१३ भदौ, काठमाडौं । रसुवा बाढीबाट अतिप्रभावित जिल्लामा प्राथमिकताका साथ इन्धन आपूर्ति भइरहेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार खोज तथा उद्धार कार्यमा संलग्न हेलिकप्टरका लागि आवश्यक इन्धन नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्यूलिङ सेवाको प्रवन्ध मिलाइएको छ ।
बुधबार १२ हजार लिटर, बिहीबार ९ हजार लिटर ट्याङ्करमार्फत पुर्याइएको निगमले जनाएको छ ।
यस्तै, शुक्रबार हेलिकप्टरमार्फत ९ हजार लिटर र शनिबार १३ हजार लिटर इन्धन पुर्याइएको निगमले बतायो । अहिलेसम्म ४० हजार ८४० लिटर हवाई इन्धन सो ब्यारेकमा पुर्याइएको छ ।
उद्धार कार्यको सहजीकरणका लागि नियमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा हाल सञ्चालनमा रहेका पेट्रोल पम्पमा ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको छ ।
सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल र डिजेलको आपूर्ति नियमित गरिएको निगमले जनाएको छ ।
खोज तथा उद्धार कार्यबाट रेस्क्यू गरी प्रभावित क्षेत्रका विभिन्न स्थानमा सेल्टरमा रहेका बाढी प्रभावित व्यक्तिका लागि आवश्यक एलपी ग्यास निगमको समन्वयमा नेपाल ग्यास उद्योग प्रालिबाट १० भदौका दिन नुवाकोटमा मात्र २३२ थान लगिएको छ ।
त्यसयता नुवाकोट र रसुवामा थप १५० थान ग्यास सिलिण्डर पठाइएको निगमले जनाएको छ ।
प्रतिक्रिया 4