सन् १९७१ मा भारत र पाकिस्तानबीच शिमला सम्झौता हुँदैथियो । त्यसबेला जुल्फिकार अली भुट्टोले इन्दिरा गान्धीलाई एउटा शेर सुनाए:
दुश्मनी जम कर करो लेकिन ये गुंजाइश रहे,
जब कभी हम दोस्त हो जायें तो शर्मिंदा न हों।
अर्थात्,
दुश्मनी दिल खोलेर गर तर यति ठाउँ त बाँकी राख,
भोलि फेरि साथी बन्दा नजर मिलाउन गाह्रो नहोस् ।
यो सुनेर इन्दिरा गान्धीले ‘तपाईं हाम्रै शेर हामीलाई सुनाउँदै हुनुहुन्छ’ भनेर जवाफ दिएकी थिइन् ।
यो कथा सुनाउँदा डा. अन्जुम बाराबङ्कवी भावुक भए । उनी भोपालमा बशीर बद्रको घर गएका थिए । बशीर बद्र प्रसिद्ध उर्दू शायर हुन् । उनको यहीँ बिहीबार मात्र भोपालमा निधन भयो । उनी ९१ वर्षका थिए ।
लोकप्रिय शायर
बशीर बद्रले दुईवटा विवाह गरे । जेठी श्रीमतीबाट उनका दुई छोरा र एक छोरी जन्मिए । जेठी श्रीमतीको मृत्यु भएपछि उनले डाक्टर राहत बद्रसँग दोस्रो विवाह गरेका थिए । उनीहरूका एक छोरा तैय्यब बद्र छन् ।
तैय्यब बद्रका अनुसार बशीर बद्र लामो समयदेखि डिमेन्सिया (बिर्सने रोग) बाट पीडित थिए । केही समयदेखि उनको स्वास्थ्य लगातार बिग्रँदै गइरहेको थियो । उनले मान्छेहरू चिन्न छाड्दै गइरहेका थिए।
तर, उनै बशीर बद्रले उर्दू शायरीलाई सरल र बोलीचालीको भाषामा नयाँ पहिचान दिए । उनका शेरहरू साहित्यिक महफिलबाट बाहिर निस्किए । ती आम मानिसको जिब्रोसम्म पुगे ।
उनका लेखनमा माया, एक्लोपन, सम्बन्ध, बिछोडको पीडा र दैनिक जीवनका अनुभवहरू हुन्थे । उनका धेरै शेरहरू आज पनि मानिसहरू सम्झिन्छन् । ती शेरहरू कवि सम्मेलन, सामाजिक सञ्जाल, राजनीतिक भाषण र आम कुराकानीमा सुनिन्छन् ।
उनको घरको नेमप्लेट (पाटी) मा पनि उनकै शेर लेखिएको छ:
उजाले अपनी यादों के हमारे साथ रहने दो,
न जाने किस गली में ज़िंदगी की शाम हो जाए ।
अर्थात्
आफ्ना यादहरूका उज्यालो मतिरै बग्न देऊ,
थाहा छैन जिन्दगीको साँझ कुन गल्लीमा भइदिने हो ।
यति शक्तिशाली शेर लेख्ने उनी डिमेन्सिया लागे पछि भने निकै समस्या परेका थिए । उनका छोरा तैय्यबका अनुसार यो रोगले सताउन थाले पछि भने उनी कवि सम्मेलनहरूमा जान छाडेका थिए । उनी आफूलाई ‘शोम्यान’ भन्ने गर्थे । तर, संसारले बशीर बद्रलाई मात्र सम्झियोस् भन्ने उनको चाह थियो ।
मध्य प्रदेश उर्दू एकेडेमीकी निर्देशिका डा. नुसरत मेहदीका अनुसार उनले कठिन शायरीलाई सरल शब्दमा भन्न सक्नु नै उनको सामर्थ्य हो । यसैले हिन्दी र उर्दू दुवै भाषीका मान्छेहरूले उनको शायर मन पराउने उनको भनाइ छ ।
डा. मेहदीले बशीर बद्रसँग एकेडेमीमा काम गरेकी थिइन्। बशीर बद्र कुनै समय यस एकेडेमीका अध्यक्ष पनि थिए ।
बशीर बद्रले शायरी मात्र गरेनन् । उनले समालोचना र प्राज्ञिक लेखनमा पनि महत्त्वपूर्ण काम गरे । उनका प्रमुख पुस्तकहरू ‘इकाई’, ‘इमेज’, ‘आमद’, ‘आहट’, ‘आस’ र ‘कुल्लियाते बशीर बद्र’ हुन् ।
उनका अन्य पुस्तकहरू पनि छन् । ‘आजादी के बाद उर्दू गजल का तनकीदी मुताला’ र ‘बीसवीं सदी में गजल’ उर्दू साहित्यमा निकै महत्त्वपूर्ण मानिन्छन् ।
