२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेपछि भारतले भने इरानसँग प्रत्यक्ष वार्तामा जोड दिएको छ ।
भारतका विदेशमन्त्री एस. जयशंकरले आइतबार प्रकाशित फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा समस्या समाधानको उत्तम उपाय कूटनीतिक छलफल नै भएकोमा जोड दिएका हुन् ।
स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)बाट पानीजहाज सुरक्षित तरिकाले आवागमन जारी राख्न भारतले इरानसँग प्रत्यक्ष वार्ता गरिरहेको र त्यसबाट सकारात्मक परिणाम पनि देखिएको उनले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट इन्धन बोकेका जहाज आउ–जाउ गर्ने वातावरण बनाउनका लागि चीन, फ्रान्स, बेलायत, जापान, दक्षिण कोरिया लगायतका देशहरुलाई पनि युद्धपोत पठाउन आग्रह गरेका थिए ।
तर जयशंकरले भनेका छन्, ‘भारतको दृष्टिकोणबाट हेर्दा हामीले तर्कसंगत रूपमा छलफल गर्ने, समन्वय गर्ने र समाधान खोज्ने बाटो नै उत्तम हो । यदि यसले अरूलाई पनि संवादमा संलग्न हुन प्रेरित गरेमा त्यसले विश्वलाई नै फाइदा पुर्याउँछ ।’
भारतका दुई भारतीय झण्डाबाहक एलपीजी बोक्ने जहाज ‘शिवालिक’ र ‘नन्दा देवी’ शनिबार करिब ९२ हजार ७१२ मेट्रिक टन तरल पेट्रोलियम ग्यास बोकेर हर्मुज जलडमरूमध्य पार गर्दै भारततर्फ प्रस्थान गरेका थिए ।
भारतीय विदेशमन्त्री जयशंकरका अनुसार यो इरानसँगको कूटनीतिक संवादबाट सम्भव भएको उदाहरण हो । ‘म अहिले उनीहरू (इरानी अधिकारीहरु)सँग संवादमा संलग्न छु र मेरो वार्ताबाट केही परिणाम आएको छ,’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘यो प्रक्रिया जारी छ । यसले परिणाम दिइरहेको छ भने, म यसलाई निरन्तर अघि बढाउन चाहन्छु ।’
भारतीय झण्डाबाहक जहाजका लागि कुनै विशेष वा स्थायी व्यवस्था भने नभएको उनले बताए ।
उनका अनुसार स्ट्रेट अफ होर्मुजबाट पानीजहाज आवागमनलाई सुरक्षित र नियमित बनाउन अझै पनि इरानसँग संवाद जारी छ ।
युरोपेली देशहरूले पनि भारतजस्तै व्यवस्था गर्न सक्छन् कि भन्ने प्रश्नमा जयशंकरले इरानसँग प्रत्येक देशको सम्बन्ध फरक हुने भएकाले सीधा तुलना गर्न कठिन हुने बताए ।
‘साँच्चै भन्नुपर्दा प्रत्येक सम्बन्ध आफ्नै आधारमा उभिएको हुन्छ, त्यसैले यसलाई अन्य देशको सम्बन्धसँग तुलना गर्न गाह्रो हुन्छ,’ जयशंकरले भनेका छन्, ‘तर म उनीहरूसँग हामीले के गरिरहेका छौं भन्ने कुरा साझा गर्दा खुसी हुनेछु । मलाई थाहा छ, उनीहरूले पनि तेहरानसँग कुराकानी गरिरहेका छन् ।’
सोमबार ब्रसेल्समा हुने युरोपेली संघका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुनुअघि जयशंकरले उक्त टिप्पणी गरेका हुन् । उक्त बैठकमा युरोपियन युनियनको रेड सागरमा रहेको ‘एसपाइड्स’ नौसैनिक अभियानको दायरा स्ट्रेट अफ होर्मुजसम्म विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।
स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो । यो इरान र ओमानको बीचमा पर्छ । यसको सबैभन्दा साँघुरो भाग करिब ३३ किलोमिटर चौडा छ । तर जहाज चल्न मिल्ने भाग ११ किलोमिटर मात्रै छ ।
विश्वमा दैनिक आपूर्ति हुने करिब २० प्रतिशत पेट्रोलियम पदार्थ (तेल ग्यास) यही मार्ग हुँदै ढुवानी हुने भएकाले यो मार्ग बन्द हुँदा विश्वभर तेल बजार र अर्थतन्त्रमा असर परेको छ ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यहाँ तनाव जारी छ । इरानले सो साँघुरो जलमार्ग आंशिक रुपमात्र खुला गरेको छ । अमेरिका र इजरायल बाहेक अन्य देशका लागि आवागमनमा अवरोध नगरेको इरानी विदेशमन्त्री अब्बास अरघचीले बताएका छन् ।
तर असुरक्षाका कारण अन्य देशका सयौं जहाज रोकिएका छन् । जसका कारण विश्वभर तेल र ग्यासको आपूर्ति प्रभावित भएको छ भने मूल्य पनि आकासिएको छ ।
प्रतिक्रिया 4