News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई ७० वर्ष उमेर हद र दुई कार्यकाल प्रावधान हटाउनु गल्ती भएको भन्दै पद छोड्न प्रस्ताव गरेका छन्।
- उपाध्यक्ष पौडेलसहित चार जना उपाध्यक्षले ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्ने सम्भावना नभएको र कार्यकर्तामा निराशा छ भनेका छन्।
- ओलीले पार्टी लाइन विपरीत जानेलाई कारबाही गर्ने धम्की दिएपछि उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले 'पार्टी तपाईंको प्राइभेट कम्पनी हो' भन्दै प्रश्न उठाएका छन्।
८ जेठ, काठमाडौं । जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावमा लजास्पद पराजयपछि अब पार्टीमा पनि संकटमा परेका छन् ।
गत महाधिवेशनमा आफैंलाई जिताउन भूमिका खेलेका नेताहरू नै अब उनीबाट पार्टी चल्दैन भन्ने निष्कर्षमा पुगेर पद छोडाउन लागेका छन् । यसको औपचारिक प्रस्ताव पार्टीको बैठकमै आएको छ ।
शुक्रबारको सचिवालयल बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई ७० वर्ष उमेर हद र दुई कार्यकालको प्रावधान हटाउनु गल्ती भएको उल्लेख गर्दै अब मार्गप्रशस्त गर्न प्रस्ताव गरेका छन् ।
उनले अहिलेको अवस्थामा पार्टीको नेतृत्व गर्न नसक्ने भन्दै अब बाटो छोडिदिन भनेका हुन् । चुनावमा पार्टीको लजास्पद पराजयपछि नै नेतृत्वले अब विश्राम लिनुपर्ने लाइनमा उभिएका पौडेलले शुक्रबार पार्टी सचिवालयको बैठकमा औपचारिक रुपमै यो प्रस्ताव अघि बढाएका हुन् ।
नेतृत्वले पद छोड्नुपर्ने यो लाइनमा अब चार जना उपाध्यक्ष उभिएका छन् । उपाध्यक्षहरू मध्येको दोस्रो वरीयतामा रहेका पौडेलले औपचारिक रुपमै नेतृत्व फेर्ने खालको धारणा राखेपछि एमाले अब स्पष्ट रुपमा दुई कित्तामा विभाजित भएको छ ।
‘अब तपाईंको नेतृत्वमा पार्टी अगाडि बढ्ने सम्भावना छैन, तल कार्यकर्तामा चरम निराशा छ’ भन्ने धारणा उपाध्यक्षहरू पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विस्टको थियो ।
उनीहरुले अध्यक्षको विकल्पको धारणा राखेपछि उपाध्यक्ष रामबहादुर थापा बादलले मात्र त्यसको प्रतिवाद गरेका थिए । उपाध्यक्ष समेत रहेका थापाले पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका थिए ।
आफ्नो नेतृत्वमाथि प्रश्न उठाउँदै अन्य उपाध्यक्षहरुले धारणा राखेपछि अध्यक्ष ओलीले भने बादलले भनेको कुरालाई नै पार्टीको लाइन भएको बताए । बादलले नेतृत्वको रक्षा गर्नुपर्छ भनेपछि ओलीले ‘यही हो पार्टी लाइन भन्दै अरु नेताहरूलाई सम्झाएका थिए ।
उनले पार्टीको लाइन भन्दा विपरीत जाने छुट कसैलाई नभएको र अराजकता कसैले प्रदर्शन गर्न नहुने भन्दै नेताहरुलाई सचेत गराउन खोजेका थिए । ओलीले अराजकता लगायतको आरोप लगाएपछि उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिवाद गरेका थिए ।

एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीलाई ‘पार्टी तपाईंको प्राइभेट कम्पनी हो’ भन्दै प्रश्न गरेका थिए ।
अध्यक्ष ओलीले आफू सच्चिने भन्दा अराजक हुनेहरूलाई कार्बाही गर्ने भन्दै नेताहरूप्रति उल्टै धम्की दिन थालेपछि उपाध्यक्ष गुरुङले प्रतिवाद गरेका हुन् ।
‘आज बैठकमा निकै चर्काचर्की भयो। अध्यक्षले अन्तिम अन्तिमतिर अलि कडा भाषाहरू प्रयोग गर्नुभयो । त्यसको जवाफ दिँदै पृथ्वीसुब्बा गुरुङले पनि त्यसमा धेरै कडा प्रतिक्रिया दिँदै भन्नुभयो- यो पार्टी तपाईंको तपाईंको प्राइभेट कम्पनी हो ? तपाईंलाई आफ्ना सहकर्मीहरूसँग मर्यादित कुरा गर्न आउँदैन ?’ एक नेताले अनलाइनखबरसँग भने ।
ओलीले पार्टीको लाइनविपरीत जानेहरूलाई कार्यविभाजन पनि नहुने लगायतका संकेत गरेपछि गुरुङले प्रतिवाद गरेका थिए । उनले यस्तो अवस्थामा पार्टी सच्चिनुपर्ने बताए । सच्चिनको सट्टा झन् धम्की दिएको भन्दै उनले आपत्ति जनाएका थिए ।
बैठकमा उपाध्यक्ष पौडेलले पार्टी पराजयको समीक्षा गर्नुपर्ने र त्यसको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका थिए । ‘असफलताको जिम्मा लिएर तपाईंले मार्गप्रशस्त गर्नुपर्छ’ पौडेलले भनेका थिए,’ ७० वर्षको उमेर हद र दुई कार्यकालको विषय जसरी हिजो पार्टी जीवनको लोकतान्त्रीकरण भनेर उठाइएको थियो, त्यसमा हामीले साथ र समर्थन दियौँ। तरपछि त्यो प्रावधान हटाउनुभयो र हामीले मान्यौँ। त्यो मान्नु नै हाम्रो गल्ती रहेछ। अब ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था कायम राखेर जानुपर्छ ।’
उनले पार्टी अघि बढाउन मार्गप्रशस्त गर्नुको विकल्प नरहेको उल्लेख गरेका थिए । ‘अब तपाईंको नेतृत्वमा पार्टी अगाडि बढ्ने सम्भावना छैन, तल कार्यकर्तामा चरम निराशा छ’ बैठकमा नेताहरूले भनेका थिए ।
बैठकमा ओलीले राख्ने र छोड्ने दुई कित्ता स्पष्ट देखिएपछि अध्यक्ष ओलीले आफैँले ‘अध्यक्षलाई हटाउनुपर्छ भन्ने धारको नेतृत्व विष्णु पौडेलले गर्नुभयो अर्को धारको नेतृत्व रामबहादुर थापाले गर्नुभयो’ भन्दै व्यंग्य गरेका थिए ।
प्रतिक्रिया 4