+
+
Shares
नेपाली फिल्मकर्मीको लोकार्नो अनुभव :

‘बलियो कथा बुन्ने, राम्रो फिल्म लिएर विश्वमञ्चको ढोका ढकढक्याउने’

प्रकाश तिवारी ‘पिके’ प्रकाश तिवारी ‘पिके’
२०८३ साउन २६ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक तथा अभिनेता लोकार्नो फिल्म फेस्टिभलमा सहभागी भई नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने थप हौसला र आत्मविश्वासका साथ स्वदेश फर्किएका छन् ।
  • फेस्टिभलले शहरको पर्यटन, अर्थतन्त्र र अन्तर्राष्ट्रिय पहिचानलाई कसरी चलायमान बनाउन सक्छ भन्ने उदाहरण लोकार्नोको व्यवस्थापनबाट स्पष्ट देखिएको छ ।
  • नेपालको पोखरामा पनि स्थानीय सरकार र चलचित्रकर्मीले योजना बनाएर अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल आयोजना गर्न सकिने सम्भावना लेखकले औंल्याएका छन् ।

यसअघि मैले केही टेलिफिल्म र कथानकमा अभिनय तथा सह-निर्देशनको काम गरिसकेको थिएँ । पछिल्लो समय कुनै ठूलो पूर्वतयारीबिनै एउटा छोटो फिल्म ‘जाली भान्जा’ बनाएँ । प्रिमियरमा दर्शक र मिडियाले सोचेभन्दा राम्रो प्रतिक्रिया दिए । त्यही एउटा सानो सफलताले मभित्र एउटा नयाँ ऊर्जा भरिदियो ।

मलाई लाग्यो ख्यालठट्टामै बनाउँदा त यत्तिको बन्यो भने, अझ राम्रो तयारीका साथ लाग्दा यसले कति ठूलो प्रभाव पार्ला ?

यसअघि मैले बनाएका केही चलचित्र बजार नपाएर हराए, केही त ठूला कलाकारको नाम नभएकै कारण वितरकले नपत्याएर प्रदर्शनमै आउन सकेनन् । त्यसैले व्यावसायिक झमेलामा अल्झिनुभन्दा आफूलाई आत्मसन्तुष्टि दिने कथामा फिल्म वा डकुमेन्ट्री बनाउने र फेस्टिभलमा लैजाने सोच पलायो ।

निर्देशक मित्र मीनबहादुर भामको यात्रा र पछिल्लो समय कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘द एलिफेन्ट्स इन द फग’ ले अवार्ड जितेपछि मलाई यो बाटोमा लाग्ने अझ ठूलो प्रेरणा मिल्यो ।

त्यसपछि मैले स्विट्जरल्यान्डको प्रतिष्ठित लोकार्नो फिल्म फेस्टिभल जाने निर्णय गरेँ । ‘इन्डस्ट्री एक्रेडिटेसन’का लागि आवेदन दिएँ र स्वीकृत पनि भयो । अठार वर्ष पहिला स्विटजरल्याण्ड बस्ने क्रममा पनि एकपटक लोकार्नो घुम्नका लागि पुगेको थिएँ । तर त्यतिबेला फेस्टिभलको महत्व खासै थाहा थिएन । यसपालि भने म केवल दर्शक बनेर होइन, केही सिक्ने र नयाँ सम्भावना खोज्ने चलचित्रकर्मीका रूपमा गएको थिएँ ।

फेस्टिभलभित्र बाँचेको एउटा शहर

यसपटक फेस्टिभलमा साना-ठूला गरी करिब २३३ वटा फिल्म समावेश थिए, जसलाई विभिन्न ११ विधामा विभाजन गरिएको थियो । मुख्य पुरस्कार ‘गोल्डेन लेपर्ड’ का लागि प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र नयाँ निर्देशक लक्षित ‘सिनेआस्ती देल प्रेजेन्ते’ देखि खुला आकाशमुनि देखाइने ‘पियाज्जा ग्रान्दे’ सम्मका विधाले महोत्सवलाई भव्य बनाएका थिए ।

