+
+
Shares

सभामुखलाई प्रधानमन्त्रीको जवाफ : उपयुक्त समयमा संसद् आउँला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसदहरूको जवाफ दिने बताएका छन्।
  • सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेनले 'उपयुक्त समयमा संसद् आउँला र सांसदहरूको जवाफ दिउँला' भनेको जानकारी दिएका छन्।
  • प्रतिनिधिसभामा विपक्षी दलको नाराबाजीबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ।

७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसद्हरूको जवाफ दिने बताएका छन् ।

सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा गराएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेनको उपस्थिति खोजिरहेका छन् । प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले संसद् अवरोध नै गर्न थालेपछि बिहीबार सभामुख अर्याल प्रधानमन्त्री बालेन भेट्न पुगेका थिए ।

सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री बालेनले ‘उपयुक्त समयमा संसद् आउँला र सांसदहरूको जवाफ दिउँला’ भनेको सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरूलाई बताएका हुन् ।

प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभामा विपक्षी दलहरूले नारावाजी गर्न थालेका छन् । सभामुख अर्यालले विपक्षी दलका सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाका कामकारबाही अगाडि बढाए ।

विपक्षीको नाराबाजीकै बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । यस विधेयकउपर प्राप्त संशोधनहरूलाई सभामुखले निर्णायार्थ प्रस्तुत गरे ।

त्यसपछि नाराबाजीकै बीच सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गरेको हो ।

विपक्षी नाराबाजीमै थिए । नाराबाजीकैबीच प्रतिनिधिसभाबाट ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १२ गतेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?