News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को उपाधि यात्रा अब फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिना गरी चार टोलीबीच सीमित भएको छ ।
- पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुनेछन् ।
- विश्वकपको सेमिफाइनलमा लियोनल मेसी, किलियन एम्बाप्पे, जुड बेलिङहम र लामिन यमालजस्ता विश्व फुटबलका चर्चित खेलाडीहरूको महासंग्राम देखिनेछ ।
२९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अब निर्णायक मोडमा पुगेको छ । ४८ टोलीबाट सुरु भएको उपाधि यात्रा अब चार टोलीमा सीमित भएको छ । फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिना अब विश्व फुटबलको सर्वोच्च उपाधिबाट केवल दुई जित टाढा छन् ।
अब यसपछि गल्ती सच्याउने कुनै अवसर हुने छैन । एउटा हारले विश्वकपको सपना समाप्त हुनेछ भने जितले टोलीलाई फाइनलको ढोका खोलिदिनेछ ।
एकातिर किलियन एम्बाप्पे, लियोनल मेसी, ह्यारी केन, जूड बेलिङहम र लामिन यमालजस्ता सुपरस्टारको चमक हुनेछ भने अर्कोतर्फ दशकौं पुराना प्रतिस्पर्धा, बदला, कीर्तिमान र गौरवको लडाइँ पनि सँगसँगै चल्नेछ ।
अब सेमिफाइनलमा फ्रान्स–स्पेन र इंग्ल्यान्ड–अर्जेन्टिनाबीच हुने दुई भिडन्तले विश्वकपको नयाँ इतिहास लेख्ने दुई फाइनलिस्ट तय गर्नेछन् ।
त्यसैले सेमिफाइनलका दुवै खेल विश्व फुटबलका सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये पर्ने अपेक्षा गरिएको छ ।
युरोपका दुई शक्तिशाली टोली भिड्दै

पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै छन् । पछिल्ला केही वर्षयता युरोपेली फुटबलमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका यी दुई टोलीबीचको खेललाई धेरैले ‘फाइनलअघि नै फाइनल’ को संज्ञा दिएका छन् ।
किलियन एम्बाप्पे फेरि फ्रान्सको सबैभन्दा ठूलो हतियार बनेका छन् । मोरक्कोविरुद्ध दुई–शून्यको जितसँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या आठ पुर्याएका छन् । उनी अर्जेन्टिनाका लियोनल मेस्सीसँग गोल्डेन बुटको दौडमा बराबरीमा छन् र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमानतर्फ पनि अघि बढिरहेका छन् ।
तर फ्रान्सको बल केवल एम्बाप्पेमै सीमित छैन । ओस्मान डेम्बेलेले पाँच गोल गरिसकेका छन् भने माइकल ओलिसे पाँच असिस्टसहित प्रतियोगिताकै उत्कृष्ट अवसर सिर्जना गर्ने खेलाडी बनेका छन् । आक्रमण, मिडफिल्ड र रक्षापङ्क्तिमा समान गुणस्तर भएका कारण फ्रान्सलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ ।
फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्ससँग विकल्पको पनि कुनै कमी छैन । यही गहिरो टोली उनीहरूको सबैभन्दा ठूलो शक्ति बनेको छ ।
यता स्पेन भने अझै आफ्नो उत्कृष्ट खेल देखाउन बाँकी रहेको टोलीका रूपमा हेरिएको छ ।

युवा सनसनी लामिन यमालले प्रतियोगितामा अहिलेसम्म एक गोल मात्रै गरेका छन् । बार्सिलोनाका यी युवा विंगरबाट अझ धेरै अपेक्षा गरिएको छ । सेमिफाइनलअघि उनी १९ वर्ष पुगेका छन् र सबैको नजर उनीमाथि हुनेछ ।
चार गोल गरेका मिकेल ओयारजाबाल पनि पछिल्ला दुई खेलमा गोलविहीन छन् । तर प्रशिक्षक लुइस दे ला फुएन्तेका लागि मिकेल मेरिनो निर्णायक खेलाडी बनेका छन् । उनले पोर्चुगल र बेल्जियमविरुद्धको नकआउट खेलमा बेन्चबाट आएर टोलीलाई जित दिलाएका थिए ।
स्पेन सन् २०१० पछि दोस्रोपटक विश्वकप जित्ने लक्ष्यमा छ ।
इतिहास पनि निकै रोचक छ। फ्रान्स विश्वकपमा आठौं पटक सेमिफाइनल खेल्दै छ । ब्राजिलको बराबरी गर्दै जर्मनीपछि सबैभन्दा धेरै पटक अन्तिम चारमा पुग्ने टोली बनेको छ ।
स्पेन भने मार्च २०२४ मा कोलम्बियासँग पराजित भएयता लगातार ३६ खेलमा अपराजित छ । यस अवधिमा उसले २७ खेल जितेको छ भने नौ खेल बराबरी खेलेको छ ।
विश्वकपमा यी दुई टोलीबीच यसअघि केवल एकपटक भेट भएको थियो । सन् २००६ को अन्तिम १६ मा फ्रान्सले पुनरागमन गर्दै स्पेनलाई ३–१ ले पराजित गरेको थियो ।
साथै, स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराएको थियो । त्यसैले फ्रान्ससँग बदला लिने अवसर पनि हुनेछ ।
इंग्ल्यान्ड भर्सेस् अर्जेन्टिना : इतिहास दोहोरिने कि नयाँ अध्याय लेखिने ?

