News Summary
Generated by OK AI. Editorially reviewed.- घर भँगेरा प्यासर डोमेस्टिकस उप-प्रजाति हो जुन इन्डियन भँगेरा र स्प्यानिश भँगेरा बीचको संकरणबाट विकसित भएको हुनसक्ने वैज्ञानिक अनुमान छ।
- घर भँगेरामा दुई विशेष जिन COL11A र AMY2A पाइन्छन् जसले शिर विकास र स्टार्चयुक्त खानेकुरामा अनुकूलनमा भूमिका खेल्छन्।
- मानव बस्तीमा गुँड बनाउने उपयुक्त ठाउँ र कीरा फट्याङ्ग्राको कमीले गर्दा घर भँगेराहरू विस्थापित हुँदै गएका छन् र उनीहरूको संरक्षण आवश्यक छ।
करिब १२००० वर्ष अगाडिको कुरा हो। मध्यपूर्वको कुनै क्षेत्रमा जङ्गली गहुँ, जौ लगायत अन्न बीच भुर्र उड्दै आहारा खोज्दै रमाइरहेका धेरै प्रजातिका चरामध्ये दुई प्रजातिका चराहरूको भविष्य फेरिने मोडमा छ। ती प्रजातिहरू हुन्, इन्डियन भँगेरा र स्प्यानिश भँगेरा। यहाँ इन्डियन स्प्यारो भनेको के हो भनेर बुझाउन जरूरी हुन्छ।
भँगेराहरू वा सच्चा भँगेराहरूलाई वैज्ञानिक नामकरण अनुसार ‘प्यासर’ जिनसमा राख्ने गरिन्छ। हाम्रो घर–आँगनमा पाइने घर भँगेराको वैज्ञानिक नाम “प्यासर डोमेस्टिकस (उप-प्रजाति : डोमेस्टिकस) हो भने यस जिनसमा पर्ने अन्य २८ प्रजातिका भँगेराहरू संसारमा पाइन्छन्। प्रजाति भन्नाले एकअर्कासँग प्रजनन गर्न सकिने भनेर बुझ्न सकिन्छ। तर, त्यही भन्दै गर्दा जिनस एउटै भएको र नजिकैको नातेदार रहेका चरा वा जीवहरू बीच पनि फाट्ट-फुट्ट प्रजनन भने हुने गर्छ। र उप-प्रजाति भन्नाले एउटै प्रजातिभित्र पर्ने तर लामो समयदेखि भिन्न ठाउँ वा वासस्थानमा बस्दै आएको र त्यस कारण विभिन्न प्रकारका आनी-बानी विकास गर्न सफल भएको प्रजाति भनेर बुझ्न सकिन्छ।
इन्डियन स्प्यारोलाई “प्यासर डोमेस्टिकस इण्डिकस” भन्ने गरिन्छ भने केही वैज्ञानिकले यो भिन्न प्रजातिको भँगेरा हो भनेर पनि भन्ने गरेको पाइन्छ। र स्प्यानिस स्प्यारो भन्नाले “प्यासर हिस्प्यानिओलेन्सिस” भनेर बुझिन्छ। इन्डियन स्प्यारो घर भँगेराकै उप-प्रजाति भएकोले गर्दा लगभग उस्तै देखिन्छ भने स्प्यानिस भँगेराको (भाले) शिर एकदमै कैलो रङको हुन्छ र उसको आँखाको ठ्याक्कै माथि सेतो आँखीभौं हुन्छ जुन इन्डियन भँगेरामा हुँदैन। र घर भँगेरा वा अहिले हामीले प्यासर डोमेस्टिकस डोमेस्टिकस भनेर चिनिने भँगेरा यही दुई भँगेरा बीचको संकरण (हाइब्रिडाइजेसन) बाट बनेको हुनसक्ने अनुमान वैज्ञानिकहरूको छ।

अब फेरि जाऊँ त्यही १२००० वर्ष अगाडिको फाँटमा।
१२००० वर्ष अगाडिको त्यो समय मानव जातिको लागि पनि एकदमै महत्त्वपूर्ण समय हो। सिकार गर्दै हिंड्ने फिरन्ते जीवनशैलीबाट आफ्नो आँगनमा नै अन्न रोपेर कृषि क्रान्तिको सुरुवात गर्न तत्पर थियो एउटा सभ्यता। जसले गर्दा मानव जातिमै धेरै प्रकारको बदलावहरू ल्यायो। अङ्ग्रेजीमा नियोलिथिक रिभोलुसन भनेर चिनिने त्यस क्रान्ति पश्चात् मानव जाति एउटै ठाउँमा स्थिर भएर बस्न सके, लामो समयसम्मलाई जम्मा गरेर राख्न सकिने अन्नहरूलाई डोमेस्टिकेट गर्न थाले। जङ्गली गहुँ, जौ लगायत अन्न आफ्नै आँगनमा रोप्न थाले। सामाजिक स्तरीकरण, श्रम मा विशेषज्ञता र जटिल प्रकारको समाज निर्माण सबै त्यहींबाट शुरु भएको मान्ने गरिन्छ। कृषि क्रान्ति अगाडि मानव समाज एउटा ‘हन्टर र ग्यादरार’ को हिसाबले चल्थ्यो।
