१० माघ, काठमाडौं । बाल सुधार गृह सानोठिमी भक्तपुरमा बिहीबार राति करिब १० बजेतिर झडप भयो । झडपको सूचना पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरीको टोली खटियो ।
प्रहरीले मात्रै स्थिति नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी बलको टोली पनि खटियो । झडपका कारण केही व्यक्ति घाइते भएको सूचना पाएपछि प्रहरी भित्र प्रवेश गर्न खोज्यो ।
तर, सुधार गृहमा रहेका बालबन्दीहरूले उल्टै प्रहरीमाथि आक्रमण गरे । सो क्रममा २० जना प्रहरी सामान्य घाइते भए । आक्रमण भएपछि थप बल प्रयोग गरेरै प्रहरी भित्र प्रवेश गर्ने प्रयासमा थियो । बालबन्दीहरूले सुधार गृहमै आगो झोसे ।
प्रहरीले १३ जना घाइतेको उद्धार गर्यो । जसमध्ये ११ जना डिस्चार्ज भइसकेका छन् । दुई जना भने अहिले पनि अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी प्रकाश जगेबुले बताए ।
आगजनीबाट सुधार गृहमा ठूलो क्षति भएपछि त्यहाँ रहेका सबै १७० जनालाई स्थानान्तरण गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरको बाल सुधार निगरानी कक्षमा राखिएको छ ।
प्रहरीले झडपको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ । अहिलेसम्मको अनुसन्धानबाट झडपको मुख्य कारण उमेर पुगेका बन्दीहरू रहेको देखिएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘बाल सुधार गृह भने पनि त्यहाँ युवा बन्दीहरू पनि थिए । उनीहरूले बालबन्दीलाई हेप्ने, थर्काउने, पिट्नेसमेत गर्दा रहेछन् । भित्रभित्रै गुम्सिएको यो हेपाइ बिहीबार राति विस्फोट भयो ।’
ती अधिकृतले भने जस्तै यो सुधार गृहमा रहेका १७० जनामध्ये ८६ जना त १८ वर्षभन्दा माथिका युवा अवस्थाका बन्दीहरू रहेको पाइएको छ ।
****
३ भदौ २०८० मा पनि यही बाल सुधार गृहमा झडप भएको थियो । रामेछापको मन्थली नगरपालिका–३ कठजोरका २१ वर्षीय कमल बस्नेतको सुधार गृह भित्रै रहस्यमय मृत्यु भएको थियो ।
बस्नेतलाई २९ जेठ २०७७ मा जबरजस्ती करणीको कसुरमा रामेछापबाट भक्तपुरको सुधार गृह पठाइएको थियो । मृत्युपछि आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गर्दै प्रर्दशन गरे । यो विषयमा सुधार गृह भित्र तनाव भएपछि तोडफोड गर्दै ठूलो संख्यामा बालबन्दीहरू भागेका थिए ।
बस्नेतको मृत्युबारे छानबिन गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुधार गृह प्रशासनको लापरबाहीका कारण घटना भएको औंल्याएको थियो । छानबिन प्रतिवेदनमा भनिएको छ, ‘होस्टल वार्डेनसँग औषधि मागेको, वार्डेनले निको नामको औषधि दिएर पठाएको र ३ भदौमा बालक अचेत अवस्थामा फेला परेपछि तुरुन्तै गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा लगिएको बालबालिकाले बताए ।’
ज्वरो र पिलोका बिरामी बालकलाई समयमै उपचारका लागि अस्पताल नपुर्याउँदा मृत्यु भएको र त्यही विषयमा बालबन्दीहरूले सुधार गृह तोडफोड गरी बाहिर निस्केको निष्कर्ष थियो ।
भक्तपुरको बाल सुधार गृहमा दुई वर्षको बीचमा भएका दुई ठूला झडपका उदाहरण हुन् यी । यस बाहेक पनि सानातिना झडप र विवाद हरेक महिनाजसो भइरहने बाल सुधार गृहबारे जानकारहरू बताउँछन् । यी घटनामा सुधार गृह प्रशासनको कमजोरी र युवावस्थाका कैदीबन्दीहरू कारण देखिन्छ ।
****
भक्तपुरको बालसुधार गृहमा मात्रै होइन देशभरकै बालसुधार गृहहरूमा पटक–पटक झडप हुँदै आएको छ । गत १ चैतमा मात्रै बाँकेको जयन्दु बालसुधार गृहमा पनि ठूलो झडप भएको थियो । मध्यराति झडप हुँदा त्यतिबेला ४२ जना घाइते भएका थिए ।
