News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८२/८३ मा २ लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका छन् ।
- अघिल्लो वर्षको तुलनामा पर्यटकको संख्या ४१ हजार ५९४ ले बढे पनि विदेशी पर्यटक घटेकाले राजस्वमा भने कमी आएको छ ।
- सूचना अधिकारी अविनाश थापामगरका अनुसार विदेशी पर्यटकको आगमन अपेक्षाअनुरूप नहुँदा निकुञ्जको राजस्व ३१ करोड १ लाखमा सीमित भएको हो ।
३ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या गत आर्थिक वर्षको तुलनामा ४१ हजार ५९४ ले बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा २ लाख ७२ हजार ९२३ पर्यटक पुगेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या २ लाख ३१ हजार ३२९ थियो ।
निकुञ्ज कार्यालयका अनुसार गत आर्थिक वर्ष निकुञ्ज घुम्नेमा १ लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क मुलुकका र ८८ हजार ६६५ तेस्रो मुलुकका पर्यटक रहेका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा १ लाख १७ हजार २०६ नेपाली पर्यटक निकुञ्ज पुगेका थिए । त्यस अवधिमा सार्क मुलुकबाट २४ हजार ८०० र तेस्रो मुलुकबाट ८९ हजार ३२३ पर्यटक आएका थिए ।
गत वर्ष नेपाली पर्यटकको संख्या ४४ हजार १६९ ले बढ्दा सार्क र तेस्रो मुलुकका पर्यटक भने केही घटेका छन् ।
निकुञ्जका अनुसार सबैभन्दा धेरै पर्यटक कार्तिक महिनामा ३२ हजार २५२ जना पुगेका थिए भने सबैभन्दा कम साउनमा ७ हजार ७३ जना पुगे । असोजदेखि जेठसम्म पर्यटकको चाप उच्च रहने गरेको छ । विगतमा चैतपछि पर्यटक संख्या घट्ने प्रवृत्ति रहे पनि गत वर्ष भने जेठसम्म वृद्धि कायम रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सबैभन्दा धेरै नेपाली पर्यटक कार्तिक (१९ हजार १०९) र वैशाख (१८ हजार ४६) मा पुगे । सार्क मुलुकका पर्यटक सबैभन्दा बढी जेठमा (५ हजार ८६३) आएका थिए भने तेस्रो मुलुकका पर्यटक कार्तिक (१० हजार ३२६) र फागुन (११ हजार ८०९) मा सबैभन्दा बढी निकुञ्ज पुगे ।
निकुञ्जको इतिहासमा सबैभन्दा धेरै पर्यटक आर्थिक वर्ष २०८०/८१ मा आएका थिए । त्यस वर्ष ३ लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । सोही वर्ष निकुञ्जले ३६ करोड ७२ लाख ९२ हजार ८०७ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा निकुञ्जमा २ लाख ९९ हजार ४१२ पर्यटक पुगेका थिए ।
पछिल्लो १० वर्षको तथ्यांकअनुसार सबैभन्दा कम पर्यटक आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३९१ जना आएका थिए । कोरोना महामारीको प्रभाव परेको आर्थिक वर्ष २०७७/७८ मा ९८ हजार २२८ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
पर्यटक बढ्दा पनि राजस्व घट्यो
पर्यटक संख्या बढे पनि निकुञ्जको राजस्व भने घटेको छ ।
सूचना अधिकारी थापामगरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जले ३१ करोड १ लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने निकुञ्जले ३३ करोड ८६ लाख रुपैयाँ राजस्व उठाएको थियो ।
उनका अनुसार विदेशी पर्यटकको संख्या घटेकाले राजस्वमा कमी आएको हो । जेन–जी आन्दोलन तथा इरान–अमेरिका द्वन्द्वका कारण अपेक्षाअनुसार विदेशी पर्यटक नेपाल आउन नसक्दा त्यसको प्रत्यक्ष असर चितवन राष्ट्रिय निकुञ्जमा पनि परेको उनले बताए ।
निकुञ्जमा प्रवेश शुल्क नेपालीका लागि प्रतिव्यक्ति १५० रुपैयाँ, सार्क मुलुकका नागरिकका लागि १ हजार रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि २ हजार रुपैयाँ तोकिएको छ । निकुञ्ज प्रवेश गर्ने जिपका लागि ५ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ ।
निकुञ्जमा पर्यटक प्रवेशका लागि ६ वटा प्रवेशद्वार सञ्चालनमा छन् । तीमध्ये सबैभन्दा धेरै पर्यटक सौराहा नाकाबाट प्रवेश गर्ने गरेका छन् । गत आर्थिक वर्ष मात्रै २ लाख ३७ हजार २५ पर्यटक सौराहाबाट निकुञ्ज प्रवेश गरेका थिए ।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चितल, घडियाल गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी, वनस्पति तथा सरिसृपका लागि परिचित छ । पर्यटकले यहाँ जिप सफारी र जंगल वाकमार्फत वन्यजन्तु अवलोकन गर्ने गर्छन् ।
हरेक वर्ष असारको तेस्रो सातादेखि असोजको पहिलो सातासम्म वर्षायामका कारण जिप सफारी बन्द गरिन्छ ।
चितवन जिल्लाका सौराहा, मेघौली, पटिहानी, माडी, देवघाट र सिराइचुलीलगायतका क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका प्रमुख आकर्षणका केन्द्र हुन् ।
प्रतिक्रिया 4