News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीपीडितका लागि स्वदेश तथा विदेशका दाताबाट करिब ३२ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ।
- प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा ३६ घण्टामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको छ।
- बाढी र विपद्बाट प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि कोषबाट ६ करोड ७५ लाख रुपैयाँ खर्च भइसकेको छ।
१२ भदौ, काठमाडौं । भोटेकोशी बाढीपीडितको सहयोगका लागि स्वदेश तथा विदेशका विभिन्न दाताहरूबाट करिब ३२ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएको छ ।
त्यसमध्ये २ अर्ब रुपैयाँभन्दा बढी प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
विभिन्न बहुपक्षीय दाताहरू, मित्रराष्ट्रहरू, संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू, निजी क्षेत्रका संस्था कम्पनीहरू तथा सर्वसाधारणले सरकारलाई आर्थिक सहयोगको प्रतिबद्धताका गरेका छन् ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजा चार्ल्स तृतीय तथा प्रधानमन्त्री एन्डी बर्नहाम, चिनियाँ राष्ट्रप्रति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री सानाए तकाइची, पाकिस्तानी, पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोलगायतले नेपाललाई सन्देश पठाएर यो कठीन घडीमा आफूहरू साथमा रहेको सन्देश दिएका छन् ।
विश्व बैंकले नेपाललाई २५ अर्बसम्मको आपतकालीन सहयोग रकम दिने प्रतिबद्धता गरेको अर्थ मन्त्रालयले जनाएको छ । विश्वबैंकले ‘र्यापीड रेस्पोन्स अप्सन’ मार्फत यो सहयोग उपलब्ध गराउने जनाएको मन्त्रालयको भनाइ छ । तर, यो अनुदान वा ऋण के हुने भन्ने स्पष्ट छैन ।
त्यस्तै, संयुक्त अरब इमिरेट्सले नेपालाई १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ५३ करोड रुपैयाँ सहयोग दिने प्रद्धिबद्धता जनाएको छ ।
यूएईका राष्ट्रपति सेख मोहम्मद बिन जायद अल नाहयनको प्रत्यक्ष निर्देशनमा उसले सहयोग घोषणा गरेको जनाएको छ ।
त्यस्तै, बेलायतले ५० लाख पाउन्ड स्टर्लिङ अर्थात् १ अर्ब ४ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ ।

