News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको अन्नपूर्ण गाउँपालिकामा अविरल वर्षाका कारण आएको बाढीपहिरोले पदमार्ग र झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।
- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीले बाढीबाट होटल र पदमार्गमा ठूलो क्षति पुगेको जनाएको छ ।
- टानले पर्यटक र मजदुरको सुरक्षा पहिलो प्राथमिकतामा राख्दै सबैलाई वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित रहन अपिल गरेको छ ।
२९ असार, काठमाडौं । केही दिनदेखि अविरल वर्षाका कारण कास्की अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित कुम्रुङ खोला र मोदी नदीमा भीषण बाढीपहिरो आयो ।
बाढीले घुर्जुङ तर्ने झोलुङ्गे पुल, अन्नपूर्ण आधार शिविर जाने मुख्य पदमार्ग र स्याउलीबजार क्षेत्रमा ठूलो क्षति पुगेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले जानकारी दिएको छ ।
घान्द्रुकको बनठाँटीमा रहेका दुइटा होटलमा समेत बाढीपहिरोले क्षति पुर्याएको छ । प्राकृतिक विपत्तिका कारण उक्त क्षेत्रमा गएका पर्यटक तथा गाइड–पोर्टर समेत अप्ठ्यारोमा परेको टान गण्डकीले जनाएको छ ।
टान गण्डकीले होटल व्यवसायीको क्षतिप्रति सहानुभूति प्रकट गर्दै, क्षतिग्रस्त संरचनाको तत्काल उचित व्यवस्थापन र पदमार्ग सहज बनाउन सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
विषम परिस्थितिमा व्यवसाय सञ्चालन र गाइड–पोर्टरहरूको परिचालन भन्दा पनि नागरिक तथा पर्यटकहरूको जिउज्यानको सुरक्षा पहिलो प्राथमिकता रहेको समेत टान गण्डकीले जनाएको छ ।
जोखिमपूर्ण क्षेत्रमा अगाडि बढ्ने प्रयास नगरी आजै वैकल्पिक बाटो प्रयोग गरेर सुरक्षित फिर्ता हुने वातावरण मिलाउन पर्यटन व्यवसायी, गाइड तथा पदयात्रीलाई अनुरोध गरिएको छ ।
फिल्डमा रहेका सम्पूर्ण गाइड र पोर्टरलाई अनिवार्य टान सचिवालय वा आ–आफ्नो एजेन्सीमा सम्पर्कमा रहन र कुनै पनि आपतकालीन अवस्थामा स्थानीय निकाय, एक्याप तथा पर्यटन प्रहरीसँग समन्वय गरी सुरक्षित रहन अपिल गरिएको छ ।
प्रतिक्रिया 4