News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व नम्बर एक खेलाडी यानिक सिनरले जर्मनीका अलेक्जेन्डर जेभेरेभलाई पराजित गर्दै लगातार दोस्रोपटक विम्बल्डन टेनिसको उपाधि जितेका छन्।
- फ्रेन्च ओपनको निराशाजनक हारलाई शक्तिमा बदल्दै सिनरले आफ्नो करिअरको पाँचौं ग्रान्डस्लाम उपाधि उचालेका हुन्।
- उपाधि जितेपछि सिनरले भने, 'पेरिसपछि यो उपाधि मेरो लागि निकै विशेष छ।'
२९ असार, काठमाडौं । एक महिनाअघि फ्रेन्च ओपनमा भोगेको अप्रत्याशित हारले यानिक सिनरको आत्मविश्वासमा गहिरो चोट पुगेको थियो । तर विश्व नम्बर एक खेलाडीले त्यसलाई कमजोरी बन्न दिएनन् ।
बरु त्यही असफलतालाई शक्तिमा बदल्दै लगातार दोस्रोपटक विम्बल्डनको उपाधि जितेर आफू अहिलेको विश्व टेनिसका सबैभन्दा बलिया खेलाडी भएको फेरि प्रमाणित गरेका छन् ।
फाइनलमा जर्मनीका अलेक्जेन्डर जेभेरेभलाई चार सेटमा ३-१ ले हराउँदै २४ वर्षीय इटालियन स्टार सिनरले करिअरको पाँचौं ग्रान्डस्लाम उपाधि जिते । उनी ओपन युगमा लगातार दुईपटक विम्बल्डन जित्ने दशौं पुरुष खेलाडी बने ।
यो उपाधि सिनरका लागि केवल अर्को ग्रान्डस्लाम मात्र थिएन । फ्रेन्च ओपनको पीडादायी हारपछि उनले दिएको जवाफ पनि थियो ।
फ्रेन्च ओपनमा सिनर दुई सेट र निर्णायक सेटमा ५–१ को अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाका जुआन म्यानुएल सेरुन्डोलोसँग पराजित भएका थिए । त्यसअघि पनि उनले लगातार दुई वर्ष पेरिसमा पीडादायी हार बेहोरेका थिए ।
विम्बल्डनमा पनि उनको यात्रा सहज रहेन । पहिलो चरणमै मियोमिर केक्मानोभिचविरुद्ध पाँच सेटसम्म संघर्ष गर्नुपर्यो । त्यस खेलमा हारेको भए सिनर पहिलो चरणबाटै बाहिरिने तेस्रो साविक विजेता बन्ने थिए ।
तर त्यही कठिन जितपछि सिनर फेरि आफ्नो लयमा फर्किए । त्यसपछि उनले लगातार पाँच खेल सोझो सेटमा जित्दै फाइनल यात्रा तय गरे। सेमिफाइनलमा उनले २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिचलाई एकतर्फी खेलमा पराजित गरेका थिए ।

फाइनलमा जेभेरेभविरुद्ध पनि सुरुआती सेट गुमाएका सिनर दबाबमा थिए । तर उनले संयम गुमाएनन् । खेलको निर्णायक मोडमा लडेपछि फेरि उठेर उत्कृष्ट रिटर्न गर्दै ब्रेक हासिल गरेका सिनर अन्ततः विजयी बने ।
उपाधिपछि सिनरले फ्रेन्च ओपनको हार सम्झिँदै भने, ‘पेरिसपछि यो उपाधि मेरो लागि निकै विशेष छ । त्यहाँको हारपछि फेरि यहाँ प्रतिस्पर्धात्मक बन्न धेरै मेहनत गरेका थियौं ।’
सिनरका प्रशिक्षक ड्यारेन काहिलले पनि आफ्ना खेलाडीको सबैभन्दा ठूलो शक्ति हारपछि झन् बलियो बनेर फर्किने क्षमता भएको बताए ।
‘उनले धेरै कठिन हार बेहोरेका छन् । तर त्यस्ता हारले उनलाई धेरै समय रोक्न सक्दैन। उनी हरेक असफलतापछि अझ बलियो बनेर फर्किन्छन्’ काहिलले भने ।
यस वर्ष सिनरको प्रदर्शन असाधारण छ । उनले ४७ मध्ये ४४ खेल जितिसकेका छन् । गत वर्ष विम्बल्डन जितेदेखि उनले खेलेका ८३ मध्ये ७७ खेल आफ्नो पक्षमा पारेका छन् ।
विम्बल्डन उपाधिसँगै सिनरले विश्व नम्बर एकको स्थान थप मजबुत बनाएका छन् । फाइनलमा पराजित भए पनि जेभेरेभ सोमबारबाट घाइते कार्लोस अल्काराजलाई पछि पार्दै विश्व नम्बर दुई बन्नेछन् ।
पूर्व विम्बल्डन विजेता मारियोन बार्टोलीले सिनरको खेललाई नोभाक जोकोभिचसँग तुलना गरेकी छन् ।
‘दबाब झेल्ने शैली, आवश्यक बेलामा असाधारण प्रहार गर्ने क्षमता र कठिन अवस्थाबाट खेल जित्ने बानी हेर्दा सिनर आगामी १०–१५ वर्षमा नयाँ नोभाक जोकोभिच बन्न सक्ने खेलाडी हुन्’ उनले भनिन् ।

प्रतिक्रिया 4