News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सांगीतिक समूह १९७४ एडीले २३ सेप्टेम्बरदेखि अस्ट्रेलियाका ८ सहरमा ‘रक यात्रा’ कन्सर्ट सिरिज गर्ने घोषणा गरेको छ।
- आयोजक रोटेपिङ इन्टरटेनमेन्टका निर्देशक राजेश घिमिरेले टूरको तयारी पूरा भएको र ब्यान्डले पुरानो चर्चित सेट लिस्ट पनि समावेश गर्ने बताए।
- आयोजकले नेपालमा देखिएको दैवीप्रकोपलाई ध्यानमा राख्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ।
काठमाडौं । नेपाली सांगीतिक समूह ‘१९७४ एडी’ ले अस्ट्रेलियामा आफ्नो कन्सर्ट सिरिज ‘रक यात्रा’ आयोजनाको घोषणा गरेको छ । हालैको युरोप टूरपछि अस्ट्रेलियाका विभिन्न सहरमा ब्यान्डले प्रस्तुति दिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आयोजक रोटेपिङ इन्टरटेनमेन्टका अनुसार यो टूर २३ सेप्टेम्बरदेखि आयोजना हुनेछ । ८ अस्ट्रेलियाली सहरमा यो टूर सेप्टेम्बर र अक्टोबर महिनासम्म आयोजना हुनेछ ।
सिड्नी, मेलबर्न, ब्रिस्बेन, एडिलेड, पर्थ, न्यू क्यासल, अकल्यान्ड र क्यानबेरामा ब्याण्डले प्रस्तुति दिनेछ । आयोजकका निर्देशक राजेश घिमिरेका अनुसार टूरको तयारी पूरा भैसकेको छ । ब्यान्डले दुई दशकअघि काठमाडौंमा कन्सर्ट पहिलोपटक आयोजना गरेको थियो । उक्त कार्यक्रममा ५० हजार जना दर्शक सहभागी रहेको ब्यान्डको भनाइ छ ।
यसपटकको टूरमा ब्यान्डले दुई दशकअघिको चर्चित सेट लिस्टलाई समेत समावेश गर्ने तयारी छ । पुराना लोकप्रिय गीतसँगै ब्याण्डको सांगीतिक यात्रालाई नयाँ पुस्तामाझ समेत लैजाने उद्देश्यले टूर गरिने आयोजक बताउँछ ।
पत्रकार भेटघाटमा ब्याण्डका प्रमुख भोकलिस्टद्वय एड्रिन प्रधान र फिरोज स्याङदेन, बास गिटारिस्ट निराकर याक्थुम्बा तथा लिड गिटारिस्ट मनोजकुमार केसी उपस्थित थिए ।
प्रमुख भोकलिस्ट प्रधानले लामो समयपछि यो श्रृंखला आयोजना गर्न पाउँदा खुसी लागेको बताए । आफूहरूले समय-समयमा विभिन्न टुर गर्दै आए पनि १९७४ एडीको रक यात्रालाई पुनः अगाडि बढाउन पाउँदा विशेष उत्साह रहेको उनको भनाइ थियो । स्याङदेनले पनि अष्ट्रेलिया टुरका लागि आफूहरू निकै उत्साहित रहेको बताए ।
यसैबीच, नेपालमा पछिल्लो समय देखिएको दैवीप्रकोपलाई मध्यनजर गर्दै आयोजकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ ।
आयोजकका निर्देशक घिमिरेले पत्रकार भेटघाटकै क्रममा उक्त रकम अनलाइनमार्फत भुक्तानी गरेका थिए । टूर सम्पन्न भएपछि पनि कम्पनीको तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।
प्रतिक्रिया 4