नयाँ प्रतिभाका छोटा फिल्म ‘पार्दी दि दोमानी’, स्थापित निर्देशकका फुओरी कोन्कोर्सो, इतिहासका क्लासिक फिल्म देखाइने ‘हिस्टोरी डु सिनेमा’, विशेष रेट्रोस्पिटिभा र बालबालिकाका लागि लोकार्नो किड्स जस्ता विधा पनि आकर्षणको केन्द्र थिए । यसका साथै ओझेलमा परेका क्षेत्रलाई समेट्ने ‘ओपन डोर्स’, वृत्तचित्रका लागि सेमेन डे ला क्रिटिक र प्यानोरमा सुइसले गर्दा नै लोकार्नोमा हरेक स्वाद र उमेरका दर्शकका लागि सिनेमाको एउटा बेग्लै दुनियाँ उपलब्ध थियो ।

यसपटक ६९ भन्दा बढी देशका फिल्म सहभागी भएका थिए फ्रेन्च, अंग्रेजी, इटालियन, स्पेनिस, जर्मन, थाई, भियतनामी, कोरियन, नेपाली र पञ्जाबी लगायत दर्जÞनौँ भाषाका कथा प्रस्तुत गरिएको थियो । जुनसुकै भाषाको फिल्म भए पनि सबै दर्शकले सजिलै बुझून् भनेर स्क्रिनमा अंग्रेजी, इटालियन र फ्रेन्च भाषाका सबटाइटलको राम्रो व्यवस्था मिलाइएको थियो । फेस्टिभलमा यसपटक नेपाली निर्देशक दीपक रौनियारद्वारा निर्देशित छोटो फिल्म ‘प्राइभेट प्रपर्टी’ समेत प्रतिस्पर्धामा छ ।

लोकार्नो पुगेपछि मलाई सबैभन्दा अचम्म लागेको कुरा यहाँ फेस्टिभल कुनै एउटा हल वा घेराभित्र मात्र सीमित थिएन । शहरको पहिचान नै फेस्टिभल बनेको थियो । जताततै चितुवाको रङले सजाइएका बस, पोस्टर, र गलामा पास झुण्डाइएको फेस्टिभलको झोला बोकेका मानिस मात्र देखिन्थे । बस, रेल, क्याफे वा सडक जहाँ गए पनि कुराकानीको एउटै विषय हुन्थ्यो- सिनेमा ।

हाम्रोतिर दशैं आए जस्तो त्यहाँका स्थानीयले फेस्टिभललाई एउटा ठूलो उत्सवका रूपमा अपनाएका रहेछन् । सहभागीका लागि जुनसुकै बस वा रेलमा सित्तैमा यात्रा गर्न मिल्ने र राति ढिलोसम्म फिल्म सकिएपछि पनि सटल बसको व्यवस्था देख्दा म दङ्ग परेँ । फेस्टिभलले शहरको पर्यटन, अर्थतन्त्र र अन्तर्राष्ट्रिय पहिचानलाई कसरी चलायमान बनाउँछ भन्ने कुरा मैले त्यहाँ प्रत्यक्ष देखेँ ।

पर्दाको दुनियाँ र अनौठो अनुभव

८ हजार दर्शकले खुला आकाशमुनि विशाल पर्दामा फिल्म हेर्ने लोकार्नोको ‘पियाजा ग्रान्दे’ को रौनक साँच्चै अभूतपूर्व थियो ।

मैले पाँच दिनको बसाइमा छोटा-ठूला फिल्म र डकुमेन्ट्री गरि करिब दुई दर्जन फिल्म हेरेँ । फेस्टिभलका फिल्म व्यावसायिक सिनेमाभन्दा फरक हुने भएकाले हेर्न अलि धैर्यता चाहिन्छ । कुनै फिल्म हेर्दा ‘यस्तो पनि फिल्म हुन्छ र ?’ जस्तो लाग्थ्यो भने कुनै हेर्दा ‘यो भन्दा राम्रो त म आफैँ बनाउँछु’ भन्ने आत्मबल पनि जाग्थ्यो ।

पहिलो दिन रातिको उडानले थकित अवस्थामै पुरानो मौन चलचित्र ‘दि जनरल हेर्न पुगेँ । पर्दामा मौन फिल्म चलिरहेको थियो भने त्यसको पृष्ठभूमि सङ्गीत प्रत्यक्ष ‘लाइभ अर्केस्ट्रा’ले दिइरहेको थियो । त्यो दृश्य र अनुभव मेरो जीवनकै अविस्मरणीय बन्यो ।

