+
+
Shares

सुदूरपश्चिम र लुम्बिनीमा गर्मी झन् बढ्ने, घर बाहिर ननिस्किन सुझाव

महाशाखाका मौसमविदह?का अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा अन्य जिल्लाको तुलनामा बढी गर्मी हुने भएकाले सतर्क रहन भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते २०:३५

८ जेठ, काठमाडौं । सुदूरपश्चिम र लुम्बिनीका जिल्लाहरूमा आगामी दिनमा गर्मी झन् बढी हुने पूर्वानुमान गरिएको छ ।

गर्मीले अहिले नै जनजीवन प्रभावित भइरहेका बेला जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी दिन झन् तातो हुने पूर्वानुमान गरेको हो । त्यसैले महाशाखाले आज साँझ विशेष बुलेटिन जारी गरेर सतर्क रहन भनेको छ ।

महाशाखाका मौसमविदह?का अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा अन्य जिल्लाको तुलनामा बढी गर्मी हुने भएकाले सतर्क रहन भनिएको छ ।

यसैगरी बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि आगामी दिन गर्मी बढ्ने भएकाले त्यहाँका बासिन्दालाई पनि गर्मीको अवस्थाबारे अध्यावधिक जानकारी लिँदै सतर्क रहन भनिएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा यही जेठ ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । साथै थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएको विशेष बुलेटिनमा उल्लेख छ ।

गर्मी बढ्ने भएकाले त्यसबाट बँच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू–भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले आज साँझ जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।

गर्मीबाट जोगिने उपाय

जनरल फिजिसिसयन डा. देवेन्द्र आचार्यका अनुसार तातो हावा तथा तातो लहरका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आउने जस्ता लक्षण देखिन्छन् ।

त्यसैले त्यसबाट बच्न गर्मीको समयमा घर भित्र चिसो स्थानमा रहने, अत्यवश्यक नपरी चर्को घाममा बाहिर ननिस्किने, बाहिर निस्किनै परे टाउको छोप्ने, टोपी लगाउने, शरीर ढाक्ने गरी सुतीको हल्का कपडा लगाउने गर्नुपर्दछ ।

यसैगरी जुस, सर्वत, सादा पानी जस्ता झोलिलो पदार्थ पटक-पटक पिउने गर्नुपर्छ ।

यति गर्दा पनि स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?