+
+
Shares

सांसद भूमिका श्रेष्ठ भन्छिन- बाल सुधार गृहहरूको अवस्था दयनीय छ

रास्वपाकी सांसद भूमिका श्रेष्ठले मुलुकका बाल सुधार गृहहरूको अवस्था दयनीय रहेको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले मुलुकका बाल सुधार गृहहरूको अवस्था दयनीय रहेको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।
  • श्रेष्ठले भक्तपुर, रूपन्देही र कास्कीका सुधार गृहको अनुगमनपछिको प्रतिवेदन प्रस्तुत गर्दै पूर्वाधार र व्यवस्थापनको अवस्था चिन्ताजनक रहेको बताइन् ।
  • उनले भनिन्, ‘कानुनी व्यवस्था भए पनि व्यवहारमा बाल सुधार गृहको अवस्था अझै अपेक्षाअनुसार छैन र अधिकांश स्थानमा पूर्वाधार र व्यवस्थापनको अवस्था चिन्ताजनक देखियो ।’

३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद भूमिका श्रेष्ठले मुलुकका बाल सुधार गृहहरूको अवस्था दयनीय रहेको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आइतबार सिंहदरबारमा आयोजित कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले बाल सुधार गृहका लागि कानुनी व्यवस्था भए पनि व्यवहारमा त्यसको कार्यान्वयन पक्ष फितलो रहेको बताइन् ।

बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिका तर्फबाट भक्तपुर, रूपन्देही र कास्कीका सुधार गृहहरूको अनुगमनपछि तयार पारिएको प्रतिवेदनमाथि छलफल गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

सांसद श्रेष्ठले रूपन्देहीको बाल सुधार गृहको अवस्था भयावह रहेको उल्लेख गरिन् । उनीहरूलाई तत्काल स्थानान्तरण गर्न गृह मन्त्रालय र भूमि सुधार मन्त्रालयसँग समन्वय गरी ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिइन् ।

भक्तपुरको बाल सुधार गृहमा बालक र बालिकाहरूलाई एउटै कम्पाउण्डभित्र राखिँदा सुरक्षा चुनौती थपिएको र बालिकाहरूले ठाउँको अभावका कारण एक दिन बिराएर मात्र अध्ययन गर्न पाएको प्रतिवेदनले देखाएको उनले बताइन् ।

सांसद श्रेष्ठले बालबालिका सम्बन्धी ऐन, २०७५ र संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धिले बालबालिकालाई ‘कैदी’ मान्न नहुने व्यवस्था गरे पनि व्यवहारमा भने अदालतको फैसलामा उनीहरूलाई कैदीकै रूपमा सम्बोधन गर्ने गरिएकोमा आपत्ति जनाइन् ।

सांसद श्रेष्ठले भनिन्, ‘हामी पाँच सदस्यीय टोलीले भक्तपुर, रुपन्देही र कास्कीका तीन वटा बाल सुधार गृहको अनुगमन गर्ने अवसर पायौँ। प्रस्तुतिकरणमा बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार भएका व्यवस्था र सुधारका प्रयासबारे जानकारी दिइयो । तर कानुनी व्यवस्था भएपनि व्यवहारमा बाल सुधार गृहको अवस्था अझै अपेक्षाअनुसार छैन । अधिकांश स्थानमा पूर्वाधार र व्यवस्थापनको अवस्था चिन्ताजनक देखियो ।’

सांसद श्रेष्ठले बाल सुधार गृहमा रहेका धेरै बालबालिका जबरजस्ती करणीको मुद्दामा रहेको र तीमध्ये कतिपय ‘अर्ली एज अफेयर’ तथा सामाजिक असमझदारीका कारण फसाइएका घटनाहरू समेत रहेको बताइन् ।

उमेर नपुगी हुने प्रेम सम्बन्धलाई कानूनी रूपमा कसरी व्यवस्थापन गर्ने भन्नेमा उचित संयन्त्र आवश्यक रहेको उनको तर्क छ । सानो कसुरमा पनि लामो समयको सजाय तोकिँदा बालबालिकाको भविष्य र सामाजिकीकरणमा गम्भीर असर पर्ने उनले बताइन् ।

सांसद श्रेष्ठले १८ वर्षभन्दा माथिका र मुनिका व्यक्तिहरूलाई राख्ने स्थान छुट्टै हुनुपर्ने र भौतिक संरचनाको अभावलाई तत्काल सम्बोधन गर्नुपर्ने माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?