+
+
Shares

के यसपटक फस्लान् विजय सल्गाउँकर ? दृश्यम ३ को ट्रेलरमा देखियो नयाँ ट्वीस्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दृश्यम: द कन्क्लुजनको ट्रेलर बुधबार गोवामा सार्वजनिक भएको छ।

बलिउडको बहुप्रतीक्षित थ्रिलर फ्रेन्चाइज दृश्यमको अन्तिम भाग दृश्यम: द कन्क्लुजनको ट्रेलर सार्वजनिक भएको छ । बुधबार गोवामा आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरसँगै फिल्मका मुख्य पात्र विजय सल्गाउँकर (अजय देवगन) को नयाँ संघर्ष र उनलाई टक्कर दिन आएका नयाँ खलपात्रको रहस्य खुलेको छ । यसपटक विजय सल्गाउँकरको मुख्य प्रतिस्पर्धीका रूपमा अभिनेता जयदीप अहलावत देखिएका छन् ।

उनी क्राइम ब्रान्चका एसपी राजवीर सिंह तोमरको सशक्त भूमिकामा प्रस्तुत भएका छन् । वर्षौंदेखि विजयले लुकाउँदै आएको हत्याको रहस्य पत्ता लगाउन तोमरले जुनसुकै हदसम्म जाने प्रण गरेका छन् भने विजय पनि जुनसुकै मूल्यमा आफ्नो परिवार बचाउन तल्लीन देखिन्छन् ।

दृश्यम २ जहाँ अन्त्य भएको थियो, यो फिल्मको कथा त्यहीँबाट अघि बढ्ने बताइएको छ । अभिषेक पाठकको निर्देशनमा बनेको फिल्मको पटकथा र कथावस्तु भने पूर्ण रूपमा नयाँ रहेको निर्माण पक्षको भनाइ छ ।

ट्रेलरमा विजय र एसपी तोमरबीचको ‘क्याट एण्ड माउस गेम’ देखाइएको छ, जहाँ दुवै एक-अर्काभन्दा दुई कदम अगाडि रहन आफ्नो पूर्ण शक्ति लगाउँछन् । अनुसन्धान अघि बढ्दै जाँदा पुराना रहस्यहरू फेरि बाहिर आउने र सल्गाउँकर परिवार नयाँ संकटमा फस्ने संकेत ट्रेलरले गरेको छ ।

फिल्ममा अजय देवगन र जयदीप अहलावतका बाहेक अघिल्ला भागमा देखिएका तबु (आईजी मीरा देशमुख), श्रिया सरन (नन्दिनी) र रजत कपुर फेरि फर्किएका छन् । साथै, प्रकाश राज, कमलेश सावन्त, इशिता दत्ता र मृणाल जाधवको पनि अभिनय रहेको छ ।

सन् २०१५ मा मोहनलाल अभिनित मलयालम फिल्मको रिमेकका रूपमा सुरु भएको दृश्यम बलिउडकै सफल थ्रिलर फ्रेन्चाइज मानिन्छ । यसको दोस्रो भाग २०२२ मा रिलिज भई हिट भएको थियो । फिल्म आउँदो २ अक्टोबरदेखि प्रदर्शनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?