+
+
Shares

छथरका २ सामुदायिक वनमा १० हजार गुराँस र चापका बिरुवा रोपियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते ११:४८

२९ असार, तेह्रथुम । वन केवल हरियालीको प्रतीक मात्र नभइ जीवन, जीविकोपार्जन र जैविक विविधताको महत्वपूर्ण आधार पनि हो । पछिल्लो समय जलवायु परिवर्तन, वन विनाश तथा प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण पारिस्थितिक प्रणालीमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य बन्दै गएको छ । यही उद्देश्यका साथ तेह्रथुमको छथर गाउँपालिकाका दुई सामुदायिक वन क्षेत्रमा गुराँस, चापलगायतका १० हजारभन्दा बढी बिरुवा रोपिएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) तेह्रथुमको व्यवस्थापन तथा यूएनडीपी /जीईएफ/एसजीपीको सहयोगमा सञ्चालित समुदायको नेतृत्वमा पारिस्थितिक प्रणाली पुनर्स्थापना तथा जीविकोपार्जन सुधार परियोजना अन्तर्गत वृक्षरोपण गरिएको हो । छथर गाउँपालिका १ मा रहेको मार्गपोखरी सामुदायिक वन र वडा नं.२ स्थित पञ्चकन्यादेवी सामुदायिक वन उपभोक्ता समूहमा वृक्षरोपण गरिएको हो ।

परियोजना अन्तर्गत गुराँस, चाप तथा स्थानीय हावापानीसँग अनुकूल हुने विभिन्न प्रजातिका बिरुवा रोपिएका छन । ती बिरुवाले वन क्षेत्रको हरियाली विस्तार गर्नुका साथै माटो संरक्षण, पानीका मुहानको संरक्षण, वन्यजन्तुको बासस्थान सुरक्षित गर्न तथा जैविक विविधता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

मार्गपोखरी सामुदायिक वनका अध्यक्ष साङ्गे सेर्पाका अनुसार मार्गपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यलाई ध्यानमा राख्दै गुराँस र चापका बिरुवा रोपिएको हो । ‘मार्गपोखरी प्राकृतिक रूपमा अत्यन्तै सुन्दर क्षेत्र हो । यहाँ गुराँस फुल्ने वातावरण तयार भएपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनेछन् । यसले स्थानीय पर्यटन प्रवर्द्धनसँगै समुदायको आयआर्जनमा समेत सकारात्मक टेवा पुग्ने विश्वास लिएका छौं’, अध्यक्ष सेर्पाले भने ।

मार्गपोखरी सामुदायिक वनका सचिव डालेश्वर लिम्बुले सामुदायिक वनका उपभोक्ताहरूको सक्रिय सहभागितामा वृक्षरोपण गरिएको बताए । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) तेह्रथुमका अध्यक्ष बुद्धिमान खुलालले परियोजनाको मुख्य उद्देश्य वनको पारिस्थितिक प्रणाली पुनर्स्थापना गर्नुका साथै वनमा आधारित दिगो जीविकोपार्जनलाई प्रवर्द्धन गर्नु रहेको बताए ।

उनका अनुसार छथर गाउँपालिकाका यी दुई सामुदायिक वनबाट सुरु भएको अभियान आगामी वर्षहरूमा जिल्लाका अन्य उपयुक्त वन क्षेत्रमा समेत विस्तार गरिनेछ । परियोजनाका कार्यक्रम संयोजक जितलाल लिम्बुका अनुसार वृक्षरोपण केवल बिरुवा रोप्ने कार्यमा सीमित नभई समुदायलाई जलवायु परिवर्तनका असर न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनप्रति जिम्मेवार बनाउने अभियान पनि हो ।

‘पारिस्थितिक प्रणाली पुनर्स्थापना र जीविकोपार्जन सुधार एकअर्कासँग अन्तरसम्बन्धित विषय हुन । वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्था सुदृढ बनाउन सकिए मात्र संरक्षण अभियान दिगो हुन्छ । त्यसैले परियोजनाले समुदायको नेतृत्वमा वन संरक्षण, वातावरणीय सन्तुलन र जीविकोपार्जन सुधारलाई समान प्राथमिकताका साथ अघि बढाइरहेको छौ’, उनले भने ।

परियोजनाले प्राकृतिक स्रोतको संरक्षणसँगै स्थानीय समुदायका लागि आयआर्जनका अवसर विस्तार गर्ने, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने तथा वातावरणीय सन्तुलन कायम राख्ने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?