एसियाली विकास बैंक (एडीबी) ले करिब ७६ करोड रुपैयाँ (५० लाख अमेरिकी डलर) को आपत्कालीन सहायता अनुदान दिने भएको छ ।
यसका अतिरिक्त एडीबीले क्षति मूल्यांकन तथा पुनर्निर्माण योजना निर्माणका लागि थप १ लाख ५० हजार डलरसम्म दिने जनाएको छ । यो सबै रकम अनुदान हो ।
अष्ट्रेलियाले ५० लाख अस्ट्रेलियन डलर अर्थात् करिब ५५ करोड रुपैयाँ उपलब्ध गराउने बाचा गरेको छ ।
संयुक्त राष्ट्रसंघअन्तर्गतका निकायहरुले मानवीय सामग्रीका अतिरिक्त २५ लाख डलर अर्थात् करिब ३८ करोड रुपैयाँ उपलब्ध गराउने भएका छन् ।
युरोपियन युनियनले २० लाख युरो अर्थात् ३५ करोड ६० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
स्वीजरल्यान्डले कुल १७ करोड २१ लाख रुपैयाँको प्रतिबद्धता गरेको छ । त्यसमध्ये १० लाख डलर संयुक्त राष्ट्रसंघमार्फत खर्च गर्ने तथा १ लाख स्विस फ्र्यांक अर्थात् १ करोड ९० लाख सिधै सहयोग गर्ने जनाएको छ।
अमेरिकाले ५ लाख अमेरिकी डलर अर्थात् ७ करोड ६५ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ ।
त्यसबाहेक भारत तथा चीनलगायत मुलुकबाट समेत सहयोगको प्रतिबद्धता आएको तर रकम नखुलेको अर्थ मन्त्रालयले जनाएको छ ।
भारतले नेपालमा बाढीको विनासको समाचार आएलगत्तै राहत सामग्री लिएर प्लेन चार्टर्ड गरी पठाएको थियो । भारतले हालसम्म दुईवटा प्लेनमा सयौं टन सामाग्री पठाइसकेको छ । चीनबाट समेत आर्थिक सहयोगको प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
यसबाहेक अन्य मुलुक तथा संस्थाहरूबाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
कम छैनन् स्वदेशी सहयोगी हात
सहयोगीबाट रकम संकलन हुने क्रम जारी छ । दाताहरूले उदार दिलले सहयोगी हात अगाडि बढाएका छन् । अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्रीलाई भेटी प्रधानमन्त्री राहत कोषमा एकै दिन ३८ करोड ५५ लाख बराबर सहयोग प्रदान गरिएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था एवं व्यक्तिले उक्त रकम सहयोग हस्तान्तरण गरे ।
कोषमा सूर्य नेपाल प्रालिले १५ करोड, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ५१ लाख, हिमालयन बुलियन कम्पनी लिमिटेडले एक करोड एक लाख प्रदान गरे ।
एग्रो थाईफुड्स प्राइभेट लिमिटेडले एक करोड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड एक लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रतिनिधिले एक करोड रुपैयाँ कोषका लागि हस्तान्तरण गरे ।
उद्योगी विजयकुमार शाहले एक करोड, पद्मज्योति समूहको स्याकार ट्रेडिङले एक करोड, राजी राणाले व्यक्तिगत रूपमा एक करोड ९ लाख ८० हजार रुपैयाँ कोषमा योगदान गरे ।

डब्लूडब्लूएफ नेपालले एक करोड, मोरङ अटो वक्र्सले एक करोड ११ लाख र जावलाखेल डिस्टिलरीले एक करोड, हिमालयन डिस्टिलरीले एक करोड, अल्फा अटोमोटिभ प्रालिले एक करोड र सोलु हाइड्रोपावरका प्रतिनिधिले एक करोड रुपैयाँ राहत कोषका लागि अर्थमन्त्रीमार्फत हस्तान्तरण गरे ।
नेपाल सिमेन्ट उत्पादक संघ ५१ लाख, मुक्तिनाथ विकास बैंक ५० लाख, लुम्बिनी विकास बैंकको तर्फबाट प्रतिनिधिहरुले २५ लाख रुपैयाँ सहयोग गरे ।
सीएएस ट्रेडिङ हाउसले एक लाख ११ हजार, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख, सिल्भर लाइनिङ प्रालिका अधिकारीले एक लाख ११ हजार रुपैयाँ कोषका लागि योगदान गरे ।
एबाकस इन्साइट्स प्रालिले १५ लाख र अन्य तीन संस्थाले २६ लाख ६२ हजार रुपैयाँ कोषमा योगदान गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमार्फत कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ ।
२ अर्ब भन्दा बढी उठिसक्यो
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो ।
विभिन्न १० वाणिज्य बैंकहरूमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा भएको हो ।
बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो।

सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रुपमा तोकेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन् ।
यस्तै, व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नेछन् । यससँगै कोषमा बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार पुगेको छ ।
यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो । बिहीबार ६ घण्टा अवधिमा नेपालका निजी क्षेत्रका दाताहरुबाट मन्त्रालय मार्फत २७ करोड ३३ लाख सहयोग प्राप्त भएको थियो । यो सहायतामा रकममा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन् ।
६ करोड ७५ लाख खर्च
प्रधानमन्त्री बालेन शाहका अनुसार कोषबाट ६ करोड ७५ लाख रुपैयाँ खर्च भइसकेको छ । बाढी र विपद्बाट प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4