News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ ।
- श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्र चुस्त, पारदर्शी र व्यवसायीक बनाउँदै ऋणमुक्त गराउने योजना सार्वजनिक गर्नुभएको छ ।
- हवाई विज्ञ श्रेष्ठले आफ्नो अनुभव र विज्ञताका आधारमा निगमलाई आत्मनिर्भर बनाउने अठोट व्यक्त गर्नुभएको छ ।
३० असार, काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्रमा ऋणमुक्त गराउने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेपछि श्रेष्ठले रासससँग कुराकानी गर्दै भने, ‘निगमको सेवा युरोपमा विस्तार गर्दै निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यवसायीक बनाएर अहिले भएको ऋण तिरेर आफ्नै आम्दानीले चल्न सक्ने बनाउने मेरो योजना छ, त्यसका लागि म पुर्ण रुपमा समर्पित हुनेछु ।’
कार्यकारी अध्यक्ष श्रेष्ठले जिम्मेवारी निकै चुनौतीपुर्ण भए पनि आफ्नो अनुभव, विज्ञता र सम्बन्धका आधारमा निगमलाई आत्मनिर्भर बनाउने अठोट व्यक्त गरे ।
हवाई सेवाको क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका विषयविज्ञ श्रेष्ठलाई निगमको महाप्रबन्धको समेत जिम्मेवारी सम्हालनेगरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको हो ।
विसं २०४९ मा निगमको निर्देशकबाट सेवानिवृत्त भएका उनले निगमको बजार विभाग, संस्थागत विभाग र व्यवसाय प्रवर्द्धन विभागको निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए ।
बेलायतको लण्डनस्थित वेस्टमिनिष्टर विश्वविद्यालयबाट हवाई यातायात सम्बन्धमा अध्ययन गरेर फर्किने श्रेष्ठ पहिलो नेपाली पनि हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले श्रेष्ठसहित पाँच जनालाई यसअघि नै खुल्ला प्रतिस्पर्धाका आधारमा निगमको बोर्ड सदस्यको रूपमा छनौट गरेकामा उनलाई अहिले कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको हो । रासस
प्रतिक्रिया 4