+
+
Shares

मिनी संसद्‌मा उठ्यो मिडिया हाउसहरू अगाडि शंकास्पद गाडी पार्किङको विषय

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिडिया हाउसहरूको गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाबारे संसदीय समितिमा गम्भीर चासो व्यक्त भएको छ ।
  • कानुन, न्याय तथा मानव अधिकार समितिले मिडियालाई त्रसित बनाउने कार्यमा संलग्नलाई छानबिन गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
  • नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमको अधिकारमा अवरोध पुर्‍याउने उक्त निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न माग गरेको छ ।

२९ असार, काठमाडौं । मिडिया हाउसहरू अगाडि शंकास्पद रुपमा गाडी राखिएको विषय संसदीय समितिमा उठेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरेको घटनाबारे चासो व्यक्त भएको हो, यसप्रति गम्भीर चासो व्यक्त गर्दै सांसदहरूले संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो ।

एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका थिए । कसले यस्तो गर्‍यो भन्ने अहिलेसम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन ।

मिडियाहरूको आवतजावतमा अवरोध गर्ने गरी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाबारे संसदीय समितिमा चासो व्यक्त भएको हो ।

कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समिक्षा बास्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइनखबर र भाटभटेनी सुपरमार्केटअगाडि शंकास्पद रूपमा सवारी पार्किङ गरिएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।

उनले मिडिया हाउसको गेटमा सवारी पार्किङ गरी अवरोध गर्ने कार्यमा सरकारको संलग्ना नरहेको समेत दाबी गर्दै निजी नम्बर प्लेट भएका सवारी रहेको र सबै सवारी साधनलाई ट्राफिक प्रहरीले हटाइसकेको जानकारी समितिलाई गराइन् ।

‘कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइन बर र भाटभटेनी सुपरमार्केट अगाडि कसैले गाडी गरेको खबर आएको छ । मिडिया हाउस अगाडि सरकारले गाडी पार्किङ गरेको होइन’ उनले भनिन्, ‘गाडीका नम्बर प्लेट हेर्दाखेरि प्राइभेट नम्बर प्लेटहरू देखिएको छ । यो विषयमा पनि समितिको ध्यानाकर्षण भएको छ ।’

साथै उनले थपिन्, ‘यहाँ बस्दाबस्दै ट्राफिक  प्रहरीले ती गाडीहरू उठाइराखेको भनेर जानकारी आएको छ । मलाई जहाँसम्म लाग्छ सरकारले यस्तो काम गर्दैन । यो विषयमा हामीले सरकारको गम्भीर ध्यानाकर्षण गरायौँ ।’

सञ्चार माध्यमलाई त्रसित बनाउने कार्य स्वीकार्य नहुने भन्दै उनले यो घट्नाको गम्भीर रूपमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरिन् ।

उनले भनेकी छन्, ‘मिडियालाई त्रसित बनाउने कार्यमा संलग्न जोकोही होस् यसलाई गम्भीर रुपमा लिएर भोलिको दिनमा पनि उचित छलफल गर्नुपर्छ ।’

यसबाहेक अन्य सरोकारवालाहरूले पनि सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएकोप्रति आपत्ति जनाएका छन् ।

पत्रकार महासंघले विज्ञप्ति जारी गर्दैसञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुरÞ्याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघ अध्यक्ष निर्मला शर्मासहित टोलीले अनलाइनखबर लगायत हाउसमा गएर स्थितिको निरीक्षण समेत गरेका थिए । अध्यक्ष शर्माले घटना शंकास्पद र नियोजित प्रकृतिको भएको भन्दै पत्रकार र मिडिया हाउसको सुरक्षाका विषयमा संवेदनशील हुन सरकारलाई आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?