२ साउन, विराटनगर । सहकारी संस्थाको अध्यक्ष नै व्यवस्थापक बनेर दुई करोड बढी अपचलन मुद्दामा जिल्ला अदालत झापाले एकै परिवारका ५ जनालाई कैद सजाय सुनाएको छ ।
झापाको विर्तामोडमा रहेको पातालगंगा बचत तथा ऋण सहकारी संस्थाको २ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको ठहर गर्दै पातालगंगा सहकारीका पूर्वअध्यक्ष तथा व्यवस्थापक रेवती खनालसहित ५ जनालाई कैद र जरिवानाको फैसला सुनाएको हो । सजाय पाउनेमा पूर्वअध्यक्ष खनालकी पत्नी, भाइ, बहिनी र मामाससुरासम्म छन् ।
यो फैसला गत वर्ष भएको थियो । तर, पूर्णपाठ भने भर्खरै सार्वजनिक भएको छ ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले सहकारीका तत्कालीन अध्यक्ष तथा व्यवस्थापक रेवती खनाललाई मुख्य दोषी ठहर गर्दै ६ वर्ष कैद सुनाएको हो । उनलाई १ करोड ३७ लाख ८२ हजार ३५२ रुपैयाँ ८४ पैसा जरिवाना र सोही अनुसारको बिगो भराउने फैसला गरेको छ । पीडित राहत कोषमा ५ लाख ५१ हजार २९५ रुपैयाँ थप क्षतिपूर्ति शुल्क बुझाउने सजाय पनि सुनाएको छ ।
खनालले सहकारीको रकम आफ्ना नजिकका आफन्तका नाममा बिना धितो लगानी गरेर रकम अपचलन गरेको पुष्टि भएपछि परिवारका सदस्यहरूलाई पनि सजाय सुनाएको हो ।
सजाय पाउनेमा खनालकी पत्नी कमलादेवी भट्टराई खनाललाई २ वर्ष कैद र १७ लाख ६ हजार ५०६ रुपैयाँ जरिवाना र भाइ सीताराम खनाललाई पनि २ वर्ष कैद र १७ लाख ६ हजार ५०६ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
यस्तै, अदालतले खनालकी बहिनी गोमा खनाल भण्डारीलाई २ वर्ष कैद र १७ लाख ६ हजार ५०६ रुपैयाँ जरिवाना र मामा ससुरा अनन्त जीवन लुइँटेललाई पनि २ वर्ष कैद र १७ लाख ६ हजार ५०६ रुपैयाँ जरिवाना सुनाएको छ ।
यस्तै खनालका पत्नी, भाइ, बहिनी र मामाससुराले जनही ६८ हजार २६० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने अदालतको थप फैसला छ ।
तत्कालीन अध्यक्ष खनालले पदीय हैसियतको दुरुपयोग गरी सञ्चालक समितिको अनुमतिबिना आफ्ना श्रीमती, भाइ, बहिनी र मामाससुराका नाममा बिना धितो ऋण प्रवाह गरेका थिए । सहकारीको हिसाब लुकाउन कम्प्युटर सफ्टवेयर परिवर्तन गरेको र माइन्युटमा किर्ते गरेको आरोपमा पनि उनी दोषी देखिएका छन् । उनले प्रमाण नष्ट गर्न महत्त्वपूर्ण कागजातहरू जलाएको पनि भेटिएको थियो ।
विस २०६५ मा अनारमनी– ३ झापामा दर्ता भएको पतालगंगा बचत तथा ऋण सहकारी संस्थामा खनाल २०६९ देखि लेखा संयोजकमा प्रवेश गरेका थिए । २०७१ साल असोज ५ गते अध्यक्षसँगै व्यवस्थापक प्रमुख आफैँ बनेका उनले नक्कली ऋणी खडा गर्दै ऋण लगानी गरेका थिए ।
२०७१ सालदेखि २०७८ सालसम्म खनालले एक करोड ५४ लाख ८२ हजार ०१८ रुपैयाँ हिनामिना गरेको देखिएको थियो । सञ्चालक समितिको मञ्जुरीबिना उनले २०७७ असार ३१ पत्नी कमलादेवी भट्टराईको नाममा १५ लाख, भाइ सिताराम खनालका नाममा १५ लाख, बहिनी गोमा खनाल भण्डारीको नाममा १५ लाख र नाताले मामाससुरा पर्ने अनन्तजीवन लुइँटेलको नाममा १५ लाख ऋण लगानी देखाएर अपचलन गरेको खुलेको थियो ।
खनालले ऋणीले बुझाएको रकमसमेत गरेर जम्मा २ करोड ०६ लाख ८ हजार ३८३ रुपैयाँ अपचलन भएको देखिएको थियो ।
यो मुद्दामा प्रतिवादी बनाइएका खनालका परिवारका सदस्यले अदालतमा इन्कारी बयान दिएका थिए । ऋण लिएको बारेमा आफूलाई जानकारी नभएको बताएका थिए ।
खनालले पनि आफू एक्लैले रकम हिनामिना गरेको बयान दिएका थिए । लामो समय फरार रहेका उनी २०८२ वैशाखमा पक्राउ परेका उनले परिवारका सदस्य र आफन्तलाई जानकारी नदिइ ऋण निकालेको उनले कबुल गरेका थिए ।
‘मैले बिना धितो बिना प्रमाण सञ्चालक समितिको सहमति नलिई, जमानत वा सुरक्षण समेत नराखी तोकिएको भन्दा बढी रकम ऋण लगानी गरेको हो,’ उनले बयानमा भनेका थिए, ‘मैले सहकारीबाट कर्जा लिएको कुरा अन्य प्रतिवादीहरूलाई थाहा जानकारी थिएन । मैले निजहरूको किर्ते सहिछाप गरी ऋण तमसुक तयार गरी ऋण लिएको हुँ ।’
यस्तै, उनले ९१ लाख जति मात्र हिनामिना गरेको स्वीकारेका थिए । ‘अन्य प्रतिवादीहरूलाई मैले उल्लिखित रकम लिएको थाहा जानकारी नै नभएको हुँदा निजहरूलाई सजाय हुनुपर्ने होइन’, बयानमा खनालले भनेका थिए ।
मुद्दाका प्रतिवादी बनाइएका लुइँटेलले सहकारीको कार्यालयसमेत नदेखेको बयान दिएका थिए । मेची क्याम्पस अध्यापन गराउने लुइँटेलले ऋणका लागि पेश भएको कागजात जाँच गर्न माग गरेका थिए । परीक्षण गर्दा उनको औठा छाप मिलेको थिएन् ।
जिल्ला अदालतले भने सहकारी ठगीमा दोषी देखाएपछि उनले उच्च अदालत विराटनगरको इलाम इजलासमा पुनरावेदन दायर गरेका छन् ।
प्रतिक्रिया 4