+
+
Shares

एक महिनाभित्र १२ वटा कुकुरमाथि क्रुरता, प्रहरीले गर्‍यो कारबाही

‘पहिला अपराधीहरू कानुनको दायरामा आउँदैनथे । अहिले भने हिरासतमा बसिरहेका छन्, कारबाही भइरहेको छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ जेठ ८ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो एक महिनाभित्र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कुकुरमाथि भएका १२ घटनामा प्रहरीमार्फत कारबाही प्रक्रिया अघि बढाइएको छ।

केही वर्षअघिसम्म सडक कुकुरमाथि हुने हिंसालाई सामान्य घटनाका रूपमा हेरिन्थ्यो । गाडीले कुल्चिएर घाइते बनाउने, धारिलो हतियार प्रहार गर्ने, तातोपानी खन्याउने वा कुटपिट गरेर मार्ने जस्ता घटनामा उजुरी लिएर प्रहरीकहाँ पुग्दा पनि ‘कुकुरको केस’ भन्दै बेवास्ता गरिन्थ्यो । तर पछिल्लो समय अवस्था बदलिन थालेको पशु अधिकारकर्मीहरूले बताएका छन् ।

पशु अधिकारकर्मी विश्वराम कार्कीका अनुसार पछिल्लो एक महिनाभित्र मात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कुकुरमाथि हिंसा भएका १२ वटा घटनामा प्रहरीमार्फत कारबाही प्रक्रिया अघि बढाइएको छ ।

उनका अनुसार अहिले प्रहरीमा उजुरी दर्ता हुने, पोस्टमार्टम हुने, हिरासतमा राख्ने र अदालतसम्म प्रक्रिया लैजाने काम समेत हुन थालेको छ ।

कार्कीका अनुसार केही वर्षअघि यस्ता घटनामा प्रहरी नै गम्भीर नहुने अवस्था थियो । उनले एयरपोर्ट पछाडिको काडाघारी क्षेत्रमा स्कुल बसले कुकुरलाई ठक्कर दिएको घटनाको उदाहरण दिँदै भने, ‘त्यतिबेला तिनकुने प्रहरी चौकीमा उजुरी लिएर जाँदा वास्ता नै गरिएको थिएन ।’

तर अहिले भने अवस्था फेरिएको उनी बताउँछन् । उनका अनुसार निरन्तर दबाब, पशु अधिकारकर्मीको सक्रियता, सञ्चारमाध्यमको सहयोग र कानुनी सचेतनाका कारण प्रहरी प्रशासन पनि सक्रिय बन्न थालेको हो ।

बिजी मल घटना : तीन महिला पक्राउ, एक फरार

कार्कीका अनुसार काठमाडौंको बिजी मल क्षेत्रमा कुकुरमाथि भएको क्रूर व्यवहारको घटनामा तीन महिलालाई पक्राउ गरिएको थियो । उनीहरूलाई १४ दिन हिरासतमा राखेर पछि तारिखमा छाडिएको छ । घटनामा संलग्न भनिएका एक वृद्ध व्यक्तिविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ, तर उनी अझै फरार छन् ।

सानो कुकुरको बच्चा मारेको आरोपमा हिरासत

उनका अनुसार अर्को एउटा घटनामा सानो कुकुरको बच्चालाई सुतेकै अवस्थामा मारिएको थियो । उक्त घटनामा जाहेरी दर्ता भइसकेको छ र आरोपी हालसम्म प्रहरी हिरासतमा छन् ।

गोलढुंगा र बौद्धमा ‘हिट एन्ड रन’

दुई दिनअघि गोलढुंगामा गाडीले कुकुरलाई ठक्कर दिएको घटनामा पनि मुद्दा दर्ता भएको छ । आरोपीलाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कार्कीले बताए ।

त्यस्तै, बौद्ध–कपन क्षेत्रमा मोटरसाइकलले कुकुरलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको अर्को घटना पनि दर्ता भएको छ । ‘टाउकोमै गम्भीर चोट लाग्ने गरी हानेको थियो,’ उनले भने ।

ललितपुरमा मिनी ट्रकले दुई कुकुरका बच्चा मार्यो

ललितपुरमा मिनी ट्रकले दुई वटा कुकुरका बच्चालाई किचेर मारेको घटनामा पनि कारबाही प्रक्रिया अघि बढाइएको छ । आरोपी हाल प्रहरी हिरासतमा रहेको कार्कीले जानकारी दिए ।

