News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।
- विराटनगर किंग्सले ७८ रनमा अलआउट हुँदै एनपीएलमा यस सिजन सबैभन्दा कम स्कोर बनाएको हो ।
- विराटनगर किंग्सका टिम निर्देशक दिपेन्द्र चौधरीले ब्याटिङ कोल्याप्स हुनु नै हारको कारण भएको बताए ।
२२ मंसिर, काठमाडौं । ‘क्रिकेट भनेको टिमलाई हेरेर खेलिन्न । ग्राउण्डमा खेलिने खेल हो । अस्ती हामीले वान साइडेड जित्यौँ । आज उनीहरुले (सुदूरपश्चिम)ले वान साइडेड जित्यो ।’
सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनको फराकिलो अन्तरले पराजित भएपछि विराटनगर किंग्सका टिम निर्देशक दिपेन्द्र चौधरीले पोष्ट म्याच कन्फेरेन्समा यस्तो प्रतिक्रिया दिए ।
लिग चरणमा विराटनगरले सुदूरपश्चिमलाई एकपक्षीय रुपमा पराजित गर्दा आज त्यसको ठिक उल्टो सुदूरपश्चिमले विराटनगरलाई एकपक्षीय रूपमा हराइदियो ।
तीन दिनमा दुई टोलीले प्राप्त गरेको यो नतिजाले नै क्रिकेट खेलको सुन्दरतालाई परिभाषित गर्छ । यी दुई टोलीबीचको पछिल्ला दुई खेलको नतिजाले चौधरीको यो भनाईलाई पनि पुष्टि गरेको छ ।
लिग चरणको अन्तिम खेलमा विराटनगरले विष्फोटक ब्याटिङ गर्दै १४८ रनको लक्ष्य १२ ओभर भित्रै पूरा गरेको थियो । तर मंगलबार फाइनल पुग्नका लागि भएको पहिलो क्वालिफायर ठिक विपरित प्रदर्शन भयो । विराटनगरको टप अर्डरदेखि ब्याटिङ लाइनअप ‘कोल्याप्स’ नै भयो । सुदूरपश्चिमले संगठित बलिङ र फिल्डिङ गर्दा विराटनगरको ब्याटिङ सुरुदेखि नै धर्मराएको थियो ।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर ३५ बल अघि नै जम्मा ७८ रनमा अलआउट भयो । विराटनगरले पूरा ओभर पनि क्रिजमा टिक्न सकेन । यसको कारण ब्याटिङ कोल्याप्स हुनु नै रहेको चौधरीको भनाई थियो ।
लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य १३.५ ओभरमा पूरा गरेमा विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने समिकरण थियो । त्यसमा फाफ डु प्लेसिस र साम हिजलेटले विष्फोटक ब्याटिङ गर्दै ११.५ ओभरमै लक्ष्य पूरा गर्न सहयोग गरेका थिए । त्यही नतिजाले विराटनगरले पहिलोह क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट निश्चित गरेको थियो ।
तर फाइनल प्रवेशका लागि भएको खेलमा भने विराटनगरको प्रदर्शन ठिक उल्टो रह्यो । लिग चरणमा विराटनगर विरुद्ध स्कट कुगेलेइन, हेमन्त धामी जस्ता बलरलाई आराम दिएको सुदूरपश्चिमले क्वालिफायरमा उनीहरुलाई खेलायो र सुदूरको बलिङ अट्याक विराटनगरको लागि निकै भारी पर्यो ।
लिग चरणमा लगातार ६ खेल जित्दै अपराजित रहेको सुदूरपश्चिमको यात्रामा ब्रेक लगाएपछि सुदूरको टाइगर र पूर्वेली राजाको बीचको यो क्वालिफायर प्रतिस्पर्धात्मक हुन सक्ने धेरै समर्थक र विज्ञहरुको अनुमान थियो । तर मैदानमा सुदूरपश्चिमले त्यो सबै अनुमानलाई गलत सावित गरिदियो ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १५५ रनको मध्यम स्कोर खडा गरेको थियो । बलरहरुको उत्कृष्ट बलिङ अनी फिल्डिङमा सुदूरले त्यो स्कोरलाई डिफेण्ड गर्यो । हुन त सुदूरपश्चिमले लिग चरणमा पनि सुरुवाती खेलहरुमा टस हारेर पहिले ब्याटिङ गर्दा पनि यस्तै अवस्थामा स्कोर डिफेण्ड गरेको थियो । क्वालिफायरमा पनि सुदूरले त्यो शैली कायम राख्यो ।

सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले राम्रो बलिङ गर्यो भने त्यो टोल डिफेण्ड हुन सक्ने लागेको पोष्ट म्याच कन्फेरेन्समा बताए । ‘हामीले बलिङ राम्रो गर्यौँ भने यो टोटल डिफेण्ड हुन्छ भन्ने लागेको थियो’ उनले भने, ‘हामीले योजना अनुसार बलिङ गर्यौं।’
यसै खेलबाट डेब्यु गरेका भारतका शेल्डन ज्याक्सन र पाकिस्तान मुलका अमेरिकी क्रिकेट मुख्तर अहमदले पनि राम्रो योगदान गरेको न्युजिल्याण्डका बलर स्कटले बताए ।
लगातार दोस्रो पटक सुदूरपश्चिमबाट एनपीएल खेलिरहेका स्कटले यस पटक उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘हामी योपटक उपाधि जित्न चाहन्छौं । दोस्रो स्थान खासै राम्रो सुनिँदैन।’
पहिलो संस्करणमा सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।
गत वर्षदेखि सुरु भएको एनपीएलमा सुदूरपश्चिम लगातार दुई सिजन शीर्ष स्थानमा रहेर प्लेअफ पुग्ने पहिलो र एक मात्र टिम बन्दा लगातार फाइनल पुग्ने पनि पहिलो टिम नै बन्यो । तर च्याम्पियन बन्न नसकेको सुदूरपश्चिम दोस्रो सिजन एनपीएलको ट्रफी उचाल्ने दाउमा छ । त्यसका लागि सुदूरपश्चिमले फाइनलमा खेल्ने अपोनेन्टका लागि अझै दुई खेल कुर्नुपर्नेछ । त्यसपछि ट्रफी उचाल्ने टिम कुन हुनेछ त्यसका लागि शनिवार बेल्का सम्म प्रतिक्षा गर्नुपर्नेछ ।
तेस्रो कम स्कोर
विराटनगरले मंगलबार सुदूरपश्चिम विरुद्ध बनाएको ७८ रनको स्कोर एनपीएलमा यस सिजन सबैभन्दा कम स्कोर हो भने समग्रमा एनपीएलको तेस्रो कम योगफल हो ।
गत संस्करणमा जनकपुर बोल्ट्स नै सुदूरपश्चिम विरुद्ध ५१ रनमा अलआउट भएको थियो । जुन एनपीएलको सबैभन्दा कम योगफल हो । यस्तै गत सिजन नै पोखरा एभेन्जर्स चितवन राइनोज विरुद्ध ७४ रनमा समेटिएको थियो ।
कम स्कोर बनाउने सूचीमा अब विराटनगर किंग्स पनि थपिएको छ । त्यसमा दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डु प्लेसी एक्लै करिब आधा रन (३६) योगदान गरेका थिए । अर्को छेउबाट विकेट गइरहेपनि ओपनिङ गर्दै ११औं ओभरसम्म क्रिजमा टिकका डु प्लेसीले २९ बल खेल्दा ३ चौका र१ छक्का प्रहार गरे । दक्षिण अफ्रिकाकै बलर मर्चेन्ट डे लाङले आठौं नम्बरमा आएर ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडे । बसिर अहमदले १८ बलमा २ चौका मदतमा १२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । त्यसमा पनि दुई खेलाडी खाता नखोली आउट भए ।

ब्याटिङमा कोल्याप्त हुँदा अलआउट भएको विराटनगरका टिम निर्देशक दीपेन्द्र चौधरीले पनि स्वीकार गरे । ‘ब्याटिङ कोल्याप्स नै हारको कारण हो । ७ बलमा ३ विकेट गइसकेको थियो । त्यही हो कारण’ दीपेन्द्रले भने ।
अघिल्लो खेलमा सुदूरपश्चिम विरुद्ध नै चलेको टप अर्डर आज चलेन । त्यो आज क्लिक नभएको चौधरीले बताए । ‘हामी टप अर्डरमा हेभी छौँ । विदेशी खेलाडी नै टप अर्डरको छ आज टप अर्डर क्लिक भएन, उनले भने, ‘लास्ट म्याचमा उहाँहरुले ९५ रन साझेदारी गर्नुभाथ्यो । क्रिकेट बल र ब्याटको गेम हो । आज उनीहरु चलेनन् ।’
विराटनगरको ब्याटिङ कोल्याप्स हुँदा सुदूरका बलरहरु पूर्ण रुपमा हावी बने । बलिङ र फिल्डिङ नै उत्कृष्ट थियो ।