चराहरू आफ्नै हिसाबले हन्टर र ग्यादरर नै थिए। उनीहरूको आहारा भने त्यही जङ्गली बीउ र कीरा फट्याङ्ग्रा हुने गर्थे।
तर, कृषि क्रान्ति पश्चात् जब मानवहरू स्थायी बस्ती बनाएर एउटै ठाउँमा समय बिताउन थाले, उनीहरूको लागि एउटा स्थायी बस्ने ठाउँको खाँचो हुँदैगयो र त्यही अनुसारको संरचनाको विकास भयो। र खेती गरिएको अन्नहरू जम्मा गर्नलाई ठाउँहरू पनि। ढुङ्गा, काठ र माटोको सहायताले बनाइने यस्ता संरचनाहरू गुँड बनाउनको लागि उपयुक्त हुन थाले। खेती गरेर उब्जिएको र बाली काट्ने बेलामा छरिएको अन्न प्रशस्त हुनाले चराहरूलाई पनि सहज हुँदैगयो। र जहाँ अन्न त्यहाँ कीरा फट्याङ्ग्रा ! र भँगेराहरूको आहार पनि त्यही दुइटा कुरा!
भँगेराहरूले प्रजननको बेला वा आफ्नो बचेराहरूलाई खुवाउने बेला धेरै जस्तो कीरा-फट्याङ्ग्रा खुवाउने गर्छन् भने, प्रजननको समय सकिएपछि उनीहरू फेरि बीउतिर फर्किन्छन्। त्यसबेलाका ती दुवै प्रजातिहरू पनि त्यही डाइटमै थिए।

तर त्यहाँ एउटा रमाइलो संयोग हुन गयो। सम्भवतः इन्डियन भँगेरा र स्प्यानिश भँगेरा बीचको सम्भोगले एउटा नयाँ प्रजातिको विकास भयो, जसलाई अहिले हामी घर भँगेरा वा प्यासर डोमेस्टिकस भनेर चिन्ने गर्छौं। केही समय अगाडिबाटै वैज्ञानिकहरूको अनुमान अनुसार घर भँगेराको विकास मानव जातिको वरपर भएको हुनुपर्छ भन्ने थियो।
घर भँगेराहरू धेरैजसो मानव जातिको वरपर मात्र पाइने र उनीहरूले मानव निर्मित संरचनाहरू नै धेरै मन पराउने भएकोले गर्दा वैज्ञानिकहरूको अनुमान त्यस्तो हुन गएको होला। तर, वास्तवमा कुरा त्योभन्दा रोचक नै रहेको एउटा अध्ययनले देखाएको छ।
घर भँगेरा, स्प्यानिस भँगेरा, ब्याक्ट्रिएनस भँगेरा र इटालियन भँगेराहरूको आनुवंशिक अध्ययन अनुसार ! र यो कुरा पत्ता लगाउनको लागि एउटा यस्तो प्रजाति चाहिन्थ्यो जुन घर भँगेराकै नजिकैको प्रजाति वा उप-प्रजाति होस् र एक हिसाबले जङ्गल वा मानव जाति घर भँगेरा भन्दा अलि कम मात्रामा सम्बन्धित होस्। र त्यो प्रजाति हो प्यासर डोमेस्टिकस ब्याक्ट्रिएनस। यो एक प्रकारको जङ्गली माइग्रेटरी (बसाइँसराइ गर्ने) भँगेरा हो जुन घर भँगेराको उप-प्रजाति पनि हो! उप-प्रजाति भएकोले गर्दा वैज्ञानिकहरूले ती दुई प्रजाति बीच खासै धेरै फरक चाहिं नभेटिने अनुमान गरेका थिए। तर, अध्ययन पश्चात् गरिएको डीएनए एनालाइसले भने दुइटा रोचक कुरा देखायो।
