+

विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा

२०८२ मंसिर  २३ गते १९:१८ २०८२ मंसिर २३ गते १९:१८

पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ ।

विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम दोस्रो पटक लगातार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।
  • सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७८ रनमा अलआउट गर्दै पहिलो क्वालिफायरमा एकपक्षीय जित हात पारेको छ।
  • ओपनर विनोद भण्डारीले ६३ रन बनाएर सुदूरपश्चिमलाई १५५ रनको लक्ष्य दिएको थियो।

२३ मंसिर, काठमाडौं । सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ ।

साथै सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा विराटनगरसँग व्यहोरेको हारको बदलासमेत लिएको छ । सुदूरपश्चिमले अब शनिवार दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

पराजित भएपनि विराटनगरले फाइनल पुग्नका लागि अर्को अवसर पाउनेछ । बुधबार हुने काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको एलिमिनेटर खेलको विजेतासँग विराटनगरले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।

सुदूरको धारिलो बलिङ

दुई बलिया टिमबीच क्वालिफायरमा कडा प्रतिस्पर्धा हुने अपेक्षा भएपनि सुदूरपश्चिमले एकपक्षीय रुपमा खेलमा हाबी बनेको थियो । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो । सुदूरपश्चिमको धारिलो बलिङ र फिल्डिङ सामु विराटनगरको ब्याटिङ निरिह बन्यो ।

विराटनगरका लागि ओपनर फाफ डु प्लेसीले सर्वाधिक ३६ रन बनाउनु बाहेक अन्यले सम्झन लायक ब्याटिङ गर्न सकेनन् । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

मर्चेन्ट डे लाङले १५ र बसिर अहमदे १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

सुदूरपश्चिमका बलरले पहिलो ओभरदेखि नै विकेट लिन थालेपछि विराटनगरको इनिङ्स धर्मराएको थियो । स्कट कुगेलेइनले पहिलो बलमै साम हिजलेटलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट आउट गराए ।

त्यही ओभरको अन्तिम बलमा मार्टिन गप्टिल रनआउट हुँदा विराटनगरले दोस्रो विकेट गुमायो ।

दोस्रो ओभरको पहिलो बलमै हर्मित सिंहले नरेन भट्टलाई आउट गर्दा विराटनगर ३-३ को खराब अवस्थामा पुगेको थियो ।

एक छेउबाट लगातार विकेट जाँदा फाफ डु प्लेसीले अर्को छेउबाट सम्हाल्ने प्रयास गरेका थिए ।

डु प्लेसी र बसिर अहमदले चौथो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । यी दुईले इनिङ्स अगाडि बढाउने प्रयास गरेका थिए । तर बसिर पनि आउट भएपछि विराटनगर दबाबमा पार्‍यो । सुदूरका कप्तान दीपेन्द्रले बसिरलाई कट एण्ड बोल्ड गरेका थिए ।

लोकेश बलमले पाँचौ नम्बरमा ब्याटिङ गरेका थिए तर ५ रनमा आउट भए । उनलाई अविनाश बोहराले कट एण्ड बोल्ड गरे । त्यसपछि आएका नारायण जोशीलाई हर्मीतले बोल्ड गरेपछि विराटनगरले ९.१ ओभरमै ५३ रन बनाउँदा छैटौं विकेट गुमायो ।

११औं ओभरमा विराटनगरले डु प्लेसीसहित दुई विकेट गुमाएपछि इनिङ्स धरासयी बनेको थियो । एक छेउ सम्हालेका डु प्लेसीलाई हेमन्त धामीले शेल्डन ज्याक्सनबाट क्याचआउट गराए । त्यही ओभरमा प्रतिश जिसी पनि रनआउट भए ।

त्यसपछि मर्चेन्ट डे लाङ १५ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने अन्तिम विकेटको रुपमा आउट भए ।

विराटनगरलाई अलआउट गर्न सुदूरपश्चिमका बलरहरुले उत्कृष्ट बलिङ र फिल्डिङ गरेका थिए । सुदूरपश्चिमका स्कट कुगेलेइन, हर्मीत सिंह र अविनाश बोहराले २-२ विकेट लिए । हेमन्त धामी र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । विराटनगरका दुई खेलाडी रनआउट भए ।

विनोद अर्धशतकमा सुदूरको योगफल

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो । विराटनगर विरुद्ध अर्धशतकपछि उनी सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लेका छन् । उनले ८ खेलबाट २६४ रन बनाएका छन् । पोखरा एभेन्जर्सबाट खेलेका इंग्लिस विकेटकिपर एडम रोसिङटनले लिगमा ७ खेलबाट एक शतकसहित सर्वाधिक ३२३ रन बनाएका छन् ।

यसै खेलबाट एनपीएलमा डेब्यु गरेका भारतका शेल्डन ज्याक्सनले २० रन जोडे । आरिफ शेखले पनि २० रन जोडे ।

यसै एनपीएलका अर्का डेब्युटान्ट मुख्तर अहमदले विनोदसँग ओपनिङ गरेका थिए । तर उनी १० रन बनाएर आउट भए ।

२१ रनमा पहिलो विकेट गुमाएको अवस्थामा विनोद र शेल्डन ज्याक्सनले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।

त्यसपछि विनोदले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । साम हिजलेटको बलमा नरेन भट्टले बाउण्ड्री लाइनमा सानदार क्याच लिएपछि पाण्डे १३ रनमा आउट भएका थिए ।

त्यसपछि आएका कप्तान दीपेन्द्र सिंह ऐरी दुई रन लिने चक्करमा व्यक्तित ३ रनमै रनआउट भए । हर्मीत सिंहले ११ बलमा १४ रन जोडे ।

एक छेउबाट लगातार विकेट जाँदा ओपनर विनोदले अर्को छेउबाट इनिङ्स सम्हालेका थिए । तर उनी ६३ रन बनाएर १९औं ओभरको अन्तिम बलमा आउट भए । विनोद र आरिफ शेखले छैटौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । आरिफ अन्तिम ओभरमा आउट भए ।

बलिङमा विराटनगरका लागि मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २-२ तथा सूर्य तामाङ र साम हिजलेटले १-१ विकेट लिए । डे लाङले ४ ओभरमा २३ रन खर्चेका थिए ।

एनपीएल नेपाली क्रिकेट विराटनगर किंग्स सुदूरपश्चिम रोयल्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय