News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको मेचीनगर–६ बसपार्क नजिकैबाट प्रहरीले बेहोस अवस्थामा फेला परेका पाल्पाका ३२ वर्षीय हरि थापाको उद्धार गरेको छ।
- उद्धार गरिएका थापाको साथबाट फेला परेको रु १ लाख १८ हजार नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको छ।
- अत्यधिक मादक पदार्थ सेवन गरी बेहोस भएका उनी अस्पतालबाट डिस्चार्ज भए पनि हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्।
१० जेठ, झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ ।
अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोश भएर लडिरहेको अवस्थामा पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उद्धारलगत्तै थापालाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआएको प्रवक्ता खड्काले बताए ।
थापाका साथबाट बरामद गरिएको उक्त नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको प्रवक्ता खड्काले बताए । प्रहरीले उनको मोबाइल नम्बरमा सम्पर्क गर्न प्रयास गरे पनि हालसम्म फोन लाग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी सम्पर्कमा आएलगत्तै प्रहरी सो रकम जिम्मा लगाइने जनाइएको छ । भारतबाट नेपाल फर्केका थापाले शनिबार नेपाल–भारत बस सेवाबाट रात्रिबसमार्फत काठमाडौँ जाने गरी टिकट लिइसकेका थिए । नशाले लट्ठिएपछि उनको बस छुटेको थियो । रासस
प्रतिक्रिया 4