सो क्रममा ३ प्रहरी पनि घाइते भएका थिए । झडप भएपछि सुधार गृहमा रहेका २५० बालबन्दीहरू त्यतिबेला बाहिर आएका थिए । मुलगेट तोडफोड गर्दै उनीहरूले दुई किलोमिटरसम्म प्रहरीलाई समेत लखेटेका थिए । सशस्त्र प्रहरीको समेतको सहयोगमा स्थिति नियन्त्रणमा लिएर बालबन्दीहरूलाई सम्झाइ बुझाइ भित्र राखिएको थियो ।
यही सुधार गृहमा ४ असोज २०८० मा झडप हुँदा रूपन्देहीको कञ्चन गाउँपालिका–४ का २१ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो । छानबिन गर्दा लागुऔषध प्रयोगकर्ता र अन्य बन्दीबीचको विवादले मुख्य जड रहेको खुलेको थियो ।
यस्तै शैलीमा २६ भदौ २०८० मा वीरगञ्जको बाल सुधार गृहमा पनि झडप भयो । भक्तपुर बाल सुधार गृहबाट स्थानान्तर गरिएका बालबन्दी र वीरगञ्जका बालबन्दीबीच विवाद भएपछि झडपको अवस्था आएको थियो ।
२०८० फागुनमा पनि पोखराको बाल सुधार गृहमा खानपानको विषयमा झडप भएको थियो । नाइकेले यातना दिने गरेको भन्दै त्यतिबेला चक्कुसमेत प्रहार भएको थियो ।
****
देशभर ९ वटा बाल सुधार गृह छन् । पछिल्लो समय यी सुधार गृहहरू भने अशान्त बन्दै गइरहेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बाल संरक्षण तथा बाल विकास शाखाका अनुसार बाल सुधार गृहमा १ हजार ४२३ बालबन्दीहरू थिए । जसमध्ये ९७४ आन्दोलनको समयमा कारागारबाट फरार भए । नियन्त्रणमा लिने क्रममा सुधार गृहमा रहेका ६ जनाको मृत्युसमेत भएको थियो । उनीहरूमध्ये ७४२ जना अहिलेसम्म फिर्ता आइसकेका छन् । अझै करिब २३२ बालबन्दीहरू फरार नै छन् ।
बाल सुधार गृहमा हुने यस्ता घटनाले सुरक्षामा गम्भीर प्रश्न उठाउँदै आएको छ । सुरक्षाकर्मीहरू भने आफूहरूको उपस्थिति नहुने भएकाले झडपका घटना दोहोरिइरहने बताउँछन् । प्रहरीका अनुसार बाल सुधार गृहमा बर्दी लगाएका हतियारसहितका प्रहरी बस्न मिल्दैन । प्रहरी बसे पनि अन्य कर्मचारी जस्तै सादा पोशाकमा बिना हातहतियार बस्नुपर्ने बाध्यता रहन्छ ।
‘एक त हातहतियार र बर्दी बिनाका प्रहरी मात्रै बस्न पाउने, अर्कोतर्फ बाल सुधार गृह भनिए पनि युवावस्थाका बन्दी हुँदा झडप हुने गरेको छ । प्रहरी राख्ने हो भने कम्तीमा पनि हाहतियार र बर्दीसहित हुनुपर्यो भन्ने हाम्रो माग भए पनि त्यो पूरा भएको छैन,’ एक प्रहरी अधिकारी भन्छन् ।
ती अधिकारीले भने जस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बाल संरक्षण तथा बाल विकास शाखाका उपसचिव दुर्गाप्रसाद चालिसे ती कुराहरू स्वीकार्छन् । ‘बालबालिका राख्ने भन्ने उद्देश्यले प्रहरी राख्दा बर्दी र हातहतियार बिनाका मात्रै बस्न मिल्ने भनिएको छ । तर बाल सुधार गृहमा अहिले बालबालिकाभन्दा बढी युवाहरू भएकाले समस्या हुँदै आएको छ,’ चालिसेले अनलाइनखबरसँग भने ।

उनका अनुसार अर्कोतर्फ क्षमताभन्दा बढी बालबन्दी हुँदा पनि बस्ने, शौचालय जाने, खेल्ने, खाने लगायतका विषयमा विवाद हुने र झडप हुने गरेको चालिसे बताउँछन् । उनले भने जस्तै देभरका ९ वटा बाल सुधार गृहको क्षमता ८३५ जना बस्न मिल्नेछ । तर अहिले ती सुधार गृहमा १ हजार १६७ बालबन्दी छन् ।
अहिले झडप भएको भक्तपुरकै कुरा गर्दा उक्त सुधार गृहमा जम्मा ११० जना बस्न मिल्छ । तर अहिले त्यहाँ १७० जना बस्दै आएका छन् । बाल सुधार गृह भनिए पनि २८ वर्षका व्यक्ति पनि त्यहाँ बसेका छन् । यही सुधार गृहका ९७ जना अझै फरार छन् । जेनजी आन्दोलनमा फरार भएका उनीहरू नियन्त्रणमा आएको अवस्थामा क्षमताभन्दा झण्डै तीन तिहाइ बढी बाल बन्दी हुने अवस्था आउँछ ।
