News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सभापति रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्ले शनिबार धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा पुगेका छन् ।
- अर्थमन्त्री वाग्लेको समेत लगानी रहेको उक्त रिसोर्टमा दुई नेताबीचको आकस्मिक भेटलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ ।
- प्रधानमन्त्री र अर्थमन्त्रीबीच पछिल्लो समय देखिएको खटपट र रास्वपाभित्रको आन्तरिक अवस्थाका कारण यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
२ साउन, काभ्रेपालाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा आएका छन् ।
स्रोतका अनुसार, शनिबार दिउँसो ३ बजे अर्थमन्त्री वाग्ले रिसार्टमा पुगेका थिए । सभापति लामिछाने भने पत्नी निकिता पौडेलसहितलाई लिएर दिउँसो ३ बजेर २० मिनेटमा उक्त रिसोर्टमा पुगेका हुन् । उक्त रिसोर्टमा अर्थमन्त्री वाग्लेको पनि लगानी छ । उनी आफ्नै लगानीसहितको भिल्लामा बसिरहेका छन् ।
उनीहरू के कारणले त्यहाँ पुगेका हुन् भन्ने खुलाइएको छैन ।
पछिल्ला केही दिनयता प्रधानमन्त्री बालेन शाहसँग अर्थमन्त्री डा. वाग्लेको सम्बन्धलाई लिएर विभिन्न समाचारहरू सार्वजनिक भइरहेका छन् । अघिल्लो हप्ता प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीचको भेटमा पनि यसबारे छलफल भएको थियो ।
लामिछानेले प्रधानमन्त्री बालेनलाई उक्त भेटमा अर्थमन्त्रीसँग के विषयमा कुरा नमिलेको हो ? भन्दै सरोकार राखेका थिए ।
वाग्लेले यसअघि पनि पार्टी नेतृत्वसँग सरकार सञ्चालनबारे आफ्नो असन्तुष्टि राखेका थिए ।
पछिल्लोपटक प्रधानमन्त्री बालेनले विभिन्न उद्योगी व्यवसायी तथा निर्माण व्यवसायीसँगका छलफलमा पनि अर्थमन्त्री वाग्लेलाई सहभागी गराएका थिएनन् ।
निजी क्षेत्रजस्तो महत्त्वपूर्ण पक्षसँग सरकारको सय दिन पुगेलगत्तै बैठक राखेका बालेनले स्वर्णिमलाई छुटाउनुले रास्वपाभित्रै अनेकन टिप्पणी हुन थालेको नेताहरू बताउँछन् ।
यसैबीच शनिबार साँझ एकाएक उनीहरू राजधानी नजिकैको रिसोर्टमा पुगेर सँगै बस्नुलाई सत्तारूढ दल रास्वपाभित्र महत्त्वपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया 4