पुरस्कार र सम्मान
बशीर बद्रले आफ्नो जीवनमा धेरै सम्मान पाए । उनले पद्मश्री र साहित्य एकेडेमी पुरस्कार पाए । उत्तर प्रदेश र बिहारको उर्दू एकेडेमीले पनि उनलाई सम्मानित गरे ।
सन् १९८० मा न्यूयोर्कमा उनले ‘पोएट अफ द इयर’ को उपाधि पाए । बशीर बद्रले १८ हजारभन्दा बढी ‘अशआर’ (शेरका पंक्तिहरू) लेखेका छन् ।
डा. मेहदीका अनुसार बशीर बद्र महिलाहरूको निकै सम्मान गर्थे । कसैले उनको अगाडि उनकै शेर पढ्दा उनी अर्को लाइन पूरा गरिदिन्थे । एक समय त उनीबिना ठूला कवि सम्मेलनहरू अधुरा हुन्थे । उनीसँग धेरैले काम गरेका पनि गरेका छन् ।
कलेजको पाठ्यक्रममा आफ्नै शायरी
बशीर बद्रको जन्म सन् १९३५ मा भएको हो । प्रमाणपत्रमा उनको जन्म कानपुर लेखिएको छ । तर उनको जन्म उत्तर प्रदेशको बुकीया गाउँमा भएको परिवार बताउँछन् ।
उनले सन् १९६९ मा अलीगढ मुस्लिम विश्वविद्यालयबाट स्नातकोत्तर (मास्टर्स) गरे । पछि उनले ‘आजादी के बाद उर्दू गजल का तनकीदी मुताला’ विषयमा पीएचडी गरे । यो शोधपत्र आज पनि धेरै ठाउँमा पढाइन्छ ।
तैय्यब बद्रका अनुसार एक पटक बशीर अलीगढमा पढ्न गएका थिए । त्यहाँ कलेजको पाठ्यक्रममा उनकै शायरी र गजल थियो । त्यो देख्दा बशीरलाई पनि रमाइलो लागेका थियो ।
डा. अन्जुम बाराबङ्कवीले बशीर बद्रमाथि पीएचडी गरेका छन् । डा. बाराबङ्कवीका अनुसार बशीरले नयाँ उर्दू गजललाई नयाँ दिशा दिएका हुन् । बशीरले समाजको पीडालाई शायरीमा लेखे । भारत र पाकिस्तानका धेरै प्रसिद्ध गायकहरूले उनका गजल गाएका छन् ।
सन् १९७० र १९८० को दशक उनको साहित्यिक जीवनको सबैभन्दा राम्रो समय थियो । यस बेला उनको शायरी देशविदेशमा लोकप्रिय भएको थियो ।
उनका नजिकका साथी मलिकजादा जावेदका अनुसार उनले उर्दू गजललाई प्रेमको दायराबाट बाहिर निकाले । उनले गजललाई समाज र आम मानिसको अनुभवसँग जोडे ।
जावेदका अनुसार उनले आधुनिक उर्दू शायरीमा ठूलो परिवर्तन ल्याए । उनको शायरीमा समाजको वास्तविक रूप देखिन्थ्यो ।
बशीर बद्रले शायरीसँगै कवि सम्मेलनको संस्कृति पनि बदले ।
पहिले कवि सम्मेलनमा सबैले शेरवानी, टोपी र कुर्ता सुरुवाल लगाउँथे। तर बशीर बद्र भने ज्याकेट र टाई लगाएर मञ्चमा जान्थे ।
बशीर बद्र हाजिरजवाफ थिए । उनी मित्रता निभाउन मन पराउँथे । एक पटक उनले धेरै पैसा पाइने कार्यक्रम छोडेर साथीको विवाहमा भाग लिएका थिए ।
भोपालका सामाजिक अभियन्ता सैयद आबिद हुसैनका अनुसार बशीरको सबैभन्दा ठूलो शक्ति उनको भाषा थियो । हुसैनका अनुसार बशीर बद्रका शेरहरू आम बोलीचालीको भाषामा हुन्थे । मानिसहरूले तिनलाई सजिलै बुझ्दथे ।
बशीर बद्रले पद्मश्री र साहित्य एकेडेमी पुरस्कार जस्ता ठूला सम्मान पाए । तर उनको सबैभन्दा ठूलो सम्पत्ति उनका शेरहरू नै हुन् । मानिसहरूले आज पनि जीवनका विभिन्न मोडमा उनका शेरहरू सम्झिन्छन् ।
उनको निधनपछि अन्तिम संस्कारको समयमा पनि मानिसहरू उनकै शायरीको चर्चा गरिरहेका थिए ।
प्रतिक्रिया 4