त्यस्तै, उदघाटनमा देखाइएको फ्रेन्च फिल्म ‘लेस यूक्स भर्ट्स’ ले आप्रवासी परिवारको असुरक्षा र बालबालिकामा पर्ने मानसिक असरको कथा उठाएको थियो । परिवारलाई देशनिकाला गर्ने अवस्था आएपछि मूख्य पात्र ‘नूर’ गहिरो निद्राजस्तो अवस्थामा पुग्छ जसलाई ‘रेजिग्नेसन सिन्ड्रोम’ भनिँदो रहेछ । उसलाई ब्युँझाउन उसकी बहिनीले सपनाको संसारसम्म गरेको यात्रा निकै मार्मिक लाग्छ ।

यो फिल्मले मलाई व्यक्तिगत रूपमा पनि निकै गहिरो सँग छोयो । मेरा ससुरा बा विगत दुई महिनादेखि अस्पतालमा कोमामा हुनुहुन्छ । फिल्ममा देखाइएको रोग र उहाँको अवस्था फरक भए पनि, आफ्नो प्रिय मानिस ब्युँझिएला भनेर परिवारले गर्ने प्रतीक्षा, त्यो असहायता र आशासँग म तुरुन्तै जोडिन पुगेँ । त्यसैले पर्दामा देखिएको निद्राभन्दा पनि त्यो निद्राको वरिपरि उभिएर परिवारले भोगेको पीडा मैले आफ्नै मुटुमा महसुस गरेँ ।

‘नेसुनो भी फारा डेल मेल’ नामक निकै मार्मिक वृत्तचित्र पनि हेरेँ । बोस्निया युद्धका क्रममा भएको स्रेब्रेनित्सा नरसंहार भएको तीस वर्षपछि तयार गरिएको यस वृत्तचित्रमा बाल्यकालमै आफ्नो देश छोडेर स्विट्जरल्यान्ड पुगेका निर्देशक आफ्नो पहिचान र विगतको जरा खोज्दै फेरि त्यही ठाउँमा फर्किन्छन् ।

यो फिल्मले नरसंहारबाट मुस्किलले जीवित बचेका हसनको कथा प्रस्तुत गर्दै युद्धले मानिसको जीवन, परिवार र पहिचानमा छोडेको गहिरो घाउलाई निकै संवेदनशील ढङ्गले देखाएको छ । पीडादायी इतिहास र विस्थापनको कथा समेटिएको यो वृत्तचित्रले मलाई भावुक बनाउनुका साथै लामो समयसम्म सोच्न बाध्य बनायो ।

घरको ढोका थुनेर निस्कँदा ‘फेरि फर्कन पाइन्छ कि पाइँदैन’ भन्ने त्यो अन्योल पर्दामा देख्दा विस्थापन भनेको एउटा ठाऊँ छाडेर अर्को ठाऊँ जानु मात्र होइन रहेछ, मानिसको पहिचान, सम्झना र सिङ्गो जीवनको निरन्तरता नै चुँडिनु रहेछ भन्ने महसुस भयो । यो डकुमेन्ट्री सकिएपछि धेरै बेरसम्म मेरो मन भारी भइरह्यो ।

अर्कोतर्फ, थाई छोटो फिल्म ‘दी बोभिन कमेडी’ मन पर्‍यो । यसमा हाँस्यरसका साथै एकदमै बलियो सामाजिक कथा पनि थियो । छोटो समयमै समाजको वर्ग, शक्ति, श्रम र मानवीय चाहना जस्ता गम्भीर विषयलाई कति रमाइलो र मिहीन ढङ्गले प्रस्तुत गर्न सकिँदो रहेछ भन्ने कुरा यसले देखायो ।

त्यस्तै, दारियो अल्बर्टिनीको इटालियन फिल्म ‘आर्मोनी’ पनि आत्मीय लाग्यो । यो एउटा ५५ वर्षीय अवकाशप्राप्त ट्रक चालक ‘आर्मोनी’ को सामाजिक-पारिवारिक कथा हो । बहिनी बेपत्ता भएपछि ६ वर्षकी भान्जीको जिम्मेवारी उसको काँधमा आउँछ । एक्लो जीवन बिताइरहेको मानिसले परिवार, जिम्मेवारी र मायाको महत्व कसरी बुझ्छ भन्ने भावुक कथा यसमा देखाइएको छ ।