कप्तान दीपेन्द्र ऐरीको डिरेक्ट हिट आज देख्न पाइएन । तर उनले आफ्नै बलिङमा कट एण्ड बोल्ड गर्दै १ विकेट लिए भने अरु थप ३ क्याच समेत लिएका थिए ।
यस्तै आज सुदूरका पेस बलरहरुले पनि राम्रो प्रदर्शन गरे । स्कट कुगेलेइन, अविनाश बोहरा र हेम्त धामी मिलेर ५ विकेट लिए । कुगेलेइनले ३ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिँदा अविनाशले ३.१ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । यस्तै डु प्लेसीको विकेट लिएका हेमन्तले २ ओभरमा १२ रन खर्चीए । सुदूरका लागि ४ ओभर स्पेल नै पुरा गरेका हर्मित सिंहले २० रन खर्चेर २ विकेट लिए । अर्का बलर मिलन बोहराले विकेट नलिएपनि १ ओभरमा ६ रन मात्र खर्चिए ।
विनोदको संयमित ब्याटिङ
विराटनगरले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले सुरुमा ब्याटिङ गरेको थियो । ओपनर विनोद भण्डारीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि सुदूरपश्चिमले सम्मानजनक स्कोर (१५५/७) बनाएको थियो ।
त्यसमा भेट्रान विकेटकिपर ब्याटर विनोदले अर्धशतकिय पारी खेले । १९ ओभरसम्म संयमित ब्याटिङ गर्दै क्रिजमा टिकेका उनले सर्वाधिक ६३ रनको योगदान गरे । उनले ५२ बल खेल्दा ३ चौका र २ छक्का समेत प्रहार गरेका थिए ।
सुदूरको टिममा लिग चरणका खेलेका दुई अष्ट्रेलियन ब्याटर क्रिस लिन र जोश ब्राउन थिएनन् । उनीहरु अष्ट्रेलिया फर्किएपछि दुई नयाँ खेलाडी मुख्तर अहमद र शेल्डन ज्याक्सनलाई सुदूरपश्चिमले प्लेअफका लागि अनुबन्ध गरेको थियो ।

लिन र ब्राउन जस्तै यी दुई नयाँ खेलाडीले एनपीएलमा डेब्यु गर्दै टप अर्डरमै खेले । विनोदसँग ओपनिङ गरेका मुख्तरले १० बलमा १० रन जोडे । वान डाउनमा आएका भारतका भेट्रान विकेटकिपर ब्याटर शेल्डन ज्याक्सनले ११ बलमा २० रन योगदान गरे । कोलकता नाइट राइडर्सबाट आईपीएल खेलेका शेल्डनसँग विनोदले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । एक छेउबाट विकेट गइरहेपनि विनोदले साझेदारी बनाउँदै खेल अगाडि बढनएका थिए ।
विनोदले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । यस्तै छैटौं विकेटका लागि पनि विनोदले आरिफ शेखसँग ३१ रनकै साझेदारी गरे । सुदूरले १५० रनको आँकडा पार गर्नुका विनोदको यी तीन साझेदारीले पनि काम गरेको थियो । यही प्रदर्शनका कारण विनोद प्लेअर अफ दि म्याच घोषित भए ।
उनले यस सिजन एनपीएलमा बनाएको यो दोस्रो अर्धशतक हो । यस सिजन उनले ८ खेलबाट दुई अर्धशतकसहित २६४ रन बनाएका छन् र सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लेका छन् । उनी अघि पोअरा एभेन्जर्सका एडम रोसिङटन (३२३ रन) छन् । यस सिजन एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्राप्त गर्नेछन् । विनोदले फाइनलमा ६० रन बनाएमा रोसिङटनलाई पछि पार्नेछन् ।
आरिफ शेखले १३ बलमा २० रन जोडे । हर्मित सिंहले १४ र इशान पाण्डेले १३ रन योगदान गरे ।
विराटनगरका लागि यस सिजन उत्कृष्ट बलिङ गरिरहेका कप्तान सन्दीप लामिछानेले सुदूरपश्चिम विरुद्ध ४ ओभरमा किफायती बलिङ गर्दै १६ रन मात्र खर्चिएपनि विकेट लिन सकेनन् । मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २-२ विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले समान १ विकेट लिए ।
प्रतिक्रिया 4