News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा बाढीपछि इन्फोसिस पब्लिक सर्भिसेसका सीईओ ल्याक्स गोपिसेट्टी रसुवामा व्यक्तिगत भ्रमणका क्रममा सम्पर्कविहीन भएका छन् ।
- इन्फोसिसले गोपिसेट्टीको खोजी र अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय गरिरहेको र परिवारसँग सम्पर्कमा रहेको जनाएको छ ।
- कम्पनीले नेपालमा आएको बाढी र त्यसबाट भएको धनजनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
१२ भदौ, काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि सूचना प्रविधि (आईटी) क्षेत्रको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी इन्फोसिसको सहायक कम्पनी ‘इन्फोसिस पब्लिक सर्भिसेस’ का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ल्याक्स गोपिसेट्टी सम्पर्कविहीन भएका छन् । इन्फोसिस पब्लिक सर्भिसेस मुख्यतया अमेरिका र क्यानडाको सार्वजनिक क्षेत्रमा केन्द्रित रहेर काम गर्ने प्रविधि कम्पनी हो ।
भारतको बेङ्गलुरुमा मुख्यालय रहेको इन्फोसिसले एक विज्ञप्ति जारी गर्दै गोपिसेट्टी नेपाल भ्रमणका क्रममा सम्पर्कविहीन भएको पुष्टि गरेको छ । कम्पनीका अनुसार उनी व्यक्तिगत भ्रमणका सिलसिलामा रसुवा क्षेत्रमा आएका थिए ।
इन्फोसिसले गोपिसेट्टीको सुरक्षा र अवस्थाबारे जानकारी लिन तथा उनीसँग सम्पर्क स्थापित गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ । कम्पनीले यो कठिन समयमा उनको परिवारसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराइरहेको बताएको छ ।
‘हाम्रो तत्कालको प्राथमिकता उनको सुरक्षा र कल्याण सुनिश्चित गर्नु हो,’ विज्ञप्तिमा भनिएको छ । कम्पनीले नेपालमा गएको विनाशकारी बाढी र यसबाट भएको धनजनको ठूलो क्षतिप्रति गहिरो दु:ख समेत व्यक्त गरेको छ ।
को हुन् ल्याक्स गोपिसेट्टी?
इन्फोसिसको वेबसाइटमा उपलब्ध विवरण अनुसार गोपिसेट्टी कम्पनीको रणनीति र व्यावसायिक लक्ष्यहरू सफलतापूर्वक कार्यान्वयन गराउने जिम्मेवारीमा छन् ।
यसअघि उनी इन्फोसिसको ग्लोबल भाइस प्रेसिडेन्ट तथा ’बिजनेस एप्लिकेसन्स एण्ड डिजिटल वर्कस्पेस सर्भिस’ का प्रमुख थिए ।
इन्फोसिसमा आबद्ध हुनुअघि उनी एक्सेन्चरमा प्रबन्ध निर्देशक थिए । यसबाहेक उनले बेरिङपोइन्ट, आईबीएम, पीडब्ल्यूसी र एचसीएलजस्ता ठूला कम्पनीहरूमा पनि उच्च पदमा रही काम गरिसकेका छन् ।
प्रतिक्रिया 4