बाहिरबाट हेर्दा असामान्य देखिने एउटा परिवारभित्रको माया, जिम्मेवारी र आपसमा स्वीकार्ने भावनालाई फिल्मले निकै सुन्दर ढङ्गले प्रस्तुत गरेको थियो । फेस्टिभलको अन्तिम दिन मैले जेम्स ग्रे निर्देशित फिल्म ’पेपर टाइगर’ हेरेँ । त्यसअघि नै फेस्टिभलको एउटा कार्यक्रममा निर्माता मध्यका एक मार्को प्रेगोको अनुभव सुन्ने अवसर पाइसकेको थिएँ ।

त्यसैले उनले निर्माण गरेको फिल्मलाई ‘पियाजा ग्रान्दे’को विशाल पर्दामा हेर्न पाउनु मेरा लागि एउटा रोचक संयोग बन्यो । फिल्म ठीकै लाग्यो, तर मैले अपेक्षा गरेजस्तो धेरै उत्साहजनक वा गहिरो प्रभाव पार्ने खालको भने लागेन । कतिपय दृश्य हेर्दा यस्ता कथा पहिले नै कतै हेरिसकेजस्तो पनि महसुस भयो ।

फिल्म प्रदर्शनभन्दा बाहिरको वास्तविक पाठशाला

लोकार्नोमा आएपछि मैले बुझेँ फिल्म फेस्टिभल भनेको बनेका फिल्म देखाउने ठाऊँ मात्र होइन रहेछ । यहाँ त आधा बनेका वा स्क्रिप्टको चरणमा रहेका प्रोजेक्ट लिएर लगानीकर्ता, सह-निर्माता र वितरक खोज्न सकिने रहेछ ।

म विभिन्न ‘इण्डष्ट्रि सेसन’ र छलफलमा सहभागी भएँ । त्यहाँ एउटा के कुरा प्रष्ट भयो भने केवल राम्रो कथा भएर मात्र पुग्दैन, त्यसलाई अन्तर्राष्ट्रिय बजारसामु कसरी प्रस्तुत गर्ने र बजेट तथा बजारको रणनीति कसरी बनाउने भन्ने ज्ञान पनि उत्तिकै चाहिन्छ । ठूला निर्माता र निर्देशकसँगको संवादले मलाई स्वतन्त्र सिनेमा निर्माणमा अघिबढ्ने ठूलो हौसला दियो ।

लोकार्नो हेर्दा पोखरा सम्झिएँ

लोकार्नोको सुन्दरता र त्यहाँको फेस्टिभलको वातावरण देख्दा मलाई बारम्बार हाम्रो पोखराको सम्झना भइरह्यो । पोखरामा पनि प्राकृतिक सुन्दरता, होटल र पर्यटनको अद्भूत सम्भावना छ । यदि स्थानीय सरकार, पर्यटन व्यवसायी र चलचित्रकर्मी मिलेर योजना बनाउने हो भने पोखरामा पनि यस्तै अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिभल आयोजना गर्न सकिन्छ । एउटा राम्रो फेस्टिभलले सिङ्गो शहरको पहिचान बदल्न सक्छ भन्ने उदाहरण लोकार्नो नै हो ।

म लोकार्नोबाट फर्किँदा आफूसँग फिल्म हेर्ने धैर्यता, आफ्ना कमजोरी चिन्न सक्ने क्षमता र इमान्दारितासहित तयारी गरे अन्तर्राष्ट्रिय मञ्च टाढा छैन भन्ने आत्मविश्वास लिएर फर्केको छु । अबको मेरो लक्ष्य स्पष्ट छ- बलियो कथा बुन्ने, राम्रो पूर्वतयारी गर्ने र आफ्ना सिनेमा लिएर विश्वमञ्चका ढोकाहरू ढकढक्याइरहने ।

लेखक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका महासचिव, फिल्म निर्देशक तथा अभिनेता हुन् ।

लेखक
प्रकाश तिवारी ‘पिके’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?