घर भँगेरामा उनीहरूले दुई फरक प्रकारका जिन पाए जुन जिनहरू थिए : COL11A र AMY2A ! पहिलो जिन क्रेनियोफेसियल (शिर र मुहार) र खोपडी विकास नियमन गर्ने थियो भने दोस्रो जिन चाहिं स्टार्च धेरै भएको खानेकुरासँगको अड्याप्टेसनसँग जोडिएको थियो। स्टार्च भनेको सबै हरियो बोटबिरुवाहरूद्वारा उत्पादन हुने एक प्रकारको जैविक रसायन हो। स्टार्चमा ग्लुकोज अणुहरूको लामो शृङ्खला एकसाथ जोडिएको हुन्छ र धेरै बोटबिरुवाले स्टार्च मार्फत आफ्नो ऊर्जा स्टोर गर्छन्। बीउहरूमा धेरै मात्रामा स्टार्च हुने गर्छ। र अन्य चराहरूले पनि केही मात्रामा स्टार्च पचाउन सक्छन् तर घर भँगेरामा भने AMY2A जिन धेरै मात्रामा भएकोले गर्दा, स्टार्च धेरै भएको बीउहरू मात्र नभएर मानव जाति वरपर पाइने अन्य जंकफुड पनि उनीहरूले सजिलै पचाउन सक्छन्। त्यसैले गर्दा अमेरिकाको धेरै ठाउँमा पिज्जा होस् वा फ्रेन्च फ़्राइज खाइरहेको घर भँगेरा देख्ने गरिन्छ।
प्राकृतिक वा जङ्गली बीउहरू फुटाउन र खानको लागि केही मात्रामा सजिलो हुने भएकाले ब्याक्ट्रिएनसहरूको चुच्चो अलि पातलो प्रकारको हुन्छ भने COL11A जिनको परिमार्जनले गर्दा घर भँगेरामा भने अलि मोटो हुने गर्छ। त्यही कुरा उनीहरूको खप्परमा पनि देखिएको छ। लगभग जस्तो प्रकारका बीउ वा खानेकुरा नि पचाउन सक्ने घर भँगेराको खप्पर पनि बलियो प्रकारको भएको अध्ययनले देखाएको छ। त्यति मात्र नभएर जङ्गलमा पाइने ब्याक्ट्रिएनसहरूको भन्दा घर भँगेराको चपाउने मांसपेशीहरू पनि बलियो हुने गर्छ।

हाम्रो घर–आँगनमा रमाउने यी भँगेराहरू मानव जाति सँगसँगै विकास हुँदै आएका प्रजातिहरू हुन् र उनीहरूलाई हाम्रो धेरै आवश्यकता पर्छ। र आजभोलि भँगेराहरू हराउँदै गएका छन् भन्ने धेरै सुनिन्छ।
यी भँगेराहरू किन हराउँदै छन् त ? त्यसको लागि उनीहरूको आनीबानी र वासस्थान बारे कुरा गर्न जरूरी हुन्छ।
भँगेराहरू सेकेण्डरी क्याभिटी नेस्टरमा पर्छन्। अर्थात्, उनीहरूले पहिलेदेखि रहँदै आएका प्वाल, टोड्का वा केही पुरानो संरचनामा आफ्नो गुँड बनाउँछन्; अन्य चराहरूले जस्तो रूख वा बोटबिरुवामा होइन। पहिले पहिले हाम्रो घरहरू माटोको हुने गर्थ्यो र भित्तामा होस् वा दलिनमा, उनीहरूले आफ्नो गुँड बनाउने ठाउँ पाउँथे। आजभोलि नयाँ संरचना र घरतिर हुने त्यस्ता प्वालहरू लोप हुँदै गएकोले गर्दा उनीहरूको लागि गुँड बनाउने उपयुक्त ठाउँ हुँदैन। र त्यति मात्र नभएर, माथि भनेको जस्तो प्रजननको बेलामा जब उनीहरूलाई कीरा-फट्याङ्ग्राको जरुरत हुन्छ, त्यो पनि हाम्रो घर आँगनमा आजभोलि सजिलै पाइँदैन। पहिले पहिले घरआँगन वरपर खेती गर्नलाई खाली जमिन हुन्थे। त्यहाँ विभिन्न प्रकारका अन्नहरू उब्जिन्थे र त्यहीसँगै टन्नै कीरा फट्याङ्ग्रा नि हुने गर्थे। आजभोलि यी दुवै कुरा कम हुँदै गएकोले गर्दा भँगेराहरू पनि विस्तारै विस्थापित हुँदै गएका हुन्।
मानव जातिसँग जोडिएको यो चरालाई हाम्रो सहायताको आवश्यकता छ र हामीले आफ्नो घरआँगनमा उनीहरूको लागि वासस्थान बनाइदिन सके शायद उनीहरूसँगको १२००० वर्ष पुरानो सम्बन्ध कायम राख्न सकिन्थ्यो कि?
विश्व भँगेरा दिवसको शुभकामना ।
प्रतिक्रिया 4