News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी उपनेता पद्मा अर्यालले संसदलाई जनआवाज उठाउने र सरकारलाई खबरदारी गर्ने सशक्त थलोका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइन् ।
- अर्यालले सांसदहरूको प्रस्तुति बौद्धिक, तार्किक र तथ्यमा आधारित हुनुपर्ने भन्दै पार्टी नेतृत्वले आवश्यक अध्ययन र परामर्शमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
- सरकारले गलत काम गरेको अवस्थामा संसदबाट प्रभावकारी खबरदारी गर्दै सही मार्गमा ल्याउने विषय अहिलेको प्रमुख प्राथमिकता भएको उनले बताइन् ।
३ साउन, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता तथा पार्टी सचिव पद्मा अर्यालले संसदलाई जनताका आवाज प्रभावकारी रूपमा उठाउने र सरकारलाई आवश्यक खबरदारी गर्ने सशक्त थलोका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन् ।
आइतबार काठमाडौंमा सांसदहरूसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्यालले अहिलेको संसद विशेष परिस्थितिमा रहेकाले यसलाई अझ विशेष र प्रभावकारी बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताइन् ।
‘हामीले अहिलेको विशेष अवस्थाको संसदलाई विशेष नै बनाउन चाहान्छौं । त्यसका लागि हाम्रा प्रयत्नमात्र पूर्ण हुँदैनन् । यसमा साथीहरुको साथको सहयोगको धेरै महत्वपूर्ण हुन्छ,’ पूर्वमन्त्रीसमेत रहेकी अर्यालले भनिन् ।
उनले संसदमार्फत जनताका समस्या र आवाज सरकारसम्म पुर्याउने, आफ्ना कुरा जनस्तरसम्म पुगेको अनुभूति दिलाउने तथा सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा पार्टीको दृष्टिकोण स्पष्ट रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइन् ।
‘सरकारले गलत काम गरेको अवस्थामा संसदबाट प्रभावकारी खबरदारी गर्दै सही र्ट्याकमा ल्याउने र हाम्रो आवाजलाई अझ वजनदार तथा प्रभावकारी बनाउने विषय अहिलेका प्रमुख प्राथमिकता हुन्,’ उनले भनिन् ।
अर्यालले संसद पार्टीको विचार, नीति र कार्यशैली जनतासम्म पुर्याउने महत्वपूर्ण मञ्च भएकाले सांसदहरूको प्रस्तुति बौद्धिक, तार्किक र तथ्यमा आधारित हुनुपर्ने बताइन् ।
उनले सांसदहरूलाई आवश्यक अध्ययन, तयारी र समन्वयमा पार्टी नेतृत्व तथा विषयगत विज्ञहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोगको अभाव नभई खोजी र परामर्शको कमी हुन सक्ने टिप्पणी गरिन् ।
‘साथीहरूले खोजेनन्, भेटेनन्, सल्लाह लिएनन् भन्ने गुनासो हुन सक्छ । तर सहयोग गर्ने कुरामा कुनै समस्या हुँदैन भन्नेमा हामी पूर्ण विश्वस्त छौं,’ अर्यालले भनिन् ।
प्रतिक्रिया 4