१३ भदौ, काभ्रेपलाञ्चोक । रसुवा बाढीमा काठमाडौं विश्वविद्यालय(केयू)मा अध्ययनरत सिभिल इन्जिनियरिङका तीनजना विद्यार्थी सम्पर्कविहीन भएका छन् ।
केयूको स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत उनीहरू माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसीप गर्न गएका थिए । अहिले तीनै जना विद्यार्थी सम्पर्कविहीन रहेको केयूका असिस्टेन्ट प्रोफेसर मनिष प्रकाशले जानकारी दिए ।
उनका अनुसार सम्पर्कविहीन हुनेमा सृष्टि बास्तोला, समीर पौडेल र शिशिर गिरी छन् । उनीहरू केयूको सिभिल इन्जिनियरिङ विभागअन्तर्गतका सन् २०२२ को ब्याचका विद्यार्थी रहेको प्रकाशले जानकारी दिए ।
पौडेल र गिरी सोमबार मात्रै जलविद्युत् आयोजना पुगेका थिए भने, बास्तोला मंगलबार कार्यस्थल पुगेकी थिइन् ।
सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत विद्यार्थीले ६ हप्ता इन्टर्नसीप गर्नुपर्छ । त्यही सिलसिलामा उनीहरू त्रिशूली–३ बी जलविद्युत् आयोजनामा गएका थिए ।
अहिले उनीहरूको खोज तथा उद्धारका लागि नुवाकोट पुगेर नाम टिपाएर आएको असिस्टेन्ट प्रोफेसर प्रकाशले जानकारी दिए ।
‘तीनै जनाको टेलिफोन ट्रयाक गर्दापनि जलविद्युत् आयोजना वरपर नै तीनै जनाको लोकेसन देखाएको छ,’ उनी भन्छन्, ‘सडकमार्ग अवरुद्ध छ । हेलिकप्टरबाट नेपाली सेनाले रेस्क्यु गरिरहेको भनिएको छ । हामीले सम्बन्धित निकायहरूमा खबर गरेका छौं ।’
मंगलबार आयोजनास्थल पुगेपछि सृष्टिले राति ११ बजेसम्म परिवारसँग कुरा गरेकी थिइन् । बाढी आएको दिन बिहान ब्रिफिङ रहेको र बिहानैदेखि फिल्डमा जानुपर्ने कुरा बताएको उनका बुबा माधवप्रसाद बास्तोलाले बताए ।
बिहान बाढी आएको थाहा पाएपछि परिवारले १० बजे फोन गरेका थिए । ‘बाढीको सूचना पाएपछि छोरीसँग कुरा गर्न फोन गरिरह्यौं । तर, सम्पर्क हुनसकेन । त्यसयता सम्पर्कविहीन छ,’ बुबा माधवप्रसादले भने
आफ्नो छोरीको अवस्था पत्ता लगाइदिन परिवार सरकारसँग अनुनय गरिरहेको छ । ‘छोरीको अवस्था चाँडै थाहा होस्, सरकारले चाँडा भन्दा चाँडो रेस्क्यू गरोस्,’ बुबा माधवप्रसाद भन्छन्, ‘कामना गर्छु– मेरी छोरी जिउँदो रूपमा फर्केको हेर्न पाउँ ।’
केयूको प्रशासन र सम्बन्धित परिवारहरूले सरकार र स्थानीय निकायसँग समन्वय गरिरहेका छन् । तर, उक्त क्षेत्रमा पूर्वाधारमा भएको व्यापक क्षति र सडक अवरोधका कारण भौतिक रूपमा त्यहाँ पुग्न निकै कठिनाइ भइरहेको बताइन्छ ।
काभ्रेका ४१ जना सम्पर्कविहीन
रसुवा बाढीपछि बाढीमा काभ्रेपलाञ्चोकका ४१ जना सम्पर्कविहीन छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उक्त संख्या परिवार तथा आफन्तले नाम टिपाएअनुसार खुलेको हो ।
सम्पर्कविहीन रहेकाहरूमध्ये अधिकांश जलविद्युत् आयोजनामै काम गर्ने छन् । यस्तै, होटल व्यवसायी, भन्सारमा सामान छुटाउन गएका, भन्सारका गाडी लिन गएका, ट्रेकिङ गाइड, गाडी चालक, बैंकमा कार्यरत, कैलाश मानसरोवर जाने यात्रु र सवारी धनीहरू रहेको प्रजिअ अधिकारीले बताए ।
प्रतिक्रिया 4