२ साउन, धनकुटा । एक समय थियो, भोजपुरको टक्सार बजारको नाम धातु उद्योगका कारण देश–विदेशसम्म सुनिन्थ्यो । टक्सार बजारको स्वर्णिम कालमा त्यहाँ पुग्दा सिंगो बजार हथौडाको आवाजले गुञ्जायमान भएको सुन्न सकिन्थ्यो ।
बिहानदेखि साँझसम्म आगोको भट्टीमा तामाको र पित्तलको धातु पगालेर आकर्षक भाँडाकुँडा बनाउने कालिगडहरूको चहलपहलले बजारमा छुट्टै रौनक थियो । टक्सार बजारमा बनेका करुवा, गाग्री, कचौरा, थाल, डाडु–पन्युँदेखि कलात्मक हस्तकलाका सामग्री नेपालभरका घरघरदेखि भान्सा–भान्सासम्म पुग्थे । त्यतिमा नभई कतिपय भाँडाकुँडा विदेशसम्म पुग्ने गरेको जानकारहरू बताउँछन् ।
टक्सार बजारमा भाँडाकुँडा मात्र नभई टक (डोली पैसा) समेत छापिएको जीवन्त इतिहास पनि छ ।
तर, पछिल्लो समय टक्सार बजारको त्यो रौनक हराएको छ । त्यहाँका धातु उद्योग अहिले पहिचान गुमाउँदै एकपछि अर्को गरेर बन्द भइरहेका छन् । टक्सार बजारको त्यो गुलजारले अहिले स्वरूप फेर्न थालेको छ ।

टक्सार बजार जिल्ला सदरमुकाम भोजपुर बजारबाट करिब डेढ किलोमिटर दूरीमा रहेको पर्छ । त्यहाँका धातु उद्योगको इतिहास करिब २०० वर्ष पुरानो छ ।
कुनै समय टक्सार बजारमा २५ वटा धातु उद्योग सञ्चालनमा रहेका थिए । तर, २०७५ सालयता अधिकांश उद्योग बन्द भएर हाल चार वटा उद्योग मात्रै सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका उद्योग पनि पुराना पुस्ताका सीमित जनशक्तिको भरमा सञ्चालनमा रहेका छन् । अहिलेका पुस्ता धातु उद्योगमा आउने चाहना नदेखिँदा सञ्चालनमा रहेका उद्योगसमेत बन्द हुने अवस्थामा रहेको उद्यमीहरूको भनाइ छ ।
सेवा–सुविधा, रोजगारी र राम्रो अवसरको खोजीमा अधिकांश परिवार बसाइ सरेपछि उद्योग सञ्चालन गर्नै कठिन भएको धातु उद्योग व्यवसायी बुद्धराज शाक्यले बताए । उनका अनुसार टक्सार बजारमा रहेका परिवारका नयाँ पुस्ताले समेत यो सीप सिक्न रुचि नदेखाउँदा पुस्तान्तरण हुन सकेको छैन ।

‘हामीले जीवनभर यही पेसा गरेर परिवार पाल्यौँ’, शाक्य भन्छन्, ‘तर, अहिलेका युवाले यो काम गर्न चाहँदैनन् । मेहनत धेरै, आम्दानी कम भएकाले उनीहरू अन्य पेसा वा विदेश रोजिरहेका छन् । अब यो पेसा निरन्तरता दिने मानिस भेटिन गाह्रो हुँदैगएको छ ।’
टक्सारमा बन्ने धातुका सामग्री मौलिक शैलीका रहेका छन् । टक्सारमा करुवा, अम्खोरा, कचौरा, कप, डाडु–पन्युँ, थाल, डबका, गाग्रा, खड्कुँलालगायत दर्जनौँ प्रकारका सामग्री हातैले निर्माण गर्ने गरिएको छ । आधुनिक मेसिनको प्रयोगभन्दा पनि परम्परागत प्रविधि र सीपका आधारमा तयार हुने यी सामग्री कलात्मक र टिकाउ मानिन्छन् ।
बजारमा टक्सारमा बनेको सामग्रीको माग अझै पनि धेरै रहेको व्यवसायीहरू बताउँछन् । विशेष गरी धार्मिक कार्य, सांस्कृतिक परम्परा तथा उपहारका रूपमा धातुका सामग्रीको माग भइरहे पनि उत्पादन कम भएकाले मागअनुसार आपूर्ति गर्न नसकिएको व्यवसायीको भनाइ छ ।
उद्योग सञ्चालनमा अर्को ठूलो समस्या कच्चा पदार्थको अभाव रहेको छ । धातु उद्योगका लागि आवश्यक तामा, पित्तल, ढलोट, कोइलालगायतका सामग्री जिल्लामै उपलब्ध नहुने भएकाले संघीय राजधानी काठमाडौंबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।
ढुवानी खर्च बढ्नु, समयमै सामग्री उपलब्ध नहुनु र मूल्य महँगो हुनुले उत्पादन लागतसमेत बढ्दै गएको छ । दक्ष कालिगडको अभाव अहिले सबैभन्दा ठूलो चुनौती बनेको उद्यमी विमल शाक्यले बताए । ‘काम सिकेका पुराना कालिगडहरूको उमेर ढल्कँदै गएको छ,’ उनले भने, ‘नयाँ पुस्ताले सीप सिक्न नचाहँदा उद्योग चलाउनै समस्या भएको छ ।’

टक्सारका धातु उद्योग कुनै समय स्थानीय अर्थतन्त्रका प्रमुख आधार समेत बनेका थिए । टक्सारमा उत्पादन भएका हस्तकलाका सामग्री चीनको तिब्बत तथा भारतका दार्जिलिङ, आसाम, सिलिगुडी र कोलकातासम्म निर्यात हुने गरेको शाक्यले बताए । टक्सारका उत्पादनले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय बजारसमेत पाएको उनको भनाइ छ । तर, अहिले उत्पादन सीमित भएको छ भने निर्यात लगभग बन्द जस्तै भएको छ ।
टक्सार बजारको बसाइसराइको प्रभाव उद्योगमा मात्र सीमित छैन । टक्सारका परम्परागत कलात्मक घर, ऐतिहासिक बस्ती तथा मठ–मन्दिरसमेत संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । बजारको पुरानो रौनक हराउँदै जाँदा स्थानीय संस्कृति र सम्पदामाथि पनि संकट थपिएको छ ।
उद्योग संरक्षणका लागि सरकारले विशेष योजना ल्याउन आवश्यक रहेको व्यवसायीको माग छ । सीप पुस्तान्तरणका कार्यक्रम सञ्चालन गर्ने, युवालाई तालिमसँगै प्रोत्साहन उपलब्ध गराउने, कच्चा पदार्थ सहज रूपमा उपलब्ध गराउने तथा आधुनिक बजारसँग जोड्ने व्यवस्था गर्न सके ऐतिहासिक उद्योगलाई पुनर्जीवन दिन सकिने शाक्यले बताए ।
प्रतिक्रिया 4