+
+
Shares

रेशम–रञ्जिताबीच फेसबुकमै आरोप–प्रत्यारोप, ‘आफ्नै घर’देखि ‘हैसियत’सम्मका कटाक्ष

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक आरोप–प्रत्यारोप शुरू भएको छ ।
  • रञ्जिताले पार्टीभित्र अस्थिरता निम्त्याउने प्रवृत्तिप्रति कटाक्ष गर्दै आफ्नै घरमा आगो लगाउनेले छिमेकीको घर जोगाउने दाबी गर्नु हास्यास्पद भएको आरोप लगाइन् ।
  • रेशमले जवाफमा आफूलाई कमजोर पार्ने प्रयास भइरहेको संकेत गर्दै अर्काको विनाश चाहने मानिस पुजारी हुन नसक्ने टिप्पणी गरेका छन् ।

२ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रञ्जिता श्रेष्ठबीच सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ ।

दुवै नेताले एकअर्काको नाम उल्लेख नगरे पनि लगातार राखिएका स्टाटसहरूलाई एकअर्कालाई लक्षित कटाक्षका रूपमा हेरिएको छ । रेशम–रञ्जिता श्रीमान–श्रीमती हुन् ।

सबैभन्दा पहिले रञ्जिताले फेसबुकमा स्टाटस लेख्दै आफ्नै संगठनभित्र अस्थिरता सिर्जना गर्ने प्रवृत्तिमाथि व्यंग्य गरेकी थिइन् । रेशमले नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेटेपछि उक्त व्यंग्य गरेकी हुन् ।

आफ्नै घरमा आगो लगाउनेले छिमेकीको घर जोगाउँछु भन्नु हास्यास्पद हुने भन्दै रञ्जिताले विगतमा पार्टीभित्र विशेष राष्ट्रिय भेला, अध्यक्ष हटाउने अभियान र संसदीय दलको नेतृत्वलाई विवादमा तान्ने गतिविधि दोहोरिँदै आएको आरोप लगाएकी छन् ।

रञ्जिताले कुनै प्रदेशमा आफ्नै दलको प्रतिनिधित्वसमेत नरहेको अवस्थामा अन्य दलका सांसद बोलाएर सरकारको भविष्य तय गर्ने दाबी गर्नु राजनीतिक प्रभाव नभएर प्रभावको भ्रम भएको टिप्पणी गरेकी छन् ।

‘जुन प्रदेशमा आफ्नै दलको प्रतिनिधित्व नै छैन, त्यहाँ अरू दलका माननीयलाई बोलाएर सरकारको भविष्य तय गर्ने दाबी गर्नु राजनीतिक प्रभाव होइन, प्रभावको भ्रम हो,’ उनले लेखेकी छन्, ‘संस्कृतमा भनिएको छ– ‘स्वगृहे दाहं कृत्वा परगृहं रक्षितुमिच्छति’ । अर्थात आफ्नै घरमा आगो लगाउनेले अरूको घर जोगाउने दाबी गर्छ ।’

रञ्जिताको उक्त स्टाटस सार्वजनिक भएको केही समयपछि रेशमले पनि फेसबुकमार्फत जवाफ दिएको आशय बुझिने गरी स्टाटस लेखेका छन् । हैसियत बनाइदिनेको हत्या गर्न खोज्नेहरू कहिल्यै कसैका नहुने भन्दै उनले आफूलाई कमजोर पार्ने प्रयास भइरहेको संकेत गरेका छन् ।

रेशमले घरमा भ्वाङ आफूले नपारेको र आफैंले भित्तामा भ्वाङ पारेर अर्काको घर ताक्नेले बहुलट्ठिपन प्रदर्शन गरेको टिप्पणी गरेका छन् । ‘घरमा भ्वाङ मैले पारेको होइन, आफैंले भित्तामा भ्वाङ पारेर अर्काको घर ताक्नेले किन बहुलट्ठिपन प्रदर्शन गरिरहनु,’ उनले लेखेका छन् ।

धार्मिक मान्छेले सबैको भलो होस् भन्नुपर्ने जिकिर गर्दै रेशमले अर्काको सत्यानास होस् भन्ने मान्छे कहिल्यै पुजारी हुन नसक्ने पनि टिप्पणी गरेका छन् ।

‘जुन गोली पड्काएर मलाई सिकार गर्न खोजिदैछ, त्यही गोली उता फर्के आफै मरिने हो,’ उनले लेखेका छन्, ‘धार्मिक मान्छेले सबको भलो होस् भन्नुपर्छ, अर्काको सत्यानास होस् भन्ने मान्छे कहिल्यै पुजारी हुन सक्दैन । आफ्नो घर सम्हाल्नु, अर्काको घरमा आगो नलगाउनु । बाँकी जय होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?