मुलपानी घटनामा स्थानीयसँग विवाद

मुलपानी क्षेत्रमा कुकुरलाई गम्भीर घाइते बनाइएको अर्को घटनामा भने स्थानीयवासीसँग विवाद भएको उनले बताए । सुरुमा घटना स्वीकारे पनि पछि केही व्यक्तिले अस्वीकार गर्न थालेपछि छलफल गर्नुपरेको उनको भनाइ छ । अब उक्त घटनालाई कानुनी प्रक्रियामा लैजाने तयारी भइरहेको उनले बताए ।

‘पहिला उजुरी नै लिँदैनथे’

कार्कीका अनुसार विगतमा कुकुरमाथि हिंसा भए पनि प्रहरीमा उजुरी दर्ता गराउनै कठिन थियो । ‘हिट एन्ड रन होस् वा धारिलो हतियार प्रयोग गरेर मारेको केस, प्रहरीले उजुरी लिनै मान्दैनथ्यो’ उनले भने ।

तर अहिले भने पशु अधिकारसम्बन्धी कानुनबारे प्रहरीमा पनि जानकारी बढेको उनको भनाइ छ । ‘हामीले दुई वर्षदेखि निरन्तर दबाब दिएका छौं । संविधान र कानुन देखाएर फलोअप गरेका छौं । त्यसैले अहिले काम हुन थालेको हो,’ उनले भने ।

उनका अनुसार पशु उद्धार केन्द्र, पशु अधिकार अभियन्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चारमाध्यमको सहयोगले पनि घटनालाई सार्वजनिक गर्न र दबाब सिर्जना गर्न ठूलो भूमिका खेलेको छ । अब सजाय हुन्छ भन्ने सन्देश गएको छ

कार्की भन्छन्, ‘पहिला अपराधीहरू कानुनको दायरामा आउँदैनथे । अहिले भने पक्राउ भइरहेका छन्, हिरासतमा बसिरहेका छन्, कारबाही भइरहेको छ । यसले जनावरमाथि हिंसा गरे सजाय हुन्छ भन्ने सन्देश गएको छ ।’

उनका अनुसार अहिले कुकुर मात्र होइन, बिरालो, बाँदर, गाईवस्तु लगायत अन्य जनावरमाथि हुने क्रूरताका घटनामा पनि कानुनी कारबाहीको माग बढ्न थालेको छ । त्यसैले जनावरलाई क्रूर व्यवहहर गर्दा कानुनी कारबाहीमा परिन्छ भन्ने सन्देश गएको छ ।

मिलापत्र होइन, कानुनी कारबाही

कार्कीले कतिपय घटनामा मिलापत्र गराउने प्रयास हुने गरेको पनि बताए । ‘धेरैले केस दर्ता नगरौं, मिलाऔं भन्ने प्रयास गर्छन्,’ उनले भने, ‘तर हामी अब बार्गेनिङ गर्दैनौं । कानुनमा जे व्यवस्था छ, त्यही अनुसार कारबाही हुनुपर्छ भन्ने अडान लिन्छौं ।’

सबै पशु अधिकारसम्बन्धी संस्था एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन् । ‘हामीले मात्रै होइन, सबैले सक्रिय भएर तत्काल उजुरी दिने र फलोअप गर्ने हो भने अझ प्रभावकारी हुन्छ’ उनले भने ।

नेपालको कानुनअनुसार पशुपंक्षीमाथि क्रूर व्यवहार गर्नु दण्डनीय अपराध हो । तर कानुन कार्यान्वयन कमजोर हुँदा विगतमा अधिकांश घटना दबिने गरेका थिए । पछिल्लो समय भने सडक जनावरमाथि हुने हिंसाविरुद्ध उजुरी दर्ता हुने र प्रहरी सक्रिय बन्न थालेपछि पशु अधिकारकर्मीहरूले यसलाई सकारात्मक परिवर्तनको रूपमा लिएका छन् ।

शुपन्छीलाई निर्दयी व्यवहार गर्नेलाई के हुन्छ कारबाही ?

२०७४ सालभन्दा अघि यस विषयमा कुनै नियम कानुन बनेको थिएन । तर मुलुकी अपराध संहिता २०७४ भदौबाट लागु भएपछि भने यसलाई अपराधको रूपमा लिइन्छ । पशुपन्छीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म जेल सजाय र ५००० रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको वातावरण कानुन विज्ञ, वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन् ।

कुकुरहरू माथि कुनै पनि प्रकारको दुर्व्यवहार भएको देख्यो भने यस्तो हिंसाको उजुरी प्रहरी कार्यालयमा गर्न सकिन्छ, प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा पनि यसको उजुरी दिन मिल्छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?