झडपको सबैभन्दा मुख्य कारण नै उमेर रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको छ । बालबालिका ऐन, २०७५ ले अपराधमा संलग्न बालबालिकालाई बाल सुधार गृहमा राख्ने व्यवस्था गरको छ ।
बालबालिका ऐनको दफा २६ मा रहेको सजायसम्बन्धी व्यवस्थामा कसुरजन्य कार्य गर्दा उमेर १० वर्षभन्दा माथि र १८ वर्षभन्दा कम भए बढीमा एक वर्षसम्म बाल सुधार गृहमा राख्ने भनिएको छ ।
उपदफा (३) मा १४ वर्ष वा त्यसभन्दा माथि र १६ वर्षभन्दा कम भए उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधार सजाय हुने भनिएको छ । १६ भन्दामाथि १८ वर्षसम्मलाई उमेर पुगेका व्यक्तिलाई हुने सजायको दुई तिहाइ सजाय हुने भनिएको छ ।
ऐनको दफा ४६ मा भनिएको छ, ‘कानुनको विवादमा परेका बालबालिकाको सुधार र पुनर्स्थापना नभएसम्म बालबालिका राख्ने प्रयोजनका लागि आवश्यकताअनुसार बाल सुधार गृहको स्थापना गर्नेछ ।’
ऐनले बालबालिकाले गरेको कसुर अपराध नभई गल्ती हो भन्ने मनसायमा अपराध गरेका बालबालिकालाई सुधार र पुनर्स्थापनाका लागि बाल सुधार गृह स्थापना गरिने व्यवस्था गरेको र सोहीबमोजिम अदालतले १८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्नहरूलाई सुधार गृह पठाउने गर्दै आएको छ ।
अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि सुधार गृहमै बस्न पाउने सुविधा दिएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ४३ (४) मा ‘१८ वर्ष पुगेमा बानी बेहोरामा आएको सुधार, आर्जन गरेको सिप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने’ उल्लेख छ ।
जसअनुसार अहिले १८ वर्ष उमेरभन्दा कम उमेरमा कसुर गरेर सजायका पाएका बालबालिका युवावस्था भइसकेपछि पनि बाल सुधार गृहमै हुँदा समस्या भएको चालिसेको बुझाइ छ । बालबालिका ऐनअनुसार नै उनीहरूलाई त्यहाँबाट अन्यत्र सार्न नसकिएको उनी बताउँछन् ।
यही कानुनी प्राधवानलाई संशोधन गरेर उमेर पूरा भएका बालबिज्याइँकर्तालाई बाल सुधार गृहबाट अन्यत्र सार्ने प्रयोजनका लागि कानुन संशोधन गर्न लागिएको थियो । त्यसका लागि प्रक्रिया अघि बढे पनि जेनजी आन्दोलनपछि संसद् विघटन हुँदा कानुन संशोधन रोकिएको थियो ।
अहिले भने उमेर पूरा भएका र १८ वर्षभन्दा कम उमेरकालाई छुट्टै राख्ने गरी नुवाकोटमा सार्ने प्रयोजनका लागि प्रक्रिया अघि बढाइएको छ । ‘१८ वर्ष उमेर पूरा भएकाले बाल सुधार गृहकै रूपमा अन्य कैदीबन्दीसँग नमिसाई छुट्टै नुवाकोट बाल सुधार गृहमा राख्ने गरी प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि अर्थबाट बजेट स्वीकृत भएपछि यसले पूर्णता पाउँछ,’ चालिसेले अनलाइनखबरसँग भने ।
गत ३ पुसको मन्त्रिपरिषद् बैठकले नुवाकोट कारागारका चार ब्लकमध्ये खाली रहेको एउटा ब्लकलाई बाल सुधार गृहका रूपमा परिणत गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम देशका विभिन्न सुधार गृहमा रहेका १८ वर्ष माथिका बालबिज्याइँकर्ताको व्यवस्थापनमा समस्या देखिएपछि अहिले त्यहाँ सार्ने प्रक्रिया अघि बढाइएको हो ।
भक्तपुरको बाल सुधार गृहमा झडप भएपछि आज शुक्रबार मात्रै गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालयको नेतृत्वमा दीर्घकालीन समस्या समाधानका लागि भनेर छलफल भएको छ । मन्त्री अर्यालले यस्ता समस्या दोहोरिन नदिने गरी काम गर्ने निर्देशन दिएका छन् ।
प्रतिक्रिया 4