News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि कोशी प्रदेशबाट १ सय ३८ जना सम्पर्कविहीन भएको आफन्तले प्रहरीलाई जानकारी गराएका छन्।
- प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सम्पर्कविहीनमध्ये १५ जना सम्पर्कमा आएका छन् भने अन्यको अवस्था अझै अज्ञात छ।
- सम्पर्कविहीनमध्ये सोलुखुम्बुका ३९, ओखलढुंगाका २०, मोरङका १६, सुनसरीका १५ र उदयपुरका १५ जना छन्।
१२ भदौ, विराटनगर । बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढी पछि कोशी प्रदेशबाट सम्पर्कविहीन हुनेको संख्या १ सय ३८ पुगेको छ । बाढीपछि स्थानीय प्रशासनले सम्पर्क बिहिनहरुको विवरण उपलब्ध गराउन अनुरोध गरेको थियो । प्रशासनको सूचनापछि १३८ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले जानकारी गराएका छन्।
प्रदेश प्रहरी कार्यालय विराटनगरले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन मध्ये १५ जना सम्पर्कमा आएका छन् । अन्यको अवस्था अझै अज्ञात छ ।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा सोलुखुम्बुका ३९ जना छन् । ओखलढुंगा घर भएका २० जना अझै सम्पर्कविहीन छन् । मोरङबाट १६ जना, सुनसरीबाट १५ जना, उदयपुरबाट १५ जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले जानकारी दिएका छन् ।
झापाका १० जना सम्पर्कविहीन छन् । इलामका ७ जना सम्पर्कविहीन छन् । खोटाङका ८ जना, संखुवासभाका ३ जना, धनकुटाका तथा ताप्लेजुङका २–२ जना र भोजपुरका १ जना अझै सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा पुगेकाहरु बाढीपछि सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4