिम ३ खेल लगातार जितेको थियो । चुनौतीका बीच लुम्बिनीले त्यसपछि शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भयो ।
लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको छ ।
काठमान्डुभन्दा ठीक विपरित लुम्बिनीका लागि भने नेपाली खेलाडीको प्रदर्शन अग्रणी भूमिकामा देखिएको छ । ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडी शीर्षमा छन्, त्यसमा विदेशी खेलाडीले साथ दिएका छन् । सबैभन्दा धेरै रन कप्तान रोहित पौडेलले बनाएका छन् भने सबैभन्दा धेरै विकेट शेर मल्लले लिएका छन् ।
ब्याटिङ र बलिङमा आवश्यक सुधार गरेर अझै राम्रो बनाउन सकेमा लुम्बिनी पनि उपाधि जित्न दाबेदारका रूपमा छ । कप्तान रोहितले पनि त्यही कुरा गरेका छन् । ‘अरू टिमहरू पनि राम्रो देखिएका छन् । हामी अलिकति अझै बेटर छौं जस्तो लाग्छ’ रोहितले प्लेअफमा पुगेपछि भनेका थिए ।

हेड टु हेड
काठमान्डु र लुम्बिनीबीच हालसम्म दुवै संस्करणमा गरेर २ पटक खेल भएका छन् । दुवै खेल काठमान्डुले जितेको छ ।
पहिलो संस्करण भएको लो स्कोरिङ खेलमा काठमान्डुले लुम्बिनीमाथि १८ रनको रोमाञ्चक जित हासिल गरेको थियो । १०३ रनमा अलआउट भएको काठमान्डुले लुम्बिनीलाई ८५ रनमा अलआउट गरेको थियो ।
यस्तै दोस्रो संस्करणमा भएको खेलमा पनि काठमान्डु गोर्खाजलाई पराजित गर्यो । २० ओभरमा १५७ रन बनाएको काठमान्डुले उक्त स्कोर डिफेन्ड गर्दै लुम्बिनीलाई १३५ रनमा अलआउट गरेको थियो ।
प्रभाव पार्न सक्ने खेलाडीहरू

काठमान्डुका लागि दुई इंग्लिस ब्याटर बेन चार्ल्सवर्थ र जोन सिम्पसनको भूमिका महत्वपूर्ण हुनेछ । उनीहरूलाई अर्का विदेशी ब्याटर मिलिन्द कुमारको साथ रहनेछ । चार्ल्सवर्थले १९७ तथा सिम्पसनले १५४ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी छन् ।
बलिङमा भने दुई नेपाली बलर कप्तान करण केसी र शाहब आलमले प्रभाव पार्न सक्छन् । उनीहरू काठमान्डुका लागि सबैभन्दा धेरै, समान १२ विकेट लिएका खेलाडी हुन् ।
यसबाहेक ब्याटिङमा ओपनर आकाश त्रिपाठी र मिडल अर्डरमा भीम सार्कीले राम्रो प्रभाव पार्न सक्छन् । बलिङमा पार्ट टाइम स्पीनर मिलिन्द कुमारको प्रदर्शन महत्वपूर्ण रहनेछ ।
यता लुम्बिनीका लागि ब्याटिङमा कप्तान रोहित पौडेलसँगै ओपनर डार्शी शर्ट अनि मिडल अर्डरमा निरोशन डिक्वेलाको प्रदर्शन महत्वपूर्ण हुनेछ । लुम्बिनीका लागि रोहितले २०८ रन तथा शर्टले १६४ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
बलिङमा स्पीनर शेर मल्ल अनि पेसर रुबेन ट्रम्पलमनको स्पेलले ठूलो अर्थ राख्नेछ । शेरले १२ तथा ट्रम्पलमनले ८ विकेट लिएका छन् ।
यीबाहेक दिलिप नाथ र सन्दीप जोराले फिनिसिङमा रन बनाउनुका साथै अनि कप्तान रोहित पौडेलले पार्ट टाइम स्पीन बलिङमार्फत विकेट निकाल्न सक्छन् ।

खेल : काठमान्डु गोर्खाज भर्सेस् लुम्बिनी लायन्स (इलिमिनेटर)
समय : अपरान्ह ४ बजे (डे/नाइट खेल)
मौसम : सफा, बेलुका शीत आउन सक्ने
सम्भावित ११
काठमान्डु गोर्खाज : बेन चार्ल्सवर्थ, आकाश त्रिपाठी, मिलिन्द कुमार, भीम सार्की, जोन सिम्पसन, राशिद खान, सन्तोष यादव, आदिल आलम, सन्नी पटेल, करण केसी, शाहब आलम
लुम्बिनी लायन्स : डार्शी शर्ट, सुमित महर्जन, रोहित पौडेल, दिलिप नाथ, निरोशन डिक्वेला, जेजे स्मिथ, सन्दीप जोरा, शेर मल्ल, रुबेन ट्रम्पलमन, अभिशेष गौतम, तिलकराज भण्डारी
प्रतिक्रिया 4