News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले एक सय दिनभित्र २५ वटा निःशुल्क \'ब्लु बस\' सञ्चालन गर्ने प्रतिबद्धता पूरा गर्न सकेको छैन ।
- पूर्वाधार विकास मन्त्रालयले साझा यातायातसँग अझै सम्झौता गर्न नसक्दा बस सेवा सुरु हुन सकेको छैन ।
- मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले साझासँगको सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम हुने बताए ।
१ साउन, काठमाडौं । बालेन शाहको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पुग्दै गर्दा ‘१ साउनदेखि निःशुल्क ब्लु बस चल्ने’ भन्ने आशयका बग्रेल्ती समाचार आए । १ साउन आयो, तर ब्लु बस सञ्चालनमा आएन ।
साझा यातायातका आठ वटा बसलाई नै ‘ब्लु बस’ को रूपमा चलाउने भनिएको थियो । तर बस चल्ने त परको कुरा सरकारले साझा यातायातसँग सम्झौता समेत गर्न सकेको छैन ।
पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्साल साझा यातायातसँगको सम्झौता प्रक्रियामै रहेको बताउँछन् । उनी भन्छन्, ‘साझासँगको सम्झौता भनेको एक हिसाबले सरकार–सरकार बीचको सम्झौता हो । छिट्टै सम्झौता हुने गरी काम गरिरहेका छौं ।’
साझा यातायातमा नेपाल सरकारको ९० प्रतिशतभन्दा बढी सेयर छ । सस्तो, पहुँचयोग्य र भरपर्दो यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले स्थापित साझाले १९६२ देखि काठमाडौंका शहरी क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रदान गर्न थालेको थियो । यसमा नेपाल सरकारका मन्त्रालय, विभाग, महानगरहरू काठमाडौं र ललितपुर, गोदावरी र महालक्ष्मी नगरपालिका, विभिन्न संस्था र सर्वसाधारणको समेत लगानी रहेको छ ।
केही बसलाई ब्लु बसको रूपमा चलाउने विषय अन्तिम चरणमा पुगेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्याल बताउँछन् ।
‘ब्लु बस’ भनिए पनि हरियै रंगमा बस सञ्चालन हुने अर्यालले जानकारी दिए । उनी भन्छन्, ‘नाम ब्लु बस भएकाले कतिपयले साझालाई निलोमा रंगाउन लागेको हो भनेर सोध्छन् । साझाको हरियो रंग परिवर्तन नहुने भन्नेमा विवाद छैन ।’
निःशुल्क सञ्चालन हुने भएकाले सरकारले ‘सञ्चालन खर्च’ बेहोर्नुपर्छ । सम्झौता भएपछि मात्र रुट परमिट लगायतका काम अगाडि बढ्ने अर्यालले जानकारी दिए ।
सरकारले स्विकृत गरेको शासकीय सुधार सम्बन्धी सय बुँदामा महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सञ्चालन गरिने भनिएको छ । पहिलो चरणमा एक सय दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने सरकारको प्रतिबद्धता थियो ।
एक सय दिनभित्र २५ वटा ब्लु बस सञ्चालनमा ल्याउँछु भनेको सरकारले यत्तिका दिन भइसक्दा एउटै बस चलाउन सकेको छैन । कतिपयले महिलालाई अलग्गै यात्रा गराउने अवधारणा नै गलत भएको भन्दै आलोचना गरेका छन् ।
प्रतिक्रिया 4