+
+
Shares

घाँसे मैदानका चराहरूको अनौठो व्यवहार

दु:खको कुरा, संसारका सबै ठाउँमा चराहरूको सङ्ख्या घट्दो छ। त्यसमाथि पनि घाँसे मैदानमा बस्ने चराहरू त एकदम द्रुत गतिमा घट्दै गइरहेका छन्।

अनुज घिमिरे अनुज घिमिरे
२०८२ चैत २२ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राज्य अमेरिका र क्यानडाले १९७० देखिनै लगभग ३ अर्ब प्रजनन गर्ने चराहरू गुमाइसकेका छन् र तीमध्ये ५० प्रतिशतभन्दा धेरै घाँसे मैदानमा बस्ने चराहरू हुन्।
  • वैज्ञानिक, संरक्षणकर्मी र संस्थाहरूले वर्षमा एक वा दुई पटक घाँसे मैदानमा आगो लगाएर चराहरूको उपयुक्त वासस्थान कायम राख्ने व्यवस्था गरेका छन्।
  • बेर्डस् स्प्यारो, चेस्टनट कलर्ड लङ्गस्पर र बबलिंक जस्ता चराहरू घाँसे मैदानको घाँसको लम्बाइ, घनत्व र लिटरको मात्रामा निर्भर गरी फरक–फरक ठाउँमा बस्ने रहेछन्।

क्षितिजमा सूर्यको आगमनले घाँसे मैदान पनि सुनौलो बनाउँदै थियो। म बिहान ३ बजे उठेर २ घण्टा पर ड्राइभ गरेर त्यो घाँसे मैदान पुगेको थिएँ। कारण थियो- दुई प्रजातिका चराहरू।

चराहरू साह्रै ‘पिकी’ हुन्छन्। अर्थात् उनीहरू एकदम कडाइपूर्ण रूपमा आफ्नो वासस्थान छान्छन् र जस्तो पायो त्यस्तै वासस्थानले चित्त बुझाउन्नन्। आधा जिन्दगी प्राणीशास्त्र पढ्नमा बिताएको मलाई त्यो कुरा पक्कै पनि थाहा थियो। तर, त्यो घाँसे मैदानको अनुभवले भने चराहरूको त्यो पिकिनेसको बुझाइलाई अर्कै स्तरमा पुर्‍याइदियो।

त्यस बेला, गएको दुई वर्षदेखि म ती दुई चराको खोजीमा थिएँ। ती प्रजाति थिए : बेर्डस् स्प्यारो र स्प्रेग्स पिपिट !

यी दुवै प्रजाति घाँसे मैदान विशेषज्ञमा पर्छन्। अङ्ग्रेजीमा यी चराहरूलाई ‘अब्लिगेट ग्रासल्याण्ड बर्ड’ भन्ने गरिन्छ। तर, त्यो कुरा त्यतिमै मात्र सीमित भने हुँदैन। र, रमाइलो कुरा त्यो दिन म ती चराको खोजीमा निस्किंदा मलाई पनि त्यो कुरा राम्रोसँग थाहा थिएन।

एक वर्षपछि ! पीएचडी सकिएपश्चात् म नेपाल फर्किने भनेर सोच बनाएर बसेको थिएँ।  यहाँ खासै काम खोजेको पनि थिइनँ। तर, पीएचडी सकिएको एक हप्तामै यहीं आफैं पढेको विश्वविद्यालयमा काम गर्ने प्रस्ताव आयो।

मेरो पीएचडीको काम भन्दा धेरै भिन्न प्रकारको काम भए तापनि रमाइलो रिसर्च जोडिएको भएर २-३ वर्ष काम गर्न पर्‍यो भनेर नयाँ काम सुरु गरें। नयाँ काम थियो घाँसे मैदानका चराहरू र आगोको पारिस्थितिक प्रणाली। घाँसे मैदानमा आगो लगाइने कुरा बारे कता कता सुनेको थिएँ, नेपालतिर पनि उखु खेती हुने ठाउँमा आगो लगाइने गरेको थाहा थियो। चितवन राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा पनि शायद फागुनतिर आगो लगाइन्छ। तर, त्यो आगो र त्यससँग सम्बन्धित जैविक विविधताबारे भने धेरै ज्ञान थिएन।