दोस्रो सेमिफाइनल विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये एक हुनेछ । इंग्ल्यान्ड र अर्जेन्टिनाको भेट केवल फुटबल खेल होइन, दशकौं पुरानो प्रतिस्पर्धाको अर्को अध्याय पनि हो ।
सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा डिएगो म्याराडोनाले ‘ह्यान्ड अफ गड’ र त्यसपछि गरेको अद्भुत गोलले इंग्ल्यान्डलाई प्रतियोगिताबाट बाहिरिएको पीडा अझै बिर्सिएको छैन ।
ठीक ४० वर्षपछि यी दुई टोली फेरि विश्वकपको नकआउट चरणमा आमनेसामने हुँदैछन् ।
यसपटक अर्जेन्टिनासँग फेरि अर्को महान नम्बर १० छन्—लियोनल मेसी । ३९ वर्षीय मेस्सीले प्रतियोगितामा आठ गोल गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा गरिसकेका छन्। उनी गोल्डेन बुटको दौडमा पनि एम्बाप्पेसँग बराबरीमा छन् ।
मेसीले विश्वकपमा पहिलोपटक इंग्ल्यान्डविरुद्ध खेल्न लागेका हुन्। विश्वकप सेमिफाइनलभन्दा ठूलो मञ्च उनको लागि अर्को हुन सक्दैन ।
तर इंग्ल्यान्डसँग पनि आफ्नै सुपरस्टार छन् ।
जुड बेलिङहमले लगातार दुई नकआउट खेलमा दुई–दुई गोल गरेका छन् । सन् १९८६ मा म्याराडोनापछि विश्वकपको नकआउट चरणमा लगातार दुई खेलमा दुई–दुई गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।
कप्तान ह्यारी केनले पनि प्रतियोगितामा ६ गोल गरिसकेका छन् । उनी पनि गोल्डेन बुटको बलियो दाबेदार हुन् ।

दुवै टोलीले अहिलेसम्म आफ्नो सबैभन्दा आकर्षक फुटबल भने खेल्न सकेका छैनन् । नकआउट चरणमा संघर्षपूर्ण जित निकाल्दै उनीहरू अन्तिम चारमा पुगेका हुन् । त्यसैले यो खेल व्यक्तिगत प्रतिभाभन्दा पनि मानसिक दृढता, रणनीति र इच्छाशक्तिको लडाइँ बन्न सक्ने अनुमान गरिएको छ ।
प्रशिक्षक थोमस टुचेलले नर्वेविरुद्धको क्वाटरफाइनल जितपछि आफ्ना खेलाडीलाई सेमिफाइनलमा अझ गुणस्तरीय प्रदर्शन गर्नुपर्ने बताएका छन् ।
इंग्ल्यान्ड सन् २०१८ यता चौथोपटक कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विश्वकपमा उसले लगातार चार खेल जितेको छ, जुन एउटै संस्करणमा सन् १९६६ पछि पहिलो पटक हो ।
टुचेल पनि विश्वकपमा आफ्ना पहिलो छ खेलमा अपराजित रहने दोस्रो इंग्ल्यान्ड प्रशिक्षक बनेका छन् । यसअघि यस्तो उपलब्धि विश्वकप जिताउने अल्फ राम्सेले मात्रै हासिल गरेका थिए ।
अर्जेन्टिना भने पछिल्ला चार विश्वकपमध्ये तेस्रोपटक सेमिफाइनल पुगेको छ । सन् २०१४, २०२२ र अहिले २०२६ मा अन्तिम चारमा स्थान बनाएको अर्जेन्टिना सन् १९९० पछि यस्तो निरन्तर सफलता हासिल गर्ने आफ्नो उत्कृष्ट पुस्तामध्ये एक बनेको छ ।
सुपरस्टारको महासंग्राम
सेमिफाइनलमा विश्व फुटबलका सबैभन्दा चर्चित खेलाडी एउटै मञ्चमा हुनेछन् ।
एकातिर गोल्डेन बुटका दाबेदार मेसी र एम्बाप्पे छन् । अर्कोतिर विश्वकै उत्कृष्ट युवा खेलाडीमध्येका यमाल र बेलिङहम छन् । ह्यारी केन, ओस्मान डेम्बेले, मिकेल ओयरजबाल, माइकल ओलिसे जस्ता खेलाडीले पनि खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता राख्छन् ।
अब केवल तीन खेलपछि विश्वकपको नयाँ च्याम्पियन तय हुनेछ । दुई टोलीको सपना जीवित रहनेछ भने दुई टोलीको यात्रा यहीँ समाप्त हुनेछ ।
इतिहास, प्रतिशोध, कीर्तिमान, सुपरस्टार र विश्व फुटबलको सर्वोच्च उपाधि- यी सबैको फैसला अब विश्वकप सेमिफाइनलले गर्नेछ ।
-बीबीसीमा प्रकाशित सामग्रीका आधारमा
प्रतिक्रिया 4