उत्तरी अमेरिकामा भने आगो मात्र नभएर आगो र चरन (ग्रेजिंग) को मिश्रणले यहाँका घाँसे मैदानलाई त्यसको स्वरूप दिने रहेछन्। ती दुइटा कुरा बीचका अन्तरक्रियाले गर्दा यी घाँसे  मैदानमा बस्ने चराहरूको लागि उपयुक्त वासस्थान बन्न जाने रहेछ।

नयाँ कामको सिलसिलामा म बस्ने राज्यको पश्चिमी क्षेत्र पुग्दा मेरो ल्याबको लिड प्रोफेसरले बेर्डस् स्प्यारो खोज्न जाऊँ भने। मेरो लागि नि लाइफर हुने चरा, मैले त खुशीसाथ जाऊँ भने र हामी एउटा घाँसे मैदानतिर लाग्यौं। घाँसमा टेक्न नपाई म वरपरका सबै चरा हेर्दै थिएँ। उनी भने यताउता हेरेर केही चित्त नबुझेको जस्तो गर्दै थिए।

“समथिङ रङ?” भनेर मैले सोधें। उनले “नट द राइट एरिया” भने र हिंडिरहे।

म एकछिन छक्क परें ! त्यो चरा प्रशस्त पाइने क्षेत्रमा थियौं हामी र त्यहाँ पहिले पनि रिपोर्ट गरिएको ठाउँमा। र, घाँसे मैदानमा मात्र बस्ने चरा थियो अनि हामी घाँसे मैदानमै थियौं।

उनी भने हिंडिरहे, एक ठाउँमा टक्क रोकिएर दूरबिनबाट चारतिरै हेरे र उ त्यहाँतिर जाऊँ भने। मैले चुपचाप पछ्याएँ !

केहीबेर पछि हामी उनले केही समय अगाडि देखाएको फाँटको नजिकै पुग्यौं। शायद १०० मिटर जस्तो बाँकी थियो होला। त्यतिमै मैले एउटा चराको गीत सुनें, जुन गीतसँग म परिचित थिइनँ। उनीले मतिर हेरेर भने “ड्याट्स इट” ! गीत गुन्जिरहेको ठाउँतिर मैले दूरबिन तेर्स्याएँ र हेरें। नभन्दै घाँसे मैदान बीचको एउटा सानो संरचनामाथि बसेर त्यो भँगेरा गीत गाइरहेको थियो।

Baird’s Sparrow. Photo : Anuj Ghimire

मलाई बेर्डस् स्प्यारो, चेस्नट कलर्ड लङ्गस्पर, बबलिंक चराहरू घाँसे मैदानमा बस्छन् भन्ने कुरा थाहा थियो, तर मेरो लागि घाँसे मैदानको सबै घाँस “घाँस” थियो। मैले सोचेको थिएँ ती चराहरूले “घाँसे मैदान” खोजिरहेका हुन्छन्। तर, म गलत रहेछु। ती चराहरू घाँसे मैदानमा बस्ने होइन, घाँसे मैदानको संरचना अनुसार भिन्न ठाउँमा बस्ने रहेछन्।

Credit : Justin Derner

बेर्डस् स्प्यारोलाई २०-६० सेन्टिमिटरसम्मको घाँस र घाँसको घनत्व पनि निरन्तर भएको मैदान चाहिने रहेछ। र बेर्डस् स्प्यारोलाई लिटर (मरेको घाँस) धेरै भएको, कम माटो देखिएको ठाउँ चाहिने रहेछ। मैले पहिले खोजेको ठाउँमा धेरै लामो लामो घाँस थियो र फाट्टफुट्ट, त्यसैले त्यो चरा खोज्न म असफल भएको रहेछु। त्यसैगरी, घाँसे मैदानकै अर्को विज्ञ चरा चेस्नट कलर्ड लङ्गस्परलाई भनें ३० सेन्टिमिटर भन्दा छोटो र खुकुलो रूपमा रहेका घाँस चाहिने रहेछ। र लङ्गस्परलाई भने खुल्ला माटो देखिएको ठाउँ अलि बढी चाहिने रहेछ।

Chestnut collared Longspur. Photo : Anuj Ghimire

बबलिंकलाई भने एकदमै लामो घाँस भएको घाँसे मैदान चाहिने रहेछ भने लिटर पनि राम्रै मात्रामा चाहिने रहेछ। त्यसैगरी जुँगे भारद्वाज, अङ्ग्रेजीमा हर्नड लार्कलाई भने एकदमै खुल्ला माटो भएको वा अलि–अलि फाट्टफुट्ट घाँस भएको ठाउँ चाहिने रहेछ।

Bobolink . Photo : Anuj Ghimire

त्यति मात्र नभएर यो काम शुरु गर्न अगाडिसम्म मैले यहाँ भएका सबै घाँसे मैदानलाई प्रेयरी नै भनेर सोच्थें। तर, यहाँका सबै जस्तो रैथाने घाँसे मैदान वा प्रेयरीमा धेरै मात्रामा मिचाहा प्रजाति हावी भएका रहेछन्। घाँसे मैदानमा देखिने भनेको घाँस त मिचाहा केन्टकी ब्लु ग्रास र स्मुथ ब्रोम रहेछ। ती मिचाहा प्रजातिहरूले रैथाने प्रजातिसँग प्रतिस्पर्धा गरेर आफू धेरै मात्रामा फैलिन्छन् र रैथाने घाँसहरू विस्तारै हराउँदै जान्छन्।

युरोपियनहरूको आगमनपछि बढ्दो मात्रामा यी घाँसे मैदानहरू खेती जमिनहरूमा परिणत भएसँगै ऐतिहासिक रूपमा आगोले घाँस छोट्टाउने र बढाउने क्रम पनि हराउँदै गयो। यो परिदृश्यमा आगो हटाउनाले मिचाहा प्रजाति बढ्दै गए। यहाँका रैथाने प्रजातिका बोटबिरुवाहरू आगोसँगै अन्तरक्रिया गरेर विकास भएकाले उनीहरूले त्यो सहन सक्छन् भने मिचाहा प्रजाति भने आगो लगाएको खण्डमा नियन्त्रणमा राख्न सकिन्छ।

अब यहाँ आगो कसरी जोडिन्छ र अहिलेका व्यवस्थापन प्रणालीहरूले यो कुरा कसरी कायम राख्छन् भन्ने। आजको दिनमा वैज्ञानिक, संरक्षणकर्मी तथा संरक्षणमा लागेका संस्थाहरू मिलेर वर्षमा एक वा दुई पटक घाँसे मैदानमा आगो लगाउने गर्छन्। र आगो लगाउँदा घाँसे मैदानलाई सामान्यतया ४ भागमा विभाजन गरेर एउटा भागमा एक वर्ष आगो लगाउँछन् र अर्को वर्ष अर्कोमा। त्यसो गर्नाले घाँसे मैदानमा घाँसहरू ४ किसिममा विभाजन हुन्छन्। आगो बालेको ठाउँमा लिटर एकदम थोरै हुन्छ र त्यहाँ लिटर मन नपर्ने चराहरू बस्छन्। एक वर्ष विश्राम पाएको भागमा भने घाँस अलि–अलि लामो भइसकेको हुन्छ र त्यहाँ ठिक्कको घाँस मन पर्ने चराहरू बस्छन्, र त्यसैगरी ३ वर्षसम्म नबालिएकोमा लामो लामो घाँस हुन्छ र त्यहाँ बबलिंक जस्तो लामो घाँस मन पराउने चराहरू भेटिन्छ।

रमाइलो कुरा त मैले खोजेको जस्तो बेर्डस् स्प्यारो, चेस्टनट कलर्ड लंग्स्पर जस्ता चराहरू आगो नबालिएको क्षेत्रमा एकदम कम मात्रामै पाइने रहेछन्। उनीहरूले प्रत्यक्ष रूपमा आगो  लगाएको ठाउँ नभएर आगोले बदली ल्याएको ठाउँ छान्न पुगेका हुन्। आगो बालेको केही दिनमै ती चराहरू प्रशस्त रूपमा ती घाँसे मैदानमा पुग्ने रहेछन्।

तर, दु:खको कुरा, संसारका सबै ठाउँमा चराहरूको सङ्ख्या घट्दो छ। त्यसमाथि पनि घाँसे मैदानमा बस्ने चराहरू त एकदम द्रुत गतिमा घट्दै गइरहेका छन्। अमेरिका जस्तो ठाउँमा जहाँ एकदम धेरै मात्रामा चराहरू सम्बन्धी अध्ययन गरिन्छ, यहाँ पनि यी चराहरू खतरामै छन्। संयुक्त राज्य अमेरिका र क्यानडाले १९७० देखियता लगभग ३ अर्ब प्रजनन गर्ने चराहरू गुमाइसकेका छन् भने तीमध्ये ५० प्रतिशत भन्दा धेरै चराहरू घाँसे मैदानमा बस्नेमा पर